काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसर शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सुशासन र आर्थिक विकासका माध्यमबाट सरकार र राजनीति दलप्रति नागरिकको विश्वास बढाउनुपर्ने बताउनुभयो ।
‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत आलोक हो,’ उहाँले भन्नुभयोे, लोकतन्त्रको यही आलोकलाई मानेर हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन ।’
मुलुकभित्रै आफ्नो भाग्य र भविष्य सुनिश्चित छ भन्ने युवाको सपना साकार पार्ने, उनीहरूका चाहना यही व्यवस्थामा पूरा गर्न सम्भव छ भनेर जनतालाई विश्वास दिलाउन सक्नु नै अहिलेको आवश्यकता भएको राष्ट्रपति पौडेलको भनाइ छ । ‘मुलुकबाट विसंगति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरिब र पिछडिएका जनताको आवाज सुनेर उनीहरूका समस्या सम्बोधन गर्न सरकारले नीति एवं कार्यक्रम तर्जुमा गरी तीनलाई कार्यान्वयन गर्नुपर्छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो । विश्वेश्वरप्रसाद कोइरालाले गणेशमान सिंहका बारेमा भन्ने गरेका कुरा स्मरण गर्दै उहाँले भन्नुभयोे, ‘गणेशमानजी साहसी र संघर्षशील मात्र हुनुहुन्नथ्यो, उहाँ भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो । उहाँले भनेका अधिकांश कुरा सत्य सावित हुन्थे ।’
संविधान जारी भएयताका वर्षहरूको गम्भीर समीक्षा आवश्यक छ : सिटौला
नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले तीनवटै तहका सरकारहरूले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ । शनिबार गणेशमान सिंहको ११०औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उहाँले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको भन्दै अब समीक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सिटौलाले सबै एक ठाउँमा उभिएर फेरि एकपटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको धारणा राख्नुभयो । उहाँले संविधान जारी भएको अब एकदशक पुग्न लागेको भन्दै आफैँले बनाएको संविधान कति इमानदारीसाथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको बताउनुभयो । उहाँले संविधानमा वा राज्य सञ्चालनमा कतै त्रुटि भए गहन समीक्षा गरी आवश्यक परे संविधान संशोधन गर्नुपर्ने समेत बताउनुभयो । ‘हामी सबै एक ठाउँमा उभिएर फेरि एकपटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको छ । संविधान जारी भएको अब एक दशक पुग्नै लाग्यो । संविधान आइसकेपछि पहिलो निर्वाचन सम्पन्न भयो, पाँच वर्ष गयो, संविधानको दोस्रो निर्वाचन पछिको दोस्रो कार्यकालमा हामी छौँ । स्थानीय तहले पहिला पाँच वर्ष पूरा गर्यो, संघीय संसद्, प्रदेशले पाँच वर्ष पूरा गर्यो,’ उहाँले भन्नुभयोे, ‘अब दोस्रो चरणमा स्थानीय तहले झण्डै पाँच वर्ष पूरा गर्न लागेको छ । संघीय संसद् र प्रदेश पनि दुई वर्ष पुगिसकेको छ । हामी आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन गर्यौँ भनेर अब समीक्षा गर्ने बेला भइरहेको छ ।’ उहाँले संविधान जारी भएपछि यताका वर्षहरूको गम्भीरतापूर्वक समीक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभयो । नेता सिटौलाले स्थानीय तहदेखि संघ सरकारसम्मै राज्य सञ्चालनका शैलीहरू परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच