काठमाडौं । छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै छ । तीन दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाउन लागिएको हो । छठ पर्वको मुख्य दिन भएकाले सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । मिथिला क्षेत्रमा विशेष हर्षोल्लासपूर्वक मनाइने यो पर्वको रौनक पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा पनि विशेष हुने गरेको छ । कुनै समय तराईमा मात्र मनाइने यो पर्व समयसँगै पहाडतिर उक्लिन थालेको हो । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
शुक्रबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट् राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गर्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ । छठ पर्वको अवधिमा कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एकछाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एकछाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिई रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा–आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुन्छ ।
यस वर्ष काठमाडौं महानगर क्षेत्रभित्र आठ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । जसमा गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिर रहेका छन् । काठमाडौं महानगरपालिकाका उल्लिखित स्थानमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम सकिएकोसमेत महानगरपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच