काठमाडौं । विश्वको महाशक्ति मध्येको एक अमेरिकाको राष्ट्रपतिमा पुनः रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । बुधबार अबेर सम्पन्न मतगणनामा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला हृयारिसलाई पछि पार्दै पूर्वराष्ट्रपतिसमेत रहनुभएका ट्रम्पले चार वर्षपछि पुनः विजय सुनिश्चित गर्नुभएको हो । अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोटहरू छन्, बहुमतका लागि २७० मतहरू आवश्यक पर्छ । उहाँले २७० भन्दा बढी इलेक्टोरल कलेज भोट प्राप्त गर्नुभएको हो । लोकप्रिय मतमा पनि ट्रम्प कमलाभन्दा अगाडि हुनुहुन्छ ।
ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गर्नुभयो । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन् । यी तीनबाहेक, अन्य स्विङ राज्यहरू नेभाडा, मिशिगन र एरिजोना हुन् ।
विजयसँगै हृवाइट हाउसमा उहाँको पुनरागमन सुनिश्चित भएको छ । ट्रम्प तेस्रोपटक चुनाव लडेर राष्ट्रपतिमा पुनरागमन गर्ने अमेरिकाको दोस्रो नेता बन्नुभएको छ । यसअघि अमेरिकाका २२औँ राष्ट्रपति ग्रोभर क्लेभेलाण्डले यो इतिहास रच्नुभएको थियो । उहाँ सन् १८८४ मा अमेरिकाको राष्ट्रपतिमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । तर, सन् १८८८ मा भएको निर्वाचनमा उहाँ पराजित हुनुभयो । सन् १८९२ मा भएको निर्वाचनमा भने उहाँ फेरि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । त्यसयता कुनै पनि अमेरिकी राष्ट्रपतिले यस्तो सफलता हात पार्न सकेका थिएनन् । १३२ वर्षपछि डोनाल्ड ट्रम्पले इतिहास दोहोर्याउनु भएको हो ।
ट्रम्प पहिलोपटक सन् २०१६ मा अमेरिकी राष्ट्रपति बन्नुभएको थियो । त्यतिबेला उहाँले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्नुभएको थियो । सन् २०२० मा भएको निर्वाचनमा ट्रम्प डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग पराजित हुनुभयो । सन् २०२४ मा भने ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला हृयारिसलाई पराजित गर्नुभयो । गत चुनावमा ट्रम्पको पराजयपछि उहाँका समर्थकहरूले क्यापिटल हिल क्षेत्रमा दंगा सुरु गरेका थिए । यसपालि अधिकांश सर्वेक्षणमा अमेरिकी जनताले आप्रवासन र अर्थतन्त्रका मुद्दामा डोनाल्ड ट्रम्पलाई भोट दिएको बताइएको छ ।
अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा पुग्न सकेका छैनन् । सन् २०१६ को निर्वाचनमा हिलारीका सामु इतिहास रच्ने अवसर थियो । तर, ट्रम्पले उहाँलाई पराजित गर्नुभयो । यसपालि पनि पहिलो राष्ट्रपति हुनबाट ट्रम्पले नै रोक्नुभयो । निर्वाचनमा विजयी भए पनि शपथग्रहण भने आगामी २० जनवरीमा मात्रै हुनेछ । २० जनवरीमा संयुक्त राज्य अमेरिकाको संसद् ‘युएस क्यापिटल’को परिसरमा आयोजना गरिने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण गर्नेछन् । यसपालि अमेरिकाको इतिहासमा ६०औँ पटक त्यस्तो समारोह हुनेछ ।
अमेरिकाको ४७औँ राष्ट्रपति बन्न लाग्नुभएका ट्रम्प देशको सबैभन्दा धनाढ्य नेतामा गनिनुहुन्छ । ट्रम्प अर्बौँ डलरका मालिक हुनुहुन्छ । विश्वभर उहाँको व्यवसाय फैलिएको छ । यसमा मिडिया टेक्नोलोजीदेखि रियल इस्टेटसम्मका व्यवसाय छन् । ट्रम्पसँग कुल ६ अर्ब ६० करोड डलरदेखि सात अर्ब ७० करोड डलरबीचको नेटवर्थ भएको बताइन्छ । अमेरिकी आर्थिक पत्रिका फोब्र्सको बिलेनियर्स इन्डेक्सका अनुसार ट्रम्पसँग ६ अर्ब ६० करोड डलरको सम्पत्ति छ । ब्लुमवर्ग बिलेनियर्स इण्डेकसका अनुसार उहाँसँग सात अर्ब ७० करोड डलरको सम्पत्ति छ । ट्रम्पले पहिलोपटक राष्ट्रपतिको पदका लागि उम्मेदवारी दिँदा सन् २०१६ मा उनको सम्पत्ति साढे चार अर्ब डलर थियो ।
सिनेटमा रिपब्लिकनको कब्जा, डेमोक्र्याटले बहुमत गुमायो
अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकनले सिनेटको नियन्त्रण आफ्नो हातमा लिन सफल भएको छ । रिपब्लिकनले कम्तीमा दुई डेमोक्र्याटिक सिट खोसेको छ भने आफ्ना कमजोर सांसदहरूको सिट सुरक्षित राख्न सफल भएको छ । यसले सिनेटमा चार वर्षदेखिको डेमोक्र्याटिक बहुमतको अन्त्य भएको छ । दुई महत्वपूर्ण सिट गुमाएपछि डेमोक्र्याटहरूको ५१-४९ को बहुमत उल्टिएको छ । यससँगै उनीहरूले आगामी वर्ष नीति निर्माणमा प्रमुख भूमिका खेल्ने अपेक्षा गरेका छन् । यसअघि सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत थियो । सो पार्टीले ५१ सिट जितेको थियो । कानुन बनाउन मात्र होइन, नयाँ राष्ट्रपतिको प्रशासनका महत्वपूर्ण पदमा नियुक्तिमा पनि सिनेटको भूमिका निर्णायक हुने गर्छ ।
अमेरिकालाई सुनौलो युगतर्फ लैजाने उद्घोष
डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले बुधबारको दिनलाई आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने प्रतिक्रिया दिनुभएको छ । विजयी सुनिश्चित भएसँगै फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै उहाँले अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको बताउनुभयो । सीमा व्यवस्थापन गर्ने र देशलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । उहाँले अमेरिकालाई ‘सुनौलो युग’तर्फ लैजाने वाचा गर्नुभयो । ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्धत गर्नेछौँ,’ उहाँले भन्नुभयो, ‘यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ । अमेरिकी जनताका लागि ठूलो विजय हो । जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ ।’
राष्ट्रपति पौडेलसहित विश्वभरबाट बधाईको ओइरो
डोनाल्ड ट्रम्प पुनः अमेरिकाको राष्ट्रपति हुने निश्चित भएसँगै विश्वका नेताहरूले बधाई दिएका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक घोषणा भइनसक्दै उहाँलाई बधाई दिने क्रम सुरु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई मेन्सन गर्दै राष्ट्रपति पौडेलले ऐतिहासिक जितका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको हो । ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि तपाईंलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।’ राष्ट्रपति पौडेलले लेख्नुभएको छ । उहाँले ट्रम्पको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । यस्तै, युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिंगटन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेण्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको छ । ‘म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु’, एक्समा उहाँले भन्नुभयो, ‘इयु र अमेरिका असल मित्रभन्दा माथि एक-अर्काका भरपर्दा सहयोगी पनि हुन् । हामी हाम्रा जनताबीचको साँचो साझेदारीमा बाँधिएका छौँ, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ ।’ त्यसैगरी, उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उहाँको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्धत पुग्ने बताउनुभएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । ‘हामी आगामी चार वर्षसम्म सम्मान र महŒवाकांक्षाका साथ उहाँसँग काम गर्न तयार छौँ । तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ,’ उहाँले भन्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ ।’
परिणाम ट्रम्पको पक्षमा देखिएसँगै चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ । ‘हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौँ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भन्नुभएको छ, ‘हामी अमेरिकी जनताको रोजाइको सम्मान गर्छौं ।’ त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’ का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । ‘म राष्ट्रपति ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिको माध्यमबाट शान्ति’ दृष्टिकोणको प्रतिबद्धताको सराहना गर्दछु । यही सिद्धान्तले युक्रेनमा न्यायोचित शान्ति ल्याउन सक्छ,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई पूर्व-अमेरिकी नेताका लागि ऐतिहासिक पुनरागमन र अमेरिका-इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताउनुभएको छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिनुभएको छ । इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनीले ट्रम्पलाई बधाई दिँदै इटाली र अमेरिकाबिच अटुट गठबन्धन, साझा मूल्य र ऐतिहासिक मित्रता रहेको उल्लेख गर्नुभएको छ । यस्तै, हंगेरीका प्रधानमन्त्री ओर्बान भिक्टरले पनि ट्रम्पलाई शानदार पुनरागमन गरेको भन्दै बधाई दिनुभएको छ ।
विश्व सेयर बजारमा उत्साह, चीन र मध्यपूर्वमा निराशा
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुँदा विश्वका विभिन्न देशका स्टक मार्केटहरूले फरक-फरक प्रतिक्रिया देखाएका छन् । विश्वमा सबैभन्दा चर्चित रहेका स्टक बजारदेखि रणनीतिक रूपमा महत्वपूर्ण रहेका बजारसम्मले फरक-फरक प्रतिक्रिया देखाएका हुन् । खासगरी अमेरिका, युरोपदेखि रसिया र भारतीय स्टक मार्केटमा यसको सकारात्मक प्रतिक्रिया देखिँदा चीन र मध्यपूर्वका देशहरूको बजार भने घटेका छन् । विश्वकै सबैभन्दा ठूलो स्टक एक्सचेन्ज मानिने अमेरिकी स्टक बजार न्युयोर्क स्टक एक्सचेन्ज बुधबार बढेको थियो । युरोपको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज एफटीएसई बजार खुल्नेबित्तिकै सकारात्मक बाटो लिएको छ ।
चीनको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज सांघाई स्टक एक्सचेन्जको एसएसई कम्पोजिट परिसूचक भने घटेको छ । त्यस्तै, हङकङ स्टक एक्सचेन्जको हाङसेन परिसूचक पनि प्रतिशतले घटेको छ । थाइल्याण्ड र दक्षिण कोरियाका परिसूचक पनि सामान्य घटेका छन् । रुसमा भने सबैजसो स्टक एक्सचेन्ज बजारहरू उच्च दरमा बढेका छन् । डलरको भाउ पनि बढेको छ भने बिटक्वाइनले उच्च रेकर्ड हासिल गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच