काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी मंसिर १६ गते ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । शनिबार बसेको पार्टी सचिवालयको बैठकले सम्पूर्ण पार्टी संयन्त्रलाई उपनिर्वाचन केन्द्रित हुन निर्देशन दिएको जानकारी दिँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘मंसिर १६ गते हुने उपनिर्वाचनका सन्दर्भमा सिंगो पार्टी पंक्तिलाई सम्पूर्ण शक्तिका साथ परिचालित हुन निर्देशन दिइएको छ । पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन आहृवान गरेको छ ।’
मानव तस्करीको आरोप लागेका अधिकारी निलम्बित
नेकपा एमालेको सचिवालय बैठकले कोशी प्रदेशसभा सदस्य, पूर्वमन्त्री एवं नेता लीलाबल्लभ अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको छ । शनिबार काठमाडौंमा बसेको सचिवालय बैठकले निर्णय अनुमोदन गरेको जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री लीलाबल्लभ अधिकारीमाथि गम्भीर प्रश्न उठेकाले कोशी प्रदेश कमिटीले पार्टीका सबै जिम्मेवारीहरूबाट मुक्त हुनेगरी गरेको निर्णयलाई अनुमोदन गरेको छ । उनको बारेमा लागेको आरोपहरूको वस्तुनिष्ठ र तथ्यपरक ढंगले राज्यका निकायले छानविन गरून् त्यो छानविनमा पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’ जापानमा मानव तस्करीमा संलग्नताको आरोप लागेपछि घिमिरेले मन्त्री र पार्टीको जिम्मेवारीबाट राजीनामा गरिसक्नु भएको छ ।
यसअघि एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्यतथ्य पत्ता नलाग्दासम्म अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको थियो । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले अविचलित रूपमा कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बित गरिएको छ ।’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्तिमा भन्नुभएको छ ।
सरकार ठीक ढंगले चलेको निष्कर्ष
नेकपा एमालेको सचिवालय बैठकले सरकार ठीक ढंगले अघि बढिरहेको निष्कर्ष निकालेको छ । शनिबार प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको सचिवालय बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा गरेको हो । बैठकमा नेपाली कांग्रेससँगको गठबन्धन बीचको समझदारीलाई अझ प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘बैठकमा सरकारको चार महिने कार्यकालको समीक्षा गरेका छौँ । सरकारले आधारभूत रूपमा ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष छ । दुई राजनीतिक दलबीच समझदारीलाई प्रगाढ बनाउन र काममा अझै बढी समन्वय ल्याउनका निम्ति विश्वासको वातावरणलाई सुदृढ गर्दै लैजाने कुरामा छलफल भएको छ ।’
काठमाडौंमा जागरण सभा गर्ने
नेकपा एमालेले काठमाडौंमा जागरण सभा गर्ने भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले आउँदो मंसिर ७ गते काठमाडौंमा पार्टीको जागरण सभा गर्ने निर्णय गरेको हो । कार्यक्रममा सहभागिता जुटाउन पार्टीका विभिन्न कमिटीलाई परिचालन गर्ने पनि बैठकले निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा काठमाडौंमा गर्ने जागरण सभालाई सफल पार्न पार्टीका सबै जनवर्गीय संगठनहरू, सम्पर्क कमिटीहरूलाई सहयोग गर्न आहृवान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।
‘दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक’
नेकपा एमालेले दुवै छिमेकी देशहरू भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेकोमा जोड दिएको छ । शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा बदलिँदो भूराजनीति र अन्तर्राष्ट्रिय कूटनीतिमा विकसित घटनाक्रमहरूबारे छलफल गर्दै एमालेले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रित परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको हो । बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । बैठकले दुई छिमेकीसँगको सन्तुलित सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ । अब प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीको उक्त भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागि समेत सरकारलाई आग्रह गरिएको छ ।’
उम्मेदवारको नाम अनुमोदन
नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिश भएर आएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ४४ वटै स्थानीय तहका उम्मेदवारको नाम अनुमोदन गरेको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘४४ वटा स्थानीय तहको उपनिर्वाचनको तर्फबाट नेकपा एमालेका तर्फबाट सिफारिश भएका नाम अनुमोदन गर्ने काम गरेको छ ।’
यी हुन् एमालेका उम्मेदवार
कीर्तिपुर नगरपालिका मेयर- सुरेन्द्र मानन्धर
मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष- तुलसीराम विश्वास
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्ष- उमा लुंगेली शेर्पा
रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष- केस कुमारी तुला
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख- सुनिता बोहोरा
बाजुराको स्वामी कात्र्तिक फापर गाउँपालिकाको उपाध्यक्ष- सुलोचना कुमारी भण्डारी बोहोरा
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष-जाना शाही
दुई दलीय संयन्त्र चीन भ्रमणका लागि नबनेको प्रष्टीकरण
सत्तारूढ दल नेकपा एमालेले गत कात्तिक २१ गते नेपाली कांग्रेससँग बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको स्पष्टीकरण दिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले दुई दलबीच सहकार्य भइरहने वातावरण निर्माणका लागि संयन्त्र बनेको दाबी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आठ सदस्यीय संयन्त्र छ । जसमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषय पनि उल्लेख गरिएको छ । उक्त संयन्त्र प्रधानमन्त्रीको भ्रमणका लागि नबनाइएको दाबी गर्दै ज्ञवालीले भन्नुभयो, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन । दुईवटा राजनीतिक दलहरूको बीचमा खासगरी सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्तावेज तयार गरेका थियौँ । सरकारले त्यसलाई आत्मसाथ गरेको छ । त्यसलाई सहजीकरण गर्ने र दुई दलबीच सहकार्य भइरहने वातावरणका लागि संयन्त्र बनेको हो । तत्कालका लागि महत्वपूर्ण एजेण्डा प्रधानमन्त्रीको चीन भ्रमण भएकाले त्यहाँ छलफल भयो । तर, त्यही भ्रमणका लागि बनाइएको होइन ।’
रास्वपा कार्यालयमा समर्थकहरूको चेतावनी ‘नो नट अगेन भन्ने दिन नआओस्’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरू सभापति रवि लामिछाने पक्राउ परेको २२ दिन बितिसक्दा पनि पार्टीले ठोस निर्णय नलिएको भन्दै दबाब दिन चःमतिस्थित केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । शनिबार केन्द्रीय समिति बैठक बस्नुअघि पुगेका समर्थकहरूले सभापति पक्राउ पर्दा पार्टीका अन्य शीर्षस्थ नेताहरूको भूमिकाप्रति असन्तुष्टि जनाउँदै ठोस निर्णय गर्न आग्रह गरेका हुन् । उनीहरूले पार्टी कार्यालयभित्रै प्लेकार्ड प्रदर्शनसमेत गरेका छन् । ‘रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरूलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ ।’ ‘आँटिला नेतालाई सलाम छ’, ‘डराउनेलाई आँट दिन्छौँ’, ‘आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस्’, ‘कि संकटमा पार्टी सम्हाल कि ठाउँ छाड’, ‘रविको नाममा सांसद र नेता भएकाहरू रविलाई संकट पर्दा पछि हट्नु धोखा हो’,’ निर्णायक आन्दोलनको विकल्प छैन’, ‘कि भन रवि दोषी हो कि लड उसका लागि’ भन्ने नारासहितको प्लेकार्ड प्रदर्शन गरेका हुन् । सहकारी ठगी र संगठित अपराधको आरोपमा लामिछाने कास्की प्रहरीको हिरासतमा रहनुभएको छ । लामिछाने कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ पर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच