भैरहवा । लामो समयको प्रतीक्षापछि रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै उत्साह छाएको छ । शनिबार मात्रै तीन अन्तर्राष्ट्रिय उडान भएको छ । थाई एयरले शुक्रबार, जजिरा एयरलाइन्सले शनिबार बिहान, फ्लाई दुबईले दिउँसो उडान भरेका छन् भने नेपाल एयरलाइन्सले राति उडान भर्नेछ । दैनिक १० घण्टा सेवा रोकेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम भइरहँदा गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले उत्साहित बनाएको छ । यही बीचमा एक्कासि बढाइएको भाडादर नियन्त्रणका लागि पनि शनिबारै सहमति जुटेको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिनबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको कुवेतको जजिरा एयरलाइन्सले केही समय उडान गरेपछि स्थगित गर्यो । त्यसको १० महिनापछि शनिबारबाट पुनः उडान सुरु गरेको छ । २०७९ जेठ २ मा विमानस्थल उद्घाटन हुँदा र जजिराले उडान सुरु गर्दा हर्षित यस क्षेत्रका बासिन्दा विमानस्थल विजनेसविहीन हुँदा निराश बन्न पुगेका थिए । शनिबार बिहान ७ः४० बजे कुवेतबाट १७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले फर्कंदा १६८ लिएर कुवेत उड्यो । शनिबारै दिउँसो संयुक्त अरब इमिरेट्स (युएई)को फ्लाई दुबईले पनि यही विमानस्थलबाट उडान सुरु गरेको छ ।
शनिबार दिउँसो २ः३५ बजे १५९ यात्रुसहित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईमा आएका १५९ मध्ये १० जना भैरहवा ओर्लिएको र पुनः बाँकी १४९ यात्रुसहित उक्त विमान भैरहवाबाट काठमाडौं प्रस्थान गर्यो । दुवै विमानलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो । भैरहवा ओर्लिएका र यहाँबाट कुवेत लगायतका देशमा जान लागेका यात्रु घर छेउबाट यात्रा गर्न पाउँदा हर्षित देखिएका थिए । फ्लाई दुबईको उडान आइतबारको भए तापनि एकदिन अघि शनिबार नै उडान गर्दा विमानले भैरहवाबाट यात्रु नपाएको बताइएको छ । एकैदिन नेपाल एयरलाइन्सले पनि यो विमानस्थलबाट उडान भर्दै छ । नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा-दुबई-काठमाडौं सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तालिका छ । फ्लाई दुबईले शनिबारदेखि साताको सातै दिन दुबई-भैरहवा-काठमाडौं-दुबई एक उडान गर्ने तालिका छ ।
शुक्रबार गौतमबुद्ध विमानस्थलमा उडान भरेको थाई एयर एशियाले साताको सोमबार र बिहीबार एक उडान र जजिरा एयरवेजले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्नेछन् । हाल विमानस्थलबाट चारवटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । यसले यस क्षेत्रमा चहलपहल बढेको छ भने शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा छ । तर, यसले निरन्तरता पाउनेमा यहाँका पर्यटन व्यवसायीहरू विश्वस्त हुन सकेका छैनन् ।
उत्साहित निजी क्षेत्र
एकैपटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय र निजी क्षेत्र खुसी छन् । भैरहवाको आकाशमा नियमित उडान गर्न कुनै अल्झन छैन । एक घण्टामा ४०० यात्रु ओराल्न र उडान गर्नसक्ने गरी संरचना तयार छ । लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका बेला गौतमबुद्ध विमानस्थल भैरहवाको चहलपहल बढ्ने निश्चितप्रायः छ,’ अर्यालले भन्नुभयो, ‘यो पुल बन्दाको समयमा वैकल्पिक सडक र डाइभर्सन वरिपरिको चहलपहल जस्तो मात्र नबनोस्, यसको दिगो सञ्चालनका लागि जिम्मेवार पक्ष गम्भीर हुन जरुरी छ ।’
गौतमबुद्ध विमानस्थल निर्माणमा ४० अर्ब रुपैयाँ लगानी भएको छ । जसमा एसियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदान र नेपाल सरकारको लगानी छ । उच्च लागतमा विमानस्थल बने पनि सञ्चालनका लागि भने कठिनाइ भइरहेको छ थाई एयर एसिया, फ्लाई दुबई, जजिरा एयरलाइन्स र नेपाल एयरलाइन्सलाई टिकाउँदै अन्य कम्पनीहरूलाई अकर्षित गर्नुपर्ने व्यवसायीको भनाइ छ । विमानस्थल प्रयोगका लागि विदेशी वायुसेवा कम्पनीहरूलाई दिगो रूपमा तयार गर्न नसक्दा विमानस्थल निर्माण गर्दाको ऋण भुक्तानीमा अप्ठ्यारो निम्तिने जोखिम हुँदै आएको छ ।
भैरहवा आउने एयरलाइन्सहरूलाई सरकारले विभिन्न सेवामा सहुलियत लगायतका आकर्षक प्याकेज घोषणा गरेको छ । भैरहवा विमानस्थलबाट सेवा प्रदानका लागि हवाई टिकटमा लाग्ने गरेको प्रतियात्रु तीन हजार रुपैयाँ यात्रु सेवा शुल्क र एक हजार रुपैयाँ पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड हृयाण्डिलङमा ७५ प्रतिशत छुट, ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट प्रदान गरेको छ । यसका अलावा काठमाडौं विमानस्थलभन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलर छुट दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिना विमानस्थल विस्तार गर्न लागेको हो । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।
उहाँले काठमाडौंको विमानस्थल निर्माणका लागि मात्रै भैरहवा चलाउन नखोजिएको स्पष्ट पार्नुभयो । अहिले सञ्चालन भएका विमान कम्पनीले यहाँबाट नियमित सेवा दिने उहाँले जानकारी दिनुभयो । ‘एक घण्टामा दुई जहाज व्यवस्थापन गर्ने यहाँको क्षमताअनुसार चलाउन सबै तयारी गरिएको छ, यो काठमाडौं निर्माणको समयमा मात्रै चलाइएको भनेर गलत सन्देश दिनेगरी चलाइएको होइन, अब यसैगरी नियमित चल्नेछ’, उहाँले भन्नुभयो । काठमाडौंपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्धलाई नै लक्षित गरेर निजी क्षेत्रले ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माको भनाइ छ । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यवसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि यहाँ अर्बौं लगानी भएको उहाँको भनाइ छ ।
विमानस्थल सञ्चालनका लागि सरकारले वि.सं. २०७९ सालमा भैरहवामा श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यालय स्थापनापश्चात् पूर्व-श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिँदै आएको थियो । तर, यसमध्ये सबैभन्दा बढी व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिइरहेको छ । वैैदेशिक रोजगारीमा जानका लागि काठमाडौंमा गर्नुपर्ने सबै कामहरू भैरहवाबाट गर्ने व्यवस्था राज्यले मिलाउन सकेमा भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउने देखिन्छ । विमानस्थल ८०० बिगाहा क्षेत्रफलमा फैलिएको छ । तीन किलोमिटरको ‘रनवे’ रहेको फोर ई क्याटोगोरीको विमानस्थलमा नवौँ क्याटोगोरीका वारुणयन्त्रहरू छन् । विमानस्थलसरह उडान र अवतरण हुनसक्ने चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँच वटासम्म अन्तर्राष्ट्रिय विमान पार्किङ गर्नसक्ने क्षमता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच