काठमाडौं । आगामी मंसिर २० देखि २४ गतेसम्म काठमाडौंमा २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघले काठमाडौंको बौद्धस्थित होटल हायातमा आयोजना गर्ने मेलामा हस्तकलाका वस्तुका करिब १५० स्टलहरू रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मेलामा विदेशी प्रदर्शनीकर्ताका रूपमा मित्रराष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेशका व्यापारीको सहभागिता रहनेछ भने व्यापार मेलामा महासंघका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला संघ र वस्तुगत संघहरूसमेतको सहभागिता रहने बताइएको छ ।
मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिनेछ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति(एनटिआइएस) भित्र समावेश हस्तकलाका वस्तुलाई मेलामा विशेषरूपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको पनि आयोजकले जनाएको छ । साथै मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क स्टल प्रदान गरिने बताइएको छ ।
मेलाको प्रमुख आकर्षणका रूपमा रहेको १९औँ संस्करणको हस्तकला प्रतियोगिता(जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी) अन्तर्गत (क) परम्परागत विधातर्फ लोपोन्मुख अवस्थामा रहेको ‘बुट्टेनली’ र (ख) समसामयिक विधातर्फ ‘गलैंचा बुनाइ’मा प्रत्यक्षरूपमा जीवन्त प्रदर्शनी गरिने र सो प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रत्येक विधामा उत्कृष्ट तीन कलाकारलाई नगद प्रथम पुरस्कार ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजारका साथै प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारलाई प्रमाण पत्रलगायत पदक प्रदान गरिने आयोजकले जनाएको छ । साथै मेलाका अवसरमा आर्थिक वर्ष २०८०/८१ का लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पुर्याउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता, कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिनेछ भने मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ कलाकारलाई नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सगुन दिई चाँदीको फ्रेमसहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको महासंघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच