✍️ डी.आर.राई
जिन्दगी यात्रा हो, जो विभिन्न चरण पार गर्दै किशोरावस्थाको रंगीन फुलबारीबाट सांसारिक यात्रातिर लम्किन्छ । यात्रारत जीवनले भविष्यको सुन्दर कल्पना गर्दै हरिया फाँटहरूमा फूलहरूजस्तै उम्रन्छ, हुर्कन्छ, फुल्छ, झर्छ, त्यो एउटा अनित्य चोलाको विलय हुनु हो । फूल र जीवन उस्तै भए पनि फूललाई आफ्नो सौन्दर्य र सुगन्ध थाहा हुँदैन तर मानवको चित्ताकर्षक गराउने फूललाई साहित्यले अनेकार्थमा व्याख्या विश्लेषण गरेको पाइन्छ । त्यस्तै गाउँबाट शहर हुँदै परदेशसम्म साहित्यको अनुराग बोकेर मनभरि फूलैफूल फुलाइरहने कथाकार म्यामराज राई त्यस्ता फूलबारीको होनहार माली हो । जसको कलमले धेरै सम्पादन गरिसकेका छन् भने ‘हाम्रो बाटो’ लघुकथासंग्रह र कवितासंग्रह ‘महक’ प्रकाशित गरेर साहित्यकार राईले नेपाली साहित्यमा इँटा थप्दै आफ्नो परिचयलाई फराकिलो पारेको छ । हालको नवीन कृति ‘बुन्छत’ विभिन्न प्रजातिका चौवन्नवटा फूलहरूले ढकमक्क ढाकेको एउटा सुन्दर बगैंचा हो ।
कथाकारले घरपरिवार, विसंगति, बेतिथि, प्रविधि, सामाजिक विषयवस्तुलाई मात्र उठाएको छैन । पर्यटनदेखि राजनीति, नेतामाथि असहमति, आक्रोश पनि पोखेको पाइन्छ । यसमा समावेश लघुकथाहरू सरल, अर्थपूर्ण र सन्देशमूलक छ ।
अहिलेको युग डिजिटलको युग । जसले छिटो, छरितो र क्षणभरमा धेरै काम गरेर समयको बचत गर्दछ । त्यस्तै नेपाली साहित्यको आख्यान विधामा पर्ने कथानकको छोटकरी रूप हो लघुकथा । जसले घुमाउरो बाटोतिर घुमाइरहने काम गर्दैन, तीव्र गतिमा हिँडाएर तुरुन्त गन्तव्यमा पु¥याइ मीठो र तिक्खर स्वाद दिने गर्छ । त्यो स्वाद ‘बुन्छत’ लघुकथासंग्रहबाट लिन सकिन्छ । हुन त कथाकार राईले कथावस्तुलाई संक्षेपीकरण गर्दा आफू पनि अनुशासनमा रहेर सिर्जना गरेको देखिन्छ । संग्रहको पहिलो शीर्षक नै अनुशासन रहेछ, जसले सिस्टम बारे जानकारी गराएको छ । नेपालीहरूले जापानमा देखाएको हर्कतलाई साहित्यमार्फत पोखेर देश-कालपरिस्थिति अनुसारको नियम, कानुन र त्यहाँको सिस्टमलाई देखाउन खोजिएको छ । जापानको बस स्टपमा नेपालीहरूले गरेको अनावश्यक संवाद र लाइन मिचेर आफ्नो हैसियत देखाएबाट लज्जाबोध गर्दै सिस्टममा चल्न सन्देश दिएको देखिन्छ ।
जीवनको अर्को महत्वपूर्ण पाटो संगत पनि हो । जसले कि त उचाइमा पुर्याउँछ, कि खाल्टोमा लगेर जाग्छ । माहुरीले फूलतिर पु¥याउँछ भने झिँगाको संगतले फोहोरको डँगुरतिर, भनेजस्तै ‘संगत’ शीर्षकको वीरेन पात्र अहिले मदिरा लिनेहरूको संगतमा परेर घरको न घाटको भएको कथाले दुव्र्यसनमा लागेकाहरूलाई सचेत गराएको पाइन्छ । त्यस्ता फजुल खर्च र साथीभाइको संगत अनुसारको फल पाउने कुरालाई जोड्दै कुलतबाट बच्न र बचत गर्न खुत्रुकेको काम आएको छ । मौकामा खुत्रुके फोड्नु र अनिकालमा बिउ जोगाउनु भनेजस्तै खुत्रुकेमा जम्मा भएको पैसाले बुढेसकालको जाडो भगाउन न्यानो कपडा किनेर बाँचुन्जेलको जीवनलाई सहज र आनन्द तुल्याउने कथावस्तुले ज्येष्ठ नागरिकहरूको आवाज बोकेर उभिएको छ । थोरै-थारै जोहो गर्ने बानीले वृद्घवृद्घाको मुहारमा खुशीयाली छाएको छ । अर्को ‘किनमेल’ शीर्षकले एउटा सामान्य परिवारभित्र भएको संवाद, सन्तानको उमेरसँगै उनीहरूको इच्छा, आकांक्षा र बढ्दो मागलाई धान्न नसक्दा अभिभावकले किड्नी नै बेच्नुपरेको मार्मिक कथाले पढ्दा-पढ्दै स्तब्ध बनाउँछ ।
लघुकथाकारले घरपरिवार, विसंगति, बेतिथि, प्रविधि र सामाजिक विषयवस्तुलाई मात्र उठाएको छैन । पर्यटनदेखि राजनीति र नेतामाथि असहमति र आक्रोश पनि पोखेको पाइन्छ । पर्यटक भनेको एकदिनको पाहुना हो, तर कथाकारले यस संग्रहभित्र झिल्के नेतालाई पर्यटक उम्मेद्वार बनाएको रहेछ । घुम्न आउने पर्यटकजस्तै चुनावको बेलामात्र जिल्ला, गाउँ पस्ने अनि सोझा जनतालाई प्रलोभनमा पारेर उम्मेदवार बन्ने र चुनाव जित्ने प्रथालाई रोकेर गाउँकै रैथाने उम्मेदवारलाई जिताएर एउटा परिवर्तनकारी दृष्टान्त दिएको छ । हामीलाई पाटीको नेता होइन जनताको असल नेता चाहिएको हो भन्दै काम नगर्ने र पैसामात्र कमाउने नेतालाई जनताले बहिष्कार गरेर हायलकायल पारेको देखिन्छ । कुनै दलभन्दा माथि उठेर नेता आफंै सुध्रिन बाध्य पारिएको विषय निक्कै प्रभावकारी लाग्छ । जनताको मताधिकारले साइजमा ल्याएको पार्टी र नेतालाई जनता नै सर्वेसर्वा हो भन्ने पाठ सिकाएको छ ।
सम्भावना नै सम्भावना भएको नेपालजस्तो मुलुक किन र कसरी समृद्घ हुन सक्दैन ? यस्ता प्रश्न लेखकका हुटहुटीहरू हुन् । कर्मचारी तन्त्र, भूकम्पविद्हरूको भविष्यवाणीले निम्त्याएको हानी नोक्सानीमात्र होइन, सरकार पनि रमिते र बकम्फुसे भएको नमिठो काहनी शासकमाथिको प्रहार हो । जसले राज्यसत्तालाई हल्लाउने एकप्रकारको पराकम्प ल्याए पनि खिलराज पात्रको छोराले सरकार नै नभएको महसुस गरिरहन्छ । सामाजिक सञ्जालको अनेक प्लेटफर्मबाट डलर कमाउन गीतसंगीतमा लागेकाहरू कतिसम्म तल गिर्छन् भन्ने ‘डलर’ शीर्षकमा गायक, संगीतकारहरूलाई आफ्नो स्थानमा बस्न, अपाच्य दृष्य, शब्दहरू प्रयोग नगर्न, नेपाली भाषाको कदर गर्न र मौलिक संस्कृतिमाथि खेलबाड नगर्न सुझाव दिएको कथाप्रसंग एउटा कथाकारको भावानुभूति मात्र नभएर सिंगो गीतसंगीत क्षेत्रमा लागेकालाई ध्यानाकर्षण गरेको बुभ्mन सकिन्छ । सञ्जालमा पक्ष र विपक्षबीच दोहोरी चलिरहँदा नियतवश प्रकाश पात्र आफैंले विवाद ल्याएर गीतसंगीतको माध्यमबाट डलर झार्दै भन्छ ‘हेर बुढी, ती गालीहरू सबै डलर हुन् ।’
एकतामा शक्ति, सुन्दैमा यो शक्तिशाली लाग्छ । कुनै पनि क्षेत्रमा एकता भएमा त्यहाँ ठूलो सफलता प्राप्त गर्न सकिन्छ । चाहे त्यो राज्य सञ्चालनमा होस् या परिवारभित्र, एकता नै उज्ज्वल भविष्यको जग हो । यस लघुकथासंग्रहले एकतामा कति शक्ति हुन्छ भन्ने रामबहादुरले आफ्नो छोराहरूलाई कमिलाको उदाहरण दिएर एकताबद्घ बनाउँदै अघि बढाएको कथांशले सकारात्मक सोचको विकास गर्दै परिवारलाई उज्यालोतिर डो¥याएको छ । लघुकथाकार आफू पनि लघुकथा पारखी भएर होला ‘बुन्छत’ संग्रहभित्रको पर्दाफास शिर्षक मार्फत आफ्नो कल्पनाशीलतालाई खुलेर बाहिर ल्याएको देखिन्छ । विश्व कृतिमान वा कुनै रकर्ड राख्न कसलाई इच्छा हुँदैन होला र ! त्यस्तो रेकर्ड राख्नमा लेखक आफैं पनि लालायित भएको हो कि भन्ने उहाँको लेखनकलाको प्रस्तुतिबाट अनुमान लगाउन सकिन्छ ।
लघुकथाकार राईको छोटा तर चोटिला कथाहरू पढ्दै जाँदा उठान गरेको विषयवस्तुले तुरुन्त उत्कर्षमा पुर्याउँछ र शीर्षक अनुसारको कथागत संरचनालाई निचोरेर त्यसको सारतत्व निकालेको आभास हुन्छ । संसद् भवनभित्रको गतिविधिमा लेखकलाई यति घृणा जागेको छ कि त्यस्ता नेताहरू स्वर्गमा पुगे भने त्यहाँ पनि चलखेल गरेर स्वर्गलाई अपवित्र बनाउने आशयलाई छताछुल्ल पारेको पाइन्छ । नेपालको फोहोरी राजनीति खेलले स्वर्गलाई पनि डुङ्डुङ गहनाउने बनाउँछ भन्ने जनगुनासोलाई ‘खोजी’ शीर्षकमा सर्लक्क उतारेर जननेताको खोजी गरेको देखिन्छ । कामदार र श्रमीकहरूको समान हक, अधिकार र ज्याला पाउनुपर्ने मुद्दालाई उठाएर मुख चलाउनुभन्दा हात चलाउने भनाइले लेखक कम्पनी व्यवस्थापनसम्बन्धी निक्कै जानकार देखिन्छ । मजदुरहरूको हितमा मार्गनिर्देश गर्ने विचार पोखेर पसिनाको कदर गर्दै ‘पारिश्रमिक’ मूल्य र मान्यतालाई जोड दिएको देखिन्छ ।
जीवन भोगाइ, विदेशको बसाइ, स्वदेशको चिन्ता, नेता र राजनीति, अभाव, पीडा, छलकपट, बाध्यता, आफ्नो, परदेशको तुलनाजस्ता आमनेपालीहरूको एजेण्डा बोकेको ‘बुन्छत’ले पाठकहरूलाई समाइरहन्छ ।
कोरोना महामारीले विश्वलाई आक्रान्त पारेको अवस्थामा हतास मनस्थितिले बाँचेकाहरूलाई आफू कसरी सुरक्षित हुने भन्ने नै थियो । कोरोनाको संशयले वैज्ञानिकदेखि वैद्यसम्म र झाँक्रीदेखि पण्डितसम्मलाई छोडेन । त्यस्तो भयावह अवस्थामा गुर्जो ओखतीले ठीक हु्न्छ भन्दै गर्दा विज्ञानलाई चुनौती दिने गुर्जो व्यापारी नै अस्पताल पुगेपछि कथाले होहल्ला र अपवाहमा नलाग्न कथाकारले सुझाएको त्यो समयको अत्यन्तै सान्दार्भिक कथा थियो । यस लघुकथासंग्रहमा विभिन्न शीर्षकले अनेक सन्देशहरू प्रवाह गरेको छ भने ट्राफिक नियम शिर्षकमा एउटा हुस्सु ड्राइभरको कथाप्रसंगले पढ्दै गर्दा मज्जाले हँसाउँछ । ‘बुन्छत’ शीर्षकबाट नै कृतिको नाम राखिएको छ । प्रायः हिमवत्खण्डमा रहने आदिमकालको सुम्निमा पारुहाङले आफ्ना सन्ततिलाई दुःख नहोस् भनी ध्यान तपस्यामार्फत किरात भूमिमा बाँसको उत्पति गरिदिए । र त्यै बाँसबाट निर्मित मानवको तीन टाउको आकृति बुन्छत सधैं साथमा राखेमा मनोकांक्षा पूरा हुने एतिहासिक किंवदन्ती बोकेको लघुकथाले राई संस्कार संस्कृतिलाई झल्काएको छ । अन्य शीर्षकमार्फत आस्था, विश्वास, आँसु, हाँसो, विरह, सुझाव, आक्रोशजस्ता कथा समेटेर ‘बुन्छत’ लघुकथासंग्रहलाई कथाकारले रसिलो र पठनीय बनाएको छ ।
वास्तवमा चौवन्नवटा लघुकथाहरू सरल, अर्थपूर्ण र सन्देशमूलक छ । छोटोमा मिठो विषयवस्तु उठाएर तुरुन्तै परिणाम पस्किनमा पारंगत लघुकथाकारले शीर्षक, पात्र र परिवेश अनुसार भाषाशैलीलाई प्रयोग गरेको पाइन्छ । कुनै लघुकथा दुई तीन अनुच्छेदमै टुंग्याएकोले होला विषयगत पात्रको प्रवृतिमा थोरै विचलन आएजस्तो लागे पनि लेखनकलाले लयमा फर्कानु लेखकको छुट्टै विशेषता र सुन्दर पक्ष हो ।
संग्रहभित्र जीवन भोगाइ, विदेशको बसाइ, स्वदेशको चिन्ता, नेता, राजनीति, अभाव र पीडा, छलकपट, बाध्यता, आफ्नो, परदेशको तुलनाजस्ता आमनेपालीहरूको एजेन्डा बोकेको ‘बुन्छत’ले पाठकहरूलाई समाइरहन्छ । हुन त ‘बुन्छत’ शब्द किरात सभ्यतामा राई समुदायको विविधार्थ लाग्ने बाँसको चोयोबाट निर्मित गहाना हो । महिला पुरुष जसले पनि सिउरेर लगाएमा शत्रु, रोगव्याधि र भूतप्रेत नलागने । ज्ञान, शक्ति र आत्मसुरक्षामा बल मिल्ने । चोखो मायाको प्रतीक अनि तीन चुला ढुंगाको साक्षी मानिन्छ भने पृथ्वी, वायु र आकाशलाई जोड्ने मिथकको रूपमा पनि बुन्छतलाई लिइन्छ । यस ग्रन्थभित्रका अनेक विषयवस्तुको त्यान्द्रोलाई गाँठो पारेर लघुकथाकार म्यामराज राईले निचोरी-निचोरी निकालेको रसयुक्त ‘बुन्छत’ जीवनोपयोगी र संग्रहणीय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच