काठमाडौं । बढ्दो जलवायु संकट सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा सोमबारबाट जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-२९) सुरु भएको छ । सम्मेलनका क्रममा आगामी दुई साता विश्वका करिब दुई सय देशका नेताहरूले जलवायु संकटको सामनाका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् । सम्मेलनले पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण उत्पन्न प्रतिकूल मौसमी घटनालाई विश्वव्यापी समाधानका लागि सहभागी देशलाई एकताबद्ध बनाउने राष्ट्रसंघले जनाएको छ ।
जलवायु परिवर्तनको प्रभावबाट जीवन रक्षा गर्न खर्बौं डलर आवश्यक रहेकाले कोप-२९ खासगरी आर्थिक मामलामा केन्द्रित हुने तथा देशहरूलाई हरित गृह ग्यास उत्सर्जन घटाउन आहृवान गर्ने जनाइएको छ । यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ । सम्मेलनमा एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्यबारे सम्मेलनमा छलफल हुने र यो सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ ।
सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वको औसतको तुलनामा तीन गुणा बढी छ । उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढेको छ । पर्वतीय क्षेत्रमा परेको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अन्य जलवायुजन्य जोखिम घटाउन विश्व समुदायलाई नेपाललगायत विकासोन्मुख मुलुकहरूले दबाब दिने तयारी छ । वन तथा वातावरण मन्त्रालयका अनुसार जलवायु वित्त, जलवायुजन्य हानि नोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताको ६ वटा विषयगत कार्यपत्र नेपालले तयार पारेको छ । गत वर्ष युएईको दुबईमा भएको कोप-२८ मा स्थापना गरिएको जलवायुजन्य हानि-नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिने तयारी भइरहेको छ ।
विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले अहिले विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन रहेको बताउनुभएको छ । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन सोमबार त्यहाँ पुग्नुभएका राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । बाकुस्थित हैदर अलिएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फरिद अहमदोले राष्ट्रपति पौडेललाई स्वागत गर्नुभएको थियो । स्वागत र त्यसपछि कुराकानीका दौरान राष्ट्रपति पौडेलले अहिले विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्नमहत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले जलवायु कोषमा प्रतिबद्धता प्रकट गरेको रकम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासोन्मुख देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलले मन्त्री अहमदोले अहिलेको सम्मेलनको मुख्य विषय नै त्यही भएको उल्लेख गर्दै विकासोन्मुख देशमाथि न्याय गरिनुपर्ने उल्लेख गरेको जानकारी दिनुभयो । उहाँले अजरवैजानमा नेपालका जस्ता पहाड नभए पनि हिमाल पग्लिएर पानीको स्रोत सुकेको जानकारी दिनुभएको थियो । कोप-२९ मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै बाकु पुग्नुभएको हो । सो भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ ।
देशहरूले उत्सर्जनमा कटौती र विश्वव्यापी आपूर्ति शृंखलामा थप उदार लगायतका व्यवस्था गर्न नसकेसम्म कुनै पनि अर्थव्यवस्था जी–२० सहित अनियन्त्रित विश्वव्यापी उष्णताबाट बाँच्न नसकिने तथा गम्भीर मुद्रास्फीति प्रभावबाट उम्कन नसक्ने राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार सम्मेलनले पछिल्लो समयमा विश्वव्यापी तापक्रम उच्च हुँदा बढ्दै गएका प्रतिकूल मौसमी घटनाहरूले कोप–२९ सम्बन्धित सबैलाई विश्वव्यापी मुद्दाको समाधानका लागि एकताबद्ध बनाउनेछ ।
जलवायु परिवर्तनको प्रभावबाट जीवन रक्षा गर्न खर्बौँ डलर आवश्यक रहेकाले कोप-२९ को मुख्य ध्यानाकर्षण आर्थिक मामलामा हुने तथा देशहरूलाई हरित गृह ग्यास उत्सर्जन घटाउन आहृवान गर्न रहने जनाइएको छ । यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ । एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्य यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ ।
‘युएनइपी उत्सर्जन ग्याप रिपोर्ट २०२४’ का अनुसार तापक्रम क्रमशः दुई डिग्री सेल्सियस तथा एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा कम राख्ने र सन् २०३० सम्म वार्षिक उत्सर्जन पाँच दशमलव पाँच प्रतिशत र नौ प्रतिशतले घटाउनु पर्नेछ । कोप-२९ का विषयवस्तुहरूले वित्त, ऊर्जा संक्रमण, मानव पुँजी, जैविक विविधता, खाद्य सुरक्षालगायत जलवायुका पक्षहरूलाई सम्बोधन गर्नेछन् । वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिटजस्ता उल्लेखनीय सत्रहरूले उच्चस्तरीय छलफललाई सहज बनाई युवा, स्वास्थ्य र सहरीकरणका संवादलाई बढावा दिनेछन् । प्रमुख लक्ष्यहरूमा नयाँ विश्वव्यापी जलवायु वित्त लक्ष्य स्थापना, अनुकूलन उपायहरू मापन गर्ने र एक दशमलव पाँच डिग्री सेल्सियस लक्ष्यसँग प्रतिबद्धताहरू प्राप्त गर्ने समावेश छन् । कोप-२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । यही कात्तिक २६ गतेबाट सुरु हुने सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।
राष्ट्रपति पौडेल र गुटेरसबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच संक्षिप्त भेट भएको छ । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उहाँहरूबीच भेट भएको हो । भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको छ । ‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’ उनीहरूबीच भएको संक्षिप्त कुराकानीलाई उद्यृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । महासचिव गुटेरसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेट्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच