नमागिएको सल्लाह :
जापानलाई आधुनिक जापान बनाउने श्रेय बोकेको लिवरल डेमोक्रेटिक पार्टीले जापानमा हालै भएको चुनावमा स्पष्ट बहुमत गुमाएकोमा छक्क परेको विश्वको उदारवादी बौद्धिक जमात हालै संयुक्त राज्य अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनको परिणामबाट विस्मित बनेको छ । अमेरिकामा हालै सम्पन्न निर्वाचनमा यो आलेखलाई अन्तिम रूप दिँदासम्म ५३८ मध्ये २९५ भन्दा बढी बहुमत इलेक्टोरल कलेज भोट र डेमोक्रेटिक पार्टीकी प्रतिस्पर्धी उम्मेदवार कमला हृयारिसको भन्दा पचास लाख भन्दा बढी कूल मतको करिब ५१ प्रतिशत, सवा सात करोडभन्दा बढी लोकप्रिय मत हासिल गरेर डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भएका छन् ।
अमेरिका जस्तो शक्तिशाली राष्ट्रको शक्तिशाली राष्ट्रपतिमा खासै गम्भीर स्वभावका नदेखिने अरबपति डोनाल्ड ट्रम्प विजयी भएपछि विश्वमा अर्को अनिष्ट निम्तिएला कि भनेर विश्वको बौद्धिक समुदाय चिन्तित बनेको छ । ट्रम्पले राष्ट्रपतिको चुनावमात्र होइन उनको पार्टीले सिनेटमा बहुमत हासिल गरिसकेको छ भने तल्लो सदनमा पनि बहुमत हासिल गर्नेतिर अग्रसर छ । ट्रम्पको अमेरिकामा दिग्विजय भएको छभन्दा हुन्छ । सबै किसिमका मत सर्वेक्षण, बौद्धिक विश्लेषणलाई पाखा लगाउँदै आएको यो नतिजाबाट विश्व बौद्धिक जनमत भने आशंकापूर्वक हेरिरहेको छ ।
‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने ट्रम्पको नाराले अमेरिकी मतदाताहरूको मन छोएको विश्लेषण भइरहेको छ । धेरै अमेरिकी आत्मपरक देखिएका छन् । आफ्नो जीवनयापनको सहजता र सुरक्षामा उनीहरू केन्द्रित भएको देखिएको छ । संसारका सबै ठाउँमा भएका घटनामा अमेरिकाले हात हालिरहनु पर्दैन ।
ट्रम्प ३४ वटा मुद्दामा अदालतबाट दोषी ठहरिएका, अनेक यौनकाण्डमा सामेल भएका व्यक्तिमात्र होइन, सन् २०२० को निर्वाचनमा राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि अमेरिकाको संसद भवन क्यापिटल हिलमा उनका हुल्याहा समर्थकलाई उक्साएर आक्रमण गराउँने व्यक्ति हुन् । तर, अमेरिकी जनताले यो निर्वाचनमार्फत उनका सबै अपराध र गलत कर्मलाई क्षमा गरिदिएका छन् । अमेरिकामा राष्ट्रपतिलाई भएको असाधारण अधिकार र अमेरिकी जनतामा यो चुनावमा देखिएको अपराधप्रतिको क्षमाशीलतालाई दृष्टिगत गर्दा ट्रम्पले आफ्नो जंगी स्वभावगत कारणले नै ती समस्याबाट उन्मुक्ति पाउनेछन् । यो अमेरिकी जनताको क्षमाशीलताले के परिणाम ल्याउला भन्ने निष्कर्ष त उनको चार वर्षे कार्यकालको उत्तरार्धमा मात्र निकाल्न सकिएला ।
ट्रम्पलाई यो अनपेक्षित नतिजा निकाल्न परम्परागत रेड स्टेटले आफ्नो पकड झन् बलियो बनाएर परम्परागत सहयोगीको विरासत धानेका छन् भने ‘ब्लु स्टेट’ मा मत बढाएका छन् । स्विंग स्टेट भनिएका पेन्सेलभेनिया, मिसिगन, जर्जिया, नर्थ क्यारोलिना, विस्कन्सिन, नेभाडा जस्ता नतिजा जता पनि जानसक्ने स्विंग स्टेटले पनि साथ दिएका छन् । स्विंग स्टेटहरूमा देखापरेको उनीप्रतिको आकर्षणलाई दृष्टिगत गर्दा चुनावको अन्तिमतिर आएर ट्रम्पको पक्षमा जनलहर नै आएको अनुमान गर्न सकिन्छ ।
ट्रम्पको पक्षमा देखिएको लहर विश्वमा देखिएको उदार लोकतन्त्रमाथि लागेको ग्रहणको प्रभावमात्र हो कि ? सन् २०२४ मा विश्वमा सत्तरीभन्दा बढी मुलुकमा चुनाव हुने भनिएकोमा चुनाव भएका धेरै देशमा देखिएजस्तै दक्षिणपन्थी वर्चस्व हो ? अथवा, अमेरिकी मतदाताको विश्वमामिलामा सबै ठाउँमा अमेरिकाको उपस्थिति भइरहनु पर्दैन भन्ने सोच हो ? के कारण अमेरिकी मतदाता ट्रम्पप्रति आकर्षित बने यस्तै विविध पक्षमा यो आलेखमा चर्चा गरिनेछ । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने ट्रम्पको नाराले अमेरिकी मतदाताहरूको मन छोएको विश्लेषण भइरहेको छ । धेरै अमेरिकीहरू आत्मपरक देखिएका छन् । आफ्नो जीवनयापनको सहजता र सुरक्षामा उनीहरू केन्द्रित भएको देखिएको छ । संसारका सबै ठाउँमा भएका घटनामा अमेरिकाले हात हालिरहनु पर्दैन । आफ्ना नागरिकको सुखसुविधा र देशको हित हेरे पुग्छ भन्ने ट्रम्पको सोच र मतदाताको सोचमा समानता रहेको पाइएको छ ।
ग्लोबलाइजेसनको कारण पुराना कलकारखाना बन्द भएर रोजगारीका अवसर संकुचित भएको र भन्सार वृद्धि गरेर चीन लगायतका देशका सामान आयातमा कमी ल्याई उत्पादन र रोजगारी वृद्धि गर्ने विषयले मतदातालाई प्रभावित गरेको छ । नारामा राम्रो देखिए तापनि श्रमिकको अधिकार नरहेको मुलुक चीन र श्रमिकको अधिकारको प्रवक्ता ठान्ने देश अमेरिकामा उत्पादन हुने सामानको मूल्यमा हुने अन्तरले उपभोक्तालाई दिने आहतलाई नजरअन्दाज गरिएको छ कि छैन भन्ने सवाल पनि उत्तिकै महत्वपूर्ण छ । कागजात नभएका आप्रवासीलाई देश निकाल्ने, तिनका छोराछोरीलाई नागरिकता नदिने, मेक्सिकोको सिमानामा पर्खाल लगाउनेलगायत कडा आप्रवासन नीति लागू गर्ने विषयलाई उपराष्ट्रपतिका उम्मेदवार जे.डी.भान्सले दश लाख आप्रवासीलाई डिपोर्ट गर्ने घोषणा गरेर पुष्टि गरिसकेका छन् ।
पुराना अमेरिकी नागरिकलाई आप्रवासीको अत्यधिक संख्याको कारण आफ्नो सुखसुविधामा असर परेको भन्ने लागेकै छ, केही वर्षदेखि बसोवास गर्दै आएका र अमेरिकाको नागरिकता प्राप्त गरिसकेका आप्रवासीमा पनि हामी छिरेपछि अरूको के मतलब आफ्नो सुखसुविधामा बढोत्तरी हुनुप¥यो भन्ने भावले काम गरेको र ट्रम्पप्रतिको समर्थन बढेको पाइएको छ । सन् २०१६ को निर्वाचनमा डेमोक्रेटिक पार्टीकी सशक्त महिला उम्मेदवार हिलारी क्लिन्टनलाई इलेक्टोरल मतमा पराजित गरेर राष्ट्रपति बनेका ट्रम्पले यस पटक प्रतिस्पर्धी महिला उम्मेदवार उपराष्ट्रपति कमला हृयारिसलाई इलेक्टोरल कलेज मतमा र लोकप्रिय मतमा पनि पराजित गरेका छन् ।
संयोग नै मान्नुपर्छ-अमेरिकाको राष्ट्रपति बन्ने नजिक आएको अवसर गुमाउने दुवै शक्तिशाली महिला ट्रम्पबाट नै पराजित भएका छन् । ट्रम्प उनै व्यक्ति हुन् जो महिला हिंसा र महिलामाथि दुराचारका अनेक समस्या झेलिरहेका छन् । अचम्म त के भएको छ भने कमला हृसारिसलाई वाइडेनभन्दा कम संख्याका अमेरिकी महिलाले मतदान गरेको चुनावी रुझान् देखिएको छ । प्रश्न उठेको छ-अमेरिकी समाज महिला हिंसा र महिला दुराचारप्रति सहनशील बन्दै गएको हो ? महिलामाथि अमेरिकी समाजमा विभेदकारी भावना छ भन्ने विषय त ट्रम्पले पराजित गरेका दुई सशक्त महिलाको अप्रत्याशित पराजयबाट पनि पुष्टि भएको छ ।
सन् २०१६को चुनावमा हिलारी क्लिन्टनले ट्रम्पको भन्दा बढी लोकप्रिय मत हासिल गरे तापनि इलेक्टोरल मतको आधारमा राष्ट्रपति बन्न सकेकी थिइनन् । अमेरिकी मतदाताले ध्यान दिएर नियालेको अर्को विषय हो-रुस-युक्रेन युद्ध र मध्यपूर्वको इजरायल-प्यालेष्टाइन युद्ध । ट्रम्पले राष्ट्रपति भएको चौबीस घण्टामा रुस-युक्रेन युद्ध रोक्ने बताएका थिए । अब त्यो चौबीस घण्टा आउन धेरै समय बाँकी छैन । २४ घण्टाको साटो चौबीस दिन लगाएर रोक्न सके भने पनि ट्रम्पले स्याबासी नै पाउन सक्नेछन् । अमेरिका लगायतका देशको सामरिक संगठन नेटोलाई सहमत गराएर उनीहरूको सहकार्य जारी राख्ने अथवा नेटोमा आफू निष्क्रिय बस्ने रोजाइ त ट्रम्पको नै हुनेछ । तर, नेटोबाट अमेरिका अलग हुनु सहज मामिला भने हुनेछैन । यसले बहुध्रुवीय विश्वको बाटो नसमाउला भन्न सकिँदैन ।
इजरायल-प्यालेष्टाइन युद्ध अरब-इजरायल युद्धतर्फ अग्रसर बनिरहेको छ । यसलाई बुद्धिमानीपूर्वक चाल चालिएन भने यसले विश्वयुद्धको रूप पनि लिन सक्दछ । इजरायलले प्यालेष्टिनी नागरिक खास गरी प्यालेष्टिनी बालबालिकाप्रति मच्चाएको हिंसा सर्वसाधारण अमेरिकी नागरिकलाई मन परिरहेको थिएन । यस युद्धमा इजरायललाई वाइडेन प्रशासनले गरेको सहयोगको फाइदा पनि ट्रम्पलाई भएको हुनसक्छ । यो युद्धबाट अलग बस्न ट्रम्प प्रशासनलाई पनि सजिलो छैन । अपारदर्शी र धर्मका आधारमा चलेका इरान जस्ता मुस्लिम देशहरूलाई सीमामा राख्न पनि इजरायलबाट अमेरिकी समर्थन न्यून गर्न कठिन छ ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको चुनाव अमेरिकाको मात्र चुनाव होइन यो एक किसिमको विश्वव्यापी चुनाव हो । अमेरिकाका राष्ट्रपतिले गर्ने निर्णयले विश्व यसभन्दा राम्रो बन्न समय लाग्न सक्दछ, यसभन्दा खराब बन्न समय लाग्दैन ।
गर्भपतन अधिकारको विपक्षमा रहेका ट्रम्पको नारालाई अनुमोदन गरेर अमेरिकी नागरिकले सादगीको प्रदर्शन गरेका हुन् कि विश्वमा चलेका अनुदारवादी ट्रम्प लहरको प्रभाव हो, त्यो त समयले बताउला तर महिला अधिकारसँग सम्बन्धित यस्तो महत्वपूर्ण विषयमा प्रतिस्पर्धी उम्मेदवार हृयारिसले समर्थन जुटाउन नसक्नु उनको कमजोर पक्षको रूपमा रहेको छ । पहिलो राष्ट्रपति कार्यकालमा पूर्वराष्ट्रपति बाराक ओबामाले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन नचाहेका ट्रम्पले यसलाई निरन्तरता दिने बाचा गर्नु, वातावरण संरक्षणका लागि संयुक्त राज्य अमेरिकाले बहन गर्नुपर्ने दायित्वबाट पछि नहट्ने जस्ता विषयमा उनका नीतिहरू परिवर्तन भएका छन् । यसमा भएको परिवर्तनको कारण ट्रम्प आफ्ना पूर्ववर्ती गलत अडानबाट पछि हट्न सक्छन् भन्ने पनि देखिएको छ ।
परम्परागत रूपमा डेमोक्रेटिक पार्टीको समर्थनमा देखिने युवा जमात र अश्वेत नागरिकलाई आफूसँग आकर्षित गर्नुलाई ट्रम्पको व्यक्तित्वमा आएको परिवर्तनको रूपमा पनि लिन सकिन्छ । चुनावमा गरिएका बाचा सबै पूरा गर्न सकिँदैन । ट्रम्पले पनि चुनावमा गरेका सबै बाचाबन्धन पूरा गर्न सक्नेछैनन् । रोजगारी, खाद्यान्न र आवासजस्ता दैनिकजीविकासँग जोडिएका विषयमा मतदाताले ट्रम्पको कार्यकालमा राहत महसूस गर्न सके र विश्वमा देखिएका युद्ध र तनावहरूलाई न्यूनीकरण गर्न सके भने उनीबाट आशा गरेका निराश बन्ने छैनन् ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको चुनाव अमेरिकाको मात्र चुनाव होइन यो एक किसिमको विश्वव्यापी चुनाव हो । अमेरिकाका राष्ट्रपतिले गर्ने निर्णयले विश्व यसभन्दा राम्रो बन्न समय लाग्न सक्दछ, यसभन्दा खराब बन्न समय लाग्दैन । निर्माणका लागि समय लाग्दछ खण्डहर बन्न समय लाग्दैन भन्ने उदाहरण त प्यालेष्टाइन अधीनस्थ भूमिको अहिलेको अवस्थाबाट देख्न सकिन्छ । अमेरिकी राष्ट्रपतिको भूमिकाले रुसी राष्ट्रपति पुटिन जस्ता सनकी र महत्वाकांक्षी व्यक्तिलाई पनि सीमामा राख्न सक्नुपर्दछ । उत्तर कोरियाका खान नपाउने नागरिकका शक्तिशाली राष्ट्रपति किम जस्तालाई पनि आफ्नो आकारमा राख्ने दायित्वबाट पछि हट्न मिल्दैन । यसो भनेर हरेक विश्व मामिलामा अमेरिकाले अगुवाइ लिनुपर्छ भनिएको होइन ।
तर, कुनै विस्फोटक पदार्थ बोकेको सनकीबाट संसार जोगाउनका लागि सामथ्र्य बोकेकाहरू अलग बस्न भने मिल्दैन । चुनावको पराजय सहन नसकेर अमेरिकी संसद् क्यापिटल हिलमा हिंसा मच्चाउने हुल्याहा ट्रम्पमा सुधार देखेर नै अमेरिकी नागरिकले मन खुलाएर मतदान गरेको बुझ्न विश्व जनमत बाध्य भएको छ । यो बुझाइ सही बनोस् । विकास र शक्तिमा विशाल संयुक्त राज्य अमेरिकाको विशाल हृदय भएको राष्ट्रपतिको रूपमा आगामी जनवरी २० बाट सुरु हुने ट्रम्पको ओभल अफिसको यात्रा सफल रहोस् । यसो भएमात्र ट्रम्पको सानदार पुनरागमन अमेरिकी लोकतन्त्र र विश्वव्यापी मानवाधिकारको प्रवद्र्धनका लागि सुखद् छैन भन्नेहरूका लागि सही जवाफ हुनसक्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच