काठमाडाैं । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले वर्तमान सरकारले राम्रो सन्देशसहित राम्रो काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले देशमा सहकारी पीडित नागरिकहरु धेरै भएको भन्दै सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको दाबी गर्नुभयो ।
उहाँले अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको बताउनु भयो । गल्ती गर्नेहरु ठूला राजनीतिक दलहरु नै भएपनि सरकारले नछोड्ने बताउनु भयो । जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेको रास्वपा लक्षित टिप्पणी गर्नुभयो । उहाँले सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउने बताउनु भयो । वर्तमान सरकारले गल्ती गर्नेलाई छुट नदिने बताउनु भयो ।
ढोरपाटनका मेयर नेकपा एमालेबाट रहेको र एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ प्रधानमन्त्री भएपनि सहकारीको रकम अपचलन गरेको आरोपमा मेयरलाई अनुसन्धानमा ल्याइएको बताउनु भयो । उहाँले आन्दोलन गरेर समस्या बल्झाउन खोजिरहेको भन्दै बिरोध गर्नेहरु सफल नहुने बताउनु भयो । उहाँले सरकारले भनेको काम पूरा गरिरहेको र काठमाडौं उपत्यकावासीलाई दशैँअघि नै पानी खुवाउन सफल भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पत्रकारको बीमाको कुरा छ । अहिलेको युगमा पत्रकारको बीमा नहुनु दुर्भाग्य हो । त्यसकारणले गर्दा नेपाल सरकारले नै पहल गरेर फोटो पत्रकारको बीमा गराइदिनुपर्छ । त्यसको लागि म पूर्ण रुपले पहल गर्नेछु । त्यसको लागि म प्रीतवद्धता जनाउन चाहन्छु । यसले आंशिक रुपमा समस्याको समाधान हुनसक्छ । डिजिटल युगमा क्यामेरा र ल्यापटपकै जरुरी छ । यो युगमा तपाईंहरुको आवश्यकतामा नेपाल सरकारले साथ दिनेछ । सरकार सधैँ मिडियाको साथमा रहनेछ । अहिलेको सरकारले देशको लागि राम्रो सन्देश दिन खोजेको छ । राम्रो काम गर्न खोजेको छ । देशमा सहकारी पीडित नागरिक धेरै भएका छन् । सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको छ । त्यसको निमित्त अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको छ । त्यसमा तपाईंहरुको साथ र सहयोग चाहेका छौँ । गल्ती गरेको छ भने ठूलो राजनीतिक व्यक्ति पनि पर्छ । जुनकुनै पार्टीको भएपनि गल्ती गर्ने कानूनी दायरामा आउँछ । यसमा इफ बट छैन । यहाँ जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेका छन् । तर सरकार डराउँदैन । सरकारले काम अघि बढाइसकेको छ । ६ सय भन्दा बढी सहकारी ठगहरुलाई अहिले प्रहरी कस्टडीमा पुर्याइसकेको छ । सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउँछ ।’
साधारण सभाले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्तलाई निर्विरोध चयन गरेको छ । फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन हुनुभएको छ । केन्द्रिय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन हुनुभएको छ । विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता सङ्गठन हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच