सरकार आफ्नै कारणले ढल्छ : माओवादी केन्द्र

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ ।

सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको हो । उहाँले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाउनु भयो । उहाँले देशमा असाधारण परिस्थिति बन्दै गएको बताउनु भयो । उहाँले असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरुको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले सरकार राजनीतिक दलहरु फुटाउने चलखेलमा लागिरहेको आरोप समेत लगाउनु भयो । संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताउनु भयो । । राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरुलाई हटाउने खेल भइरहेको छ । असाधारण परिस्थिति देशमा बन्दैछ । त्यसको लागि सबै पार्टीहरुको बीचमा एकरुप समझदारी हुनुपर्ने, राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरु फुटाउने खालको पनि चर्चा चलिरहेको छ । यि सबै कुरालाई, अनि फेरि संविधान संशोधनको कुरा गरेर त्यो त आवरण मात्रै थियो, उहाँहरुलाई सत्तामा जानु थियो । जानका लागि उहाँहरुले संविधान संशोधनको कुरा गर्नुभएको थियो । हामी अब भन्छौँ, संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा परिवर्तनको पक्षमा जनताका अधिकारहरु बढाउने पक्षमा गर्नुपर्छ । अरु कुरा त हामी गर्दै गरौँला । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । त्यसले मात्रै अहिले देखिएका विकृति, विसंगतिहरु, यो अस्थिरता हट्छ, राजनीतिक स्थायित्व ल्याउन सक्छ भन्ने हाम्रो विचार छ । निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ । सांसदहरु सबै नीति निर्माणमा लागुन्, मन्त्री हुने विज्ञ, विशेषज्ञहरु र जो विज्ञहरु छन् उनीहरुलाई बनाउनु पर्छ । एक पछि अर्को जनहित विपरितमा जाँदैछ, यो सरकार, पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्दैछ, यसले अलिकति अधिनायकवादतिर, अलि तानाशाहीतिर जान्छ भन्ने थियो नि, अहिले ठिक त्यस्तै कुरा पुष्ठि भइरहेका छन् । चाहे तपाईं कीर्तिपुरको जग्गाको कुरा गर्नुस् । पहिलाको सरकारले जेजे गरेको थियो, भ्रष्टाचारका बिरुद्धमा, सुशासनका पक्षमा, सामाजिक न्यायसहितको समृद्धि भनेको थियो, त्यो एक एक गरी उल्टिँदैछन् । राष्ट्रियताको सवाल झनझन पेचिलो, झनझन जटिल भइरहेको छ । लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको छ । जनजीविकाको सवालमा सरकार चुकिरहेको छ । यो सरकार त आफ्नै कारणले जान्छ जान्छ तर फेरि यो हामीले जनतालाई सही ढंगले परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा दिशा निर्देश गर्नुपर्छ ।’

प्रवक्ता सापकोटाले जनतालाई सही ढंगले परिवर्तन र अग्रगमनका पक्षमा दिशा निर्देश गर्न जरुरी रहेको बताउनु भयो ।

उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकतावद्ध हुन निर्देशन

नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।

सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भया । उहाँले उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय भएको बताउनु भयो । उहाँले मंसिर मसान्तसम्म पालिका सम्मेलन गरिसक्ने र साथसाथै वृहत, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मंसिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको छ । निर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ । उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाएका छौँ । 

मंसिर मसान्तसम्म पालिका सम्मेलन र त्यसका साथसाथै कार्तिकको १० गते पालिकास्तरसम्म गर्ने भनेका थियौँ । अब पालिकाको सम्मेलन पनि र खबरदारी सभा पनि एकैसाथ लैजाने र वृहत, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने ।
पुसको २ गते केन्द्रिय समितिको बैठक बस्ने ।’

प्रवक्ता सापकोटाले वर्तमान सरकार जनहित विपरित कार्यमा अघि बढिरहेको आरोप लगाउनु भयो । पदाधिकारी बैठकले पुस २ गते केन्द्रिय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?