काठमाडौं । मानव तस्करीको संगीन आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीले आफू माथिको आरोप सार्वजनिक हुनासाथ नैतिकताका आधारमा राजीनामा दिनुभयो । नेकपा एमालेले उहाँलाई तत्काल निलम्बन गर्यो । एमाले नेतृत्वकै सरकारले उहाँलाई पक्राउ गर्यो र अनुसन्धान अगाडि बढाएको छ । २०८० वैशाखमा कांग्रेस सरकारमै थियो । कांग्रेसका प्रभावशाली नेता एवं पूर्व-गृहमन्त्री बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभयो । कांग्रेसले सो प्रकरणको निष्पक्ष छानविनको माग गर्यो, कुनै आन्दोलन गरेन ।
पुराना भनिएका पार्टीका प्रभावशाली नेताहरू गम्भीर आरोप लाग्दा पक्राउ परिहाले पनि सडक आन्दोलन भएका छैनन् । पुराना दलभित्र सार्वजनिक छविमा प्रश्न उठेकाहरूलाई पार्टीले आन्तरिक कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ । तर, नयाँ र वैकल्पिक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने आफ्ना सभापति रवि लामिछानेका व्यक्तिगत मुद्दामा पनि सडक आन्दोलन गरेको गर्यै छ । कुनै बेला रास्वपाले आरोप लाग्नासाथ सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको थियो । यतिबेला सभापतिकै सन्दर्भमा भने रास्वपाले आफ्नो पूर्वअडान, मूल्य, मान्यता सबै दाउमा लगाएको छ र सडकमा नारा चर्काएको छ ।
गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पर्नुभयो । त्यसयता निरन्तर आन्दोलित रास्वपाले हरेकपटक रविलाई अदालतमा उपस्थित गराउँदाको दिन पोखरामा सभासमेत गर्ने गरेको छ । रास्वपा केन्द्रीय समिति बैठकले नै सभापति लामिछानेको पक्राउविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलन सशक्त हुन नसकेको गुनासो रास्वपाभित्रै बढिरहँदा सडक आन्दोलनले प्रभाव त पारेको छैन तर पनि न्यायिक प्रक्रियामा रास्वपाको अवरोधले रास्वपाकै घोषित नीति र प्रतिबद्धताको खिल्ली उडाएको छ ।
प्रहरीले सहकारी ठगी, संगठित अपराध र अकुत सम्पत्ति आर्जन लगायतका विषयमा रविसहित दर्जनौँ व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ । संगठित अपराधको सन्दर्भमा बढीमा ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ । यद्यपि, रास्वपा नेताहरू रविको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण भन्दै आन्दोलन गरिरहेका छन् । जसलाई अब पुराना दलका पुरानै नेताहरूले पनि खिसी गर्न थालिसकेका छन् ।
पक्राउ पर्दैमा अनावश्यक होहल्ला गर्नु उचित होइन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दैमा अनावश्यक होहल्ला नगर्न रास्वपाका नेता कार्यकर्ताहरूलाई सुझाव दिनुभएको छ । धनगढी विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरू चुपचाप बसेको भन्दै कानुनी प्रक्रियामा अवरोध नगर्न सुझाव दिनुभएको हो । ‘हाम्रा नेताहरूलाई मुद्दा हालियो, जेल हालियो । हामीले त हल्ला गरेनौँ । आन्दोलन गरेनौँ । अहिले पनि त्यस्तो गर्न जरुरी छैन’, देउवाको भनाइ छ । उहाँले रास्वपाले अहिले गरिरहेको आन्दोलनको कुनै तुक नरहेको पनि प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘ससंदीय छानविन समितिको प्रतिवेदनअनुसार लामिछाने पक्राउ परेको हो । रविलाई कानुनअनुसार कारबाही हुन्छ ।’
राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा अदालतको आदेशलाई सडकबाट चुनौती दिन खोज्नु रास्वपाको भूल हुने बताउनुहुन्छ । एमाले सचिव पद्मा अर्याल न्यायिक प्रक्रियालाई चुनौती दिएर रास्वपाले आफूलाई विधिको शासनविरुद्ध उभ्याएको आरोप लगाउनुहुन्छ । माओवादी नेताहरूले पनि रास्वपालाई न्यायिक सामना गर्न सुझाउँदै आएका छन् । ‘जान्नेलाई छान्ने’ नारासहित उदय भएको रास्वपालाई अहिले आफ्नो नारा अनुसारको पहिचान बनाउनै हम्मे परेको छ । पार्टी स्थापनाको दुई वर्षमै सभपाति रवि लामिछानेका काण्डहरूको ढाकछोप गर्नमै रास्वपाको समय खेर गएको छ । दुई पटकसम्म गृहमन्त्री हुँदा कानुनी शासनको वकालत गर्नुभएका रविले कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया पक्राउ प्रकरणलाई ‘अदालतको काम’ भनेर टिप्पणी गर्नुभएको थियो । अहिले रवि पनि अदालतकै अनुमतिमा अनुसन्धानका लागि थुनामा रहनुभएको छ । कानुनी दृष्टिले रविको पक्राउमा कुनै समस्या देखिँदैन । यदि समस्या हुन्थ्यो भने रविको पक्षमा जोकोहीले बन्दी प्रत्यक्षीकरणको निवेदन पेस गर्न सक्थ्यो । तर, रास्वपाका नेताहरूलाई न्यायिक प्रक्रियालाई अवलम्बन गर्नेभन्दा अस्वीकार गर्नेतर्फ केन्द्रित छन् । ‘रास्वपाले अदालतको अवहेलना गरिरहेको छ । न्यायिक प्रक्रियामा रहेको विषयमा सडक आन्दोलन गर्ने न्याय निरूपणलाई प्रभावित पार्न खोजेको छ । रास्वपाले आफ्नै पहिचान विपरीतको काम गरेको छ’ वरिष्ठ अधिवक्ता मोहन इङनामको भनाइ छ । अदालतको अनुमतिमा प्रहरीले पक्राउ गरेको विषय चित्त नबुझे सडक होइन अदालतमा जानुपर्ने उहाँको सुझाव छ ।
नक्कली शरणार्थी प्रकरणमा जोडिएका कांग्रेस नेता खाँण अदालतकै आदेशबाट थुनामुक्त हुनुभएको छ । एमाले सचिव टोपबहादुर रायामाझी अदालतकै आदेशका कारण थुनामा हुनुहुन्छ र उहाँलाई एमालेले निलम्बन गरिसकेको छ । पुराना पार्टीले कानुनी प्रक्रियामा देखाएको यो उदारता रास्वपामा भने देखिएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच