काठमाडौं । आगामी मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि राजनीतिक दलहरू आन्तरिक रणनीतिमा व्यस्त छन् । दलहरूको उपनिर्वाचन केन्द्रित गतिविधिले चुनावी सरगर्मी बढाएको छ । २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनदेखि सुरु भएको नेपाली राजनीतिमा चुनावी तालमेलको सिलसिलाले यसपटकको स्थानीय तह उपचुनावमा पनि निरन्तरता पाउने देखिएको छ । एक्लाएक्लै चुनाव लड्ने घोषणा गरे पनि उपनिर्वाचनको मिति नजिकिँदै जाँदा दलहरू फेरि चुनावी तालमेलतिरै उन्मुख देखिएका छन् । सत्तारूढ कांग्रेस र एमालेले पूर्वी रुकुमको पुथा उत्तरगंगामा हुने उपनिर्वाचनमा तालमेलका लागि संवाद थालेका छन् ।
मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षका लागि निर्वाचन हुन लागेको छ । उपाध्यक्ष पदका लागि एमालेले केशकुमारी तुलाचन र वडा नम्बर २ को अध्यक्षमा जीवन रोकामगरलाई अघि सारेको छ । तुलाचन जिल्ला उपसचिव र रोकामगर जिल्ला कमिटी सदस्य हुनुहुन्छ । कांग्रेसले भने उम्मेदवार तय गरिसकेको छैन । दुई दलबीच तालमेल बारेमा छलफल जारी रहेकाले कांग्रेसको उम्मेदवार टुंगिन बाँकी रहेको केन्द्रीय सदस्य मानबहादुर नेपालीले जानकारी दिनुभएको छ । एक्लाएक्लै लड्दा कांग्रेस र एमालेका उम्मेदवारले जित्न कठिन रहेकाले तालमेलका लागि संवाद जारी रहेको दुवै दलका नेताहरूको भनाइ छ । गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित ११ वडामा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । एउटा वडामा कांग्रेस र एमालेबाट दुई वडाध्यक्ष निर्वाचित भएका थिए । माओवादी केन्द्रबाट उपाध्यक्ष निर्वाचित भूपेन्द्रा बुढाले चार हजार ५९ मत प्राप्त गर्नुभएको थियो । दोस्रो स्थानमा कांग्रेस उम्मेदवार कमलाकुमारी मल्ल र तेस्रो स्थानमा एमाले उम्मेदवार धर्म घर्ती बुढामगर रहनुभयो । कांग्रेस र एमाले बीचमा चुनावी तालमेल छलफलकै क्रममा रहेको पूर्वी रुकुमका एमाले इञ्चार्ज खेममान खड्काले जानकारी दिनुभयो । दुवै दलले उपाध्यक्षमा आफ्नो उम्मेदवार हुनुपर्ने दाबी गरेका छन् ।
चुनावको तयारी र पार्टी संगठनको काम लिएर दुवै दलका केन्द्रीय नेताहरू पूर्वी रुकुम पुगेका छन् । एमाले सचिव पद्मा अर्याल र कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पूर्वी रुकुमका नेताहरूसँग संवादमा रहेका दुवै दलले जानकारी दिएका छन् । गत भदौमा दुर्घटनामा परेर उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएका कारणले उपनिर्वाचन हुन लागेको हो ।
चुनावी तालमेलका लागि नेकपा एस माओवादीसँग छलफलमा
नेकपा एकीकृत समाजवादीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरूसँग स्थानीय तहको आवश्यकताअनुसार सहकार्य गर्ने भएको छ । समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरूबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो संगठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा सांगठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो । पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रूपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभएको छ । नेकपा माओवादी केन्द्रलगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ । त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुंगो लगाइनेछ ।
कीर्तिपुरको मेयरमा शिवशरण महर्जनलाई साझा उम्मेदवार बनाउन छलफल
नेकपा एकीकृत समाजवादीमा कीर्तिपुरको मेयरमा माओवादीलाई सघाउने गरी छलफल अघि बढेको छ । दुवै दलले आवश्यकताअनुसार सत्तारूढ दलबाहेक विपक्षी दलसँग सहकार्य गर्ने नीति अख्तियार गरेपछि छलफल चलेको हो । मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरको मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्षका लागि पनि चुनाव हुँदै छ । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठले माओवादीसँग छलफल चलिरहे पनि अहिलेसम्म कुरा नटुंगिएको जानकारी दिनुभयो । कीर्तिपुर-४ मा माओवादीले आफ्नो पार्टीलाई सहयोग गरे मेयरमा उम्मेदवारी नदिने उहाँको भनाइ छ । नेकपा एसले वडा ४ मा रीता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयर र वडा १ मा अझै टुंग्याएको छैन । नेकपा एसले मेयरमा सघाउन सर्त राखे पनि माओवादीले तीन पदको उम्मेदवार घोषणा गरिसकेको छ । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मेयरमा प्राडा. शिवशरण महर्जन, वडा नम्बर १ अध्यक्ष उम्मेदवार अष्टमान महर्जन र ४ अध्यक्ष उम्मेद्वार इञ्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने घोषणा गरिएको छ । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ । आगामी मंसिर १६ गते हुने जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
जनसभाको तयारी गर्न एमालेले बनायो संयोजन समिति
बागमती प्रदेश इञ्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्य समिति बनाइएको छ । समितिको सहसंयोजकमा कैलाश ढुंगेल, सदस्यहरू टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, समिक बडाल र जनक चौधरी छन् । उपचुनाव केन्द्रित गरेर एमालेले काठमाडौंमा मंसिर ७ गते सभा गर्दै छ ।
एमालेमै फर्किए रामवीर मानन्धर
पूर्वसांसद रामवीर मानन्धर नेकपा एमालेमै सक्रिय हुनुभएको छ । ०७९ को चुनावपछि छुट्टै उम्मेदवारी दिएका मानन्धर एमालेमा निष्क्रिय हुनुभएको थियो । तर, काठमाडौं महानगरको १६ नम्बर वडामा उपचुनाव हुँदै गर्दा मानन्धर फेरि एमालेमै सक्रिय हुनुभएको हो । एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले मानन्धर एमालेका कार्यक्रमहरूमा सक्रिय भएको जानकारी दिनुभएको छ । निरौलाले भन्नुभयो, ‘उहाँले पार्टी छोड्नुभएको होइन, थिएन । चुनावमा छुट्टै उम्मेदवारी दिनुभएपछि फरक परिस्थिति बनेको थियो । अहिले पार्टीमै सक्रिय हुनुभयो ।’ मानन्धरले पनि एमाले उम्मेदवार जिताउने गरी आफू सक्रिय भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच