सिर्जनाको धुन आफैँमा बिन्दुबाट शिखर उचाल्ने सशक्त हतियार हो, अन्तर ऊर्जाको अनुपम उदाहरण हो, अन्धकार सकेर आलोकित पार्ने एक सबल शक्ति हो । चाहे गाउँको छेउमा जन्म होस्, चाहे पहाडी कन्दराकाखमा । चाहे झिलिमिली अलकाको सिसमहलमा होस्, चाहे शहरकै सडकको झुप्रोमा । कतै कुनै कुनै अवस्थाका चाक्षुस बिम्बमा देखिए पनि उसको स्रष्टत्वमा कुनै अन्तर रहँदैन । यस्तै धादिङको सुनौलो बजारमा एघार सालतिर धरा ओर्लिएका सिर्जना साधक हुन् बद्रीप्रसाद दाहाल ।
सातौं कृति प्रकाशनमा देखिएका बद्रीप्रसाद दाहाल सिर्जनाफाँटमा निकैतिर देखिए पनि टड्कारो रूपमा व्यङ्ग्य अनुहार मुखरित गराउँदै भावक सामु परिचित छन् बढी । हास्यका पेटारा बिर्सिने हो भने अहिले नेपाली साहित्यका क्षेत्रमा व्यङ्ग्यसामग्री आँखाका सामु प्रशस्त मात्रामा छन् । राजनीतिक व्यङ्ग्य, शैक्षिक व्यङ्ग्य, बेरोजगारीप्रतिका व्यङ्ग्य, युवाजनशक्ति पलायनप्रतिका व्यङ्ग्य । मनमस्तिष्कलाई नै व्यङ्ग्यविश्वासको कसौटीमा सन्तुष्ट राख्ने हो भने यत्रतत्र सर्वत्र व्यङग्यका बिस्कुन सुकेका छन् । यिनै व्यङ्ग्यले भरिएका निबन्धात्मक चिन्तनात्मक चिन्तनको माला हो उनको–‘मालाचिन्तन’ शीर्षकको व्यङ्ग्य सङग्रह । गाउँले बलदेव र लक्ष्मण गाम्नागे शरीर र ओठले नै हँसाउने र सिस्नोपानीका झाम्टाले अस्मिताका तकिया उठाउने व्यक्तिद्वयका भूमिका लेखन वा पाश्र्वलेखनले नै विषयबोध गराएको यस कृतिभित्र उनान्चालीस वटा हास्यओखतीहरू समाविष्ट छन् ।
बद्रीसँग दुईचार वाक्य बोल्न पाएको भए म यसै लेखमा उनको आन्द्राभुँडी छताछुल्ल पारिदिन्थेँ भेलको टुकुचा छरिए जस्तै । बोल्ने त्यो अवसर नमिले पनि अक्षरमा उनी व्यक्तिदेखि लिएर अलिकति विश्वको छेउसम्मलाई छोएर पिट्न सफल भएका छन् निबन्धका बारीमा ।
पढ्दा आनन्द लाग्छ । विषय झुप्रोझोपडीदेखि सिंहदरबारका चुलीसम्म, घाँसेदाउरेका गीतदेखि तबेलाका सुसेधन्दा हुँदै हवेली छतका हार्मोनियमसम्मलाई हुँडलिएको छ । नेता रमाउने भट्टीदेखि हास्यव्यङ्ग्यका पुख्र्याैली हल्लुडहरूलाई अक्षरका जुवामा झुण्ड्याएर डिग्री नगर्नुको मिठो सन्तुष्टिसम्मको लप्लपाउँदो खिचडी पकाउन भ्याएका छन् लेखकले यसमा । विषय पुरानै छन्, नयाँ केही र कुनै हुँदैनन् पनि । भिखारीका भोक बुद्धकै पालादेखि देख्ने देवकोटाले लेख्न छाडेनन् बरु स्वरूपमा आँत चाहिँ नयाँ दिए, पर्ने पनि यही हो हरेक क्षेत्रका लेखकले ।
शैलीमा स्वर भिन्न सजाए । गरिबको अन्तरहृदयभित्र बजेको भोकको बाँसुरीलाई आदर्शको अलकापुरमा उठाए । बद्री के छन् ? अन्तर स्वभावमा म परिचित छैन । देवकोटा सिर्जनाक्षेत्रमा बहुरूप रहे, बहुरङ्गी रहे र नै अहिले पनि अन्तर दर्शनको ज्ञानाभावका प्राध्यापकीय विद्वान्हरू कतै उनलाई नास्तिक देख्छन्, कतै ईश्वरका भक्त । यो लेखकीय विराट व्यक्तित्वको एउटा परिचय पनि हो ।
मैले पाएका बद्रीलाई झट्ट आँखाले हेर्दा लवेदा सुरुवालको राष्ट्रिय पोशाकमा देशभक्त, निधारको टीका जडानमा मेरा शब्दमा चाहिँ अन्धभक्त, पाठपूजाको स्वरूपमा निरन्तर ईश्वरभक्त । दुईचार वाक्य बोल्न पाएको भए म यसै लेखमा उनको आन्द्राभुँडी छताछुल्ल पारिदिन्थेँ भेलको टुकुचा छरिएजस्तै । बोल्ने त्यो अवसर नमिले पनि अक्षरमा उनी व्यक्तिदेखि लिएर अलिकति विश्वको छेउसम्मलाई छोएर पिट्न सफल भएका छन् निबन्धका बारीमा ।
समसामयिक विकृति चिरफारका त यिनी कुशल सर्जन जस्तै देखिन्छन् । वर्तमान बेलाका पुरस्कार लेनदेनका दरिद्र अवस्था, निरङ्कुश तानाशाही राजाका गद्दीआसनबाट दिइने पदआभूषण हुन् वा चार दिशा सहस्र कोणका बाहुहरू हुन् अथवा गणतन्त्रको आसनमा तिनकै नक्कल गरेर वितरण गरिएका घिनलाग्दा तिनैहरू हुन् मजाले दनक पस्केका छन् बद्री दाजुले । उनान्चालीसवटै निबन्धका पानाका अन्तर्य यिनै हुन् पक्षमात्र फरक, पात्रमात्र फरक । सरल भाषिक सञ्चालनको चमक लामो समयको साधकले मात्र प्राप्त गर्न सम्भव हुन्छ । बद्रीमा यो वरदान निकै माथिसम्म मुखरित भइसकेको स्पष्ट देखिन्छ ।
सरल भाषामा साहित्यिक उचाइको उडान भर्नु जटिल कुरा हो । क्लिष्ट भाषामा उत्कृष्ट साहित्य सिर्जना गर्न सजिलो हुन्छ, सरल भाषामा उच्च साहित्यलेखन त्यति नै जटिल हो । सरल भाषा पक्रेर लेखन क्षेत्रमा अक्षरसँग भरपुर खेल्न सक्ने चेतनशील चेतनाको तीव्र विकास बद्री दाहालमा भइसकेको कुरा निर्विवाद छ । यिनै दृश्यजगत्का विकृत पक्षलाई विषय बनाएर तिनैप्रति कटाक्ष गर्ने/गर्न सक्ने उनको यो लेखनी प्रशंसनीय छ । बिग्रेका बाटालाई, यातायातमा दुर्घटित भएर विनाशमा पुगेका जनधनप्रतिको आक्रोश, स्वार्थी सीमा देशभित्रका सत्तामा सान देखाएर सुविधाका तर मार्ने शासकलाई पोख्नु स्वभाविक हो । व्यङ्ग्यात्मक शैलीमा आफ्ना असन्तुष्टिका अन्तर पोका खोलेर देखाउनु सटिक छ देश मान्ने स्रष्टाका लागि ।
अखण्ड भूगोलको देश एउटा दलानमात्र हो, आँगनमात्र हो । यसभित्रमात्र तिनै छिचिमिरा रहन्छन्, घुम्छन्, पुतलीहरू मात्र नाच्छन् जो आफ्नै सानो घेराको अँध्यारोलाई आत्मको अखण्ड ज्योति ठान्दै झुम्मिन्छन् र त्यहीँ सकिन्छन्, समाप्त हुन्छन् । परको दुनियाँले उनीहरू भएको एकसास अलिकति पनि गर्न पाउन्नन् । राष्ट्रिय सीमालाई नै सिर्जनाका मुटु ठानेर त्यही सीमामा मात्र रचना गर्ने स्रष्टाको हविगत पनि कालान्तरमा यसभन्दा माथि वा फरक नहुन सक्छ । यो कुरा भाषासँग जबर्जस्ती कुस्ती खेलेर लेखनको मिठासका निकै वटा सिँढी उक्लिसकेका बद्री दाहालका कलमले यी कुरालाई निश्चित रूपले मनन गर्दै देशका नामबाट बारुदका आगामा जलिरहेका विश्व वर्तमानका अवस्था बोध गरेकै होला, गर्न सक्नुपर्दछ ।
सीमा भत्कुन्, देश जलुन् तर साहित्यको अखण्ड अमर ज्योति कहिल्यै निभ्दैन भन्ने कुराका सचेत ख्यालमा बद्री दाहालको व्यङ्ग्यचेतको मियो अलिकति झुकेर, कोल्टे फेरेर त्यो सार्वकालिक निबन्ध साहित्य लेखनको उचाइ मार्गमा पदार्पित होस् । कारण व्यङ्ग्यमात्र चाहिँ विकृत अवस्थाको द्योतनमा नै सीमित रहन्छ । कवित्व चेतनाको उही उर्वर बद्री दिलदिमाख सयपत्रीको बगैँचामा फक्रेको पाइन्छ । पिङ्गल सूत्रका साङ्गीतिक आलोकको आकर्षक बाहृय संसार देखिन्छ यता पनि । त्रिहत्तरवटा विविध छन्दका अझ भनौँ पिङ्गल सूत्रमा बाँधिएको बद्री दाहालको यो कवित्व चेतना निकै माथिल्लो परिष्कारको उदाहरण हो ।
उनलाई छर्लङ्ग देखाउने ऐना हो । शब्द खेलाइको निकै सुन्दर स्वरूप हो । राजनीति, पत्रकारिता र मानवतावादी पछि साहित्यिक चेतनाको संयुक्त स्वरूप बोकेका पुरुषोत्तम दाहाल र कुर्सीबहन चेतको अक्षम, दुर्बल, अझ भनौँ दरिद्र तर कवित्व चेतनापुञ्जको कहिल्यै न बैलाउने हरियो शैलशिखर कवि नवराज लम्सालका पाश्र्वलेखन वा भूमिका लेखनले प्रशंसा र परिचय दुवै पाएको यस कृतिका केही कविता साँच्चै कविता छन् ।
गाउँमै बसेर नैबान्धिक हरफ गुँथेका बद्रीसँग तिनै नेताका अनुहार छन् अझ ग्रामनेताका अनुहारहरू । तिनै पँनेरामा धारो खुस्केर गाग्री भर्न नपाएका अनुहार छन् । तिनै एक बित्ता जमिनका साँध मिचिँदा रगतका होली खेल्न तत्पर भौतिक अनुहार छन् ।
यी केही कवितामा बद्री दाहालको शब्दखेलाइमा जादू लुकेको छ, यो शक्ति पाएको भए म पनि कवि हुन्थेँ । यो हो साहित्यिक लेखन प्राप्तिको सबल स्वरूप तर यस्ता उचाइमा रहेका सबै कविताहरू ऋतुसँग सम्बन्धित छन् । प्रकृतिभित्र पसेर चोखा कविता लेखनको समाधि कस्दा झल्किएको कलात्मक सौन्दर्यको रूप देखेपछि वा पढेपछि मलाई लाग्यो-उनलाई धादिङको पारिवारिक सीमा र सङ्कीर्णता खेल्ने घरबाट, गाउँले बस्तीका गन्थने गफका आमसभाबाट, भैँसीगाईका पेट भर्न पटुकी कसेर खुकुरीले डाले घाँस छप्काउँदै गरेका बेलाबाट टपक्क टिपेर जङ्गलको कुटीमा राख्न पाए चाहिँ हुने नै रहेछ ।
गाउँमै बसेर नैबान्धिक हरफ गुँथेका बद्रीसँग तिनै नेताका अनुहार छन् अझ ग्रामनेताका अनुहारहरू । तिनै पँनेरामा धारो खुस्केर गाग्री भर्न नपाएका अनुहार छन् । तिनै एक बित्ता जमिनका साँध मिचिँदा रगतका होली खेल्न तत्पर भौतिक अनुहार छन् । तिनै बिहानै उठेर चिसो पानीमा नुहाउँदै आछुछुछुका आवाजमा जनै सेप्दै भुर्भुव जप्दा स्वर्ग पुगिन्छ भन्ने स्वभावहरू छन् । तिनै जन्मजात लिएर आएको मृत्युले टपक्क टिपेर लैजादा ढुङ्गामाथि टाउको ठोक्दै तेह्र दिनसम्म सेतो टालो गुतेर आस्थाका नाममा अन्ध परम्परागत विरासत फिँजिएका बिस्कुन चेहरा छन् । हो, उनमा अलिकति नवचेतनाको कलम जागेको छ र नै तिनलाई नै विषयबद्ध गरेर अधिकांश कविताका सूत्रमा बाँध्दछन् । सम्पूर्ण निबन्धका पोयामा फुकाउँछन् ।
समयले धेरै काँचुली फेरिसकेको छ । वस्तुतामा जे होस् अबका लेखनले सगरमाथा ठूलो होइन त्यसभन्दा माथि कलम छ । हिउँले चिसो भएर ठिहिर्याउँने मात्र होइन तातो भएर जलाउन पनि सक्छ । आगोभित्र दहनको क्षमतामात्र होइन चिसो भएर बरफ जम्न सक्ने तागत राख्छका भावात्मक उच्च/गम्भीर भावाभिव्यक्तिभित्र प्रच्छन्न रूपले मात्र व्यङ्ग्यका विषय, विकृतिका भड्खालाहरू, सानामसिना हामी जस्तै मान्छेले गरेका कमी/कमजोरी, अन्याय/अत्याचार र जनरन्कालाई घुसाउने क्षमताको विकास गर्नुपर्छ कलमहरूले । अब गान्धीको धोती फेराइ पनि काम छैन र माओको बन्दुक भिराइ पनि । हो, नवराजले घुमाउरो पाराले ठिक भनेका छन्- अब तपोधनले आदिम अपौरुषेय शक्तिको आविर्भाव सम्भव छैन ।
पुरुषोत्तमले छानेकै छन्-त्यो चोखो कवित्व चेतना बद्रीको पनि किट्स्÷यिट्स् समवर्ती छ तर बद्रीका अधिकांश सिर्जनाले यिनीहरू खोजेको छैन, खोज्न चाहेको छैन, यो उनमा देखिने त्रुटि हो । उनले त्यो आदिम शक्तिमात्र बढी मात्रामा खोजिरहेका छन् जो समय काँचुलीले प्राप्ति हुन असम्भव बनाइसकेको छ । गाली निकै गरेँ, ताली थोरैमात्र । गालीलाई गम्भीर मानेर लेखन गालीभित्र राखौँ । अहिले गणतन्त्रको जमाना हो । गालीका पात्रहरू जुन जुन आसनमा छन् हात जोडेर, भोट हालेर राख्ने हामी नै हौँ । निबन्धकार, व्यङ्ग्यकार, कवि बद्री दाहालका कलमले यत्ति बुझे काफी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच