म्याग्दी । सोमबार र मंगलबार म्याग्दी जिल्लाका विभिन्न क्षेत्रमा परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ ।
वर्षाले खेतमा पाकेको तर काटेर सुकाउन बाँकी रहेको धान झारेको छभने काटेर सुकाएको निहिन र पराल डुबाएको किसानले बताएका छन् ।
जिल्लाको रघुगंगा,मालिका,मंगला गाउँपालिका र बेनी नगरपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए । यतिबेला गाउँघरमा धान थन्काउने र गहुँ छर्ने चटारो छ ।
तिहार अघिदेखि काटेर सुकाएको धानको निहिन पानीले भिजाएपछि धान खेतमा नै मक्किएको र दाना कालो देखिएको रघुगंगा ३ का किसान वेलबहादुर दर्जीले बताउनुभयो ।
आइतबार र सोमबार बिहान काटेर निहिन खेतमा सुकाएको धानलाई बढी क्षति पुर्याएको मंगला गाउँपालिका ५ का किसान शेरबहादुर सेनले बताउनुभयो ।
त्यसैगरी बेमौसमी वर्षाले परालको नोक्सानी गरेको छ । धान थन्क्याइसकेका तर दाइँ गर्न बाँकी रहेको र दाइँ गरेर पनि टौवा चुलाउन बाँकी रहेको पराल पानीले भिजाए पछि पराल कुहिने चिन्ता किसानलाई छ । कुहिएको पराल गाइँवस्तुले नखाने भएकोले किसान चिन्तित भएका किसान नारायण शर्माले बताउनुभयो ।
यसैगरी यही कार्तिक ६ गते आइतबार साँझ पनि म्याग्दीका विभिन्न क्षेत्रमा असिना पानीले धान बालीमा ठूलो क्षति पुर्याएको थियो । असिना पानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनी जग्गामा लगाएको धान र कोदोबाली नष्ट गरेको थियो ।
बेनी नगरपालिका वडा नं २ का वडासदस्य समेत रहनुभएका गौश्वारा निवासी चन्द्रकान्त रिजालले दिएको जानकारी अनुसार असिना पानीले खेतमा पाक्नै लागेको धान बालीमा २५ देखि ८० प्रतिशतसम्म क्षति पु¥याएको थियो । त्यसैगरी पाक्नै लागेको कोदोबालीमा पनि ५० प्रतिशत क्षति पुगेको अनुगमन टोलीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । असिना पानीले धान बालीमा क्षति पु¥याए पछि कृषि प्राविधिक सहित जनप्रतिनिधिको टोली किसानको खेतबारीमा नै पुगेर क्षतिको विवरण संकलन गरेका थिए ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिका विवरणहरू सङ्कलन गर्ने काम गरिरहेकोले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो । कृषकहरूले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकोले ज्ञान केन्द्रमा क्षतिका विवरण नआएको भन्दै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेका खबरहरू भने देखिरहेको जानकारी दिनुभयो ।
कतिपय जातका धानहरू अब भित्र्याउनको लागि पाकेर तयार हुनै लागेकोले असिना र वर्षाले धान बोटबाटै झरेर खेतभर हुँदा उत्पादनमा ह्रास आउन सक्ने प्रमुख वास्तोलाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच