हुम्ला । हुम्लाका नागरिकलाई यतिबेला जिल्लाबाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या हुने गरेको छ । अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटदेखि जिल्लाबाहिर नेपालगञ्ज, सुर्खेत, पोखरा, बुटवल लगायतका शहर पुग्न समस्या हुने गरेको हो । दशैँ, तिहार मनाउन घर आएका नागरिक यतिबेला आ–आफ्नो गन्तव्यमा जानका लागि सिमकोट विमानस्थलमा धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा यात्रु मारमा परेका हुन् ।
नेपालगञ्जबाट हप्ताको एकदिन मात्रै उडान गर्दै आएका सीता, समिट र ताराले दैनिक उडान नगर्दा यहाँका नागरिकले समस्या भोग्नु परेको छ । तारा एयरले हप्तामा सोमबार, सीता र समिट एयरले बुधबार एकदिन मात्रै उडान गर्दा यहाँका नागरिक मर्कामा परेका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हप्तामा दुई दिन सोमबार र मंगलबार उडान गरे पनि यहाँका नागरिक थप समस्या हुने गरेको छ । अन्य समय नेपालगञ्ज, सुर्खेतदेखि दैनिक उडान गर्दै आएका निजी एयरले यो समयमा पूर्वका जिल्लामा नाफामुखी उडान गर्दा विरामी, विद्यार्थी, कर्मचारी र सर्वसाधारण यसको मारमा परेका छन् ।
हप्ताको एक दिन नेपालगञ्जदेखि उडान गर्दै आएका एयरलाइन्सले आफ्नो नजिकका लाई मात्रै टिकट वितरण गरेर जिल्ला बाहिर पठाउँदा पहुँच नभएका सर्वसाधरणले वर्षेनी यो समस्या भोग्दै आउनुपरेको छ । निजी एयरलाइन्सका कर्मचारीले कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो पोखेका छन् । जिल्ला बाहिर जानलाई पहुँचवालाले मात्रै टिकट पाउने गरेका छन् । निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेका छन् ।
तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारणको गुनासो छ । नेपालगञ्ज र सुर्खेतदेखि नियमित उडान नहुँदा दशैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ः०० बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको सर्वसाधारणको गुनासो छ ।
यतिबेला सिमकोट विमानस्थलमा बिरामीले समेत जिल्ला बाहिर जान नपाएको गुनासो पोखेका छन् । विरामीसँगै कुरुवा पनि जान पाएका छैनन् । विमानस्थलमा भेटिनुभएका सिमकोट गाउँपालिका-८ का जय कामीले, आफ्नो छोरीको दुईवटै मिर्गाैला फेल भएर उपचारका लागि जिल्ला जान टिकटको खोजीमा पुगे पनि बिरामीको मात्रै पाएको कुरुवा आफ्नो नपाएको गुनासो पोख्नुभयो । जिल्ला अस्पतालले रिफर गरेको कागज पेस गर्दा धौ-धौ गरी एक टिकट पाएको कामीले बताउनुभयो । बिरानो ठाउँमा उपचारका लागि जाँदा बिरामी कुरुवा टिकट नपाएको उहाँले बताउनुभयो ।
सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको सरकारी कोटाको दुईवटा टिकटको दुई दिन हुने उडानमा चारजना जटिल समस्या भएका बिरामीलाई पहिलो प्राथमिकता दिएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ । सोमबार दुई बिरामी र मंगलबार दुईजना बिरामी पठाउने बताइएको छ । नेपाल एयरलाइन्सले १३ जना यात्रु बोक्ने भए पनि टिकट लाइनमा राखेर वितरण गर्दै आएको बताइएको छ । हुम्लाका लागि उडान तालिका भए पनि सोमबार नेपाल एयरलाइन्सले आफ्नो उडान गर्न नसकेको हो । हुम्लाको उडान नभएर जुम्ला उडान गरेको छ ।
नेपाल एयरलाइन्सले हुम्लाबाट एक उडान कर्णाली प्रदेश राजधानी सुर्खेत गर्नुपर्ने सहमतिसमेत भएको थियो । उडान नहुँदा यात्रु मर्कामा परेका छन् । नेपाल एयरलाइन्सले दुई हप्तादेखि सिमकोटदेखि सुर्खेत र सुर्खेतदेखि सिमकोटको उडान रद्द गर्दै आएको छ । सोमबार भिआइपीहरूले नेपालगञ्जबाट जुम्लाको उडान राख्न लगाएपछि सिमकोट सुर्खेतको उडान रद्द भएको हो । सिमकोटबाट सुर्खेत जाने यात्रुहरूलाई टिकट वितरण गरिसकेको अवस्था भए पनि उडान रद्द भएको नेपाल एयरलाइन्स सिमकोट कार्यालयले जनाएको छ ।
पाल्पा जिल्लामा कृषि प्राविधिक विषयको अध्ययन गर्दै आउनुभएका सिमकोट गाउँपालिका-२ ठेहे गाउँका सन्देश बोहराले आफ्नो अन्तिम फाइनल परीक्षा दिन जानका लागि हप्ता दिनसम्म विभिन्न एयरलाइन्सका कार्यालयमा धाउँदा पनि टिकट नपाएको गुनासो पोख्नुभएको छ । यही कात्तिक २९ गते परीक्षा भए पनि टिकट नपाएको विद्यार्थी बोहराको गुनासो छ । सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच