काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्न आहृवान गर्नुभएको छ । अजरबैजानको बाकु शहरमा यही सोमबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) अन्तर्गत नेपालले बुधबार आयोजना गरेको ‘माउण्टेन इन पेरिल, एडेसिङ लस एण्ड ड्यामेज इन द हिमालय’ (पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन) शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै उहाँले सो आहृवान गर्नुभएको हो । ‘पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्नसक्ने र सामुद्रिक किनारमाथि उठ्नसक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्न म हार्दिक आहृवान गर्दछु’, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले मुख्य गरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताउनुभयो । ‘बढीभन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९औँ जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ’, उहाँले भन्नुभयो । जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनुपर्ने भएकाले यस कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो । ‘जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधान गर्न पनि सहज हुने हाम्रो विश्वास हो’ राष्ट्रपति पौडेलले भन्नुभयो ।
सबैलाई आ-आफ्नो समस्या ठूलो लाग्नु स्वाभाविकै हो, तर पछिल्लो दिनमा नेपालले भोगेको जलवायु समस्याको चुनौती निकै हृदयविदारक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । ‘तीन महिना अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो’, उहाँले भन्नुभयो । त्यस्तै, विगत तीन महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र ५०० भन्दा बढी मानिसले ज्यान गुमाउन पुगेको र खर्बभन्दा बढीको हानि नोक्सानी भएको जानकारी उहाँले दिनुभयो ।
यस प्रकारको हानि नोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबान तथा गत जुलाईमा क्यारिवियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुने उहाँको धारणा थियो । ‘भोलिका दिनमा यो मानवीय संकट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो’, राष्ट्रपति पौडेलले भन्नुभयो । साथै, राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकोले हानि नोक्सानीलाई जलवायु वित्त व्यवस्थापनका लागि नयाँ समष्टिगत संख्यात्मक लक्ष्यमा हानि नोक्सानीसमेत समेट्न विशेष आहृवान गर्नुभयो ।
अन्त्यमा उहाँले प्रकृतिको संरक्षणका लागि विश्वलाई अपिल गर्दै भन्नुभयो, ‘ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः। वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रहृम शान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।। ॐ शान्तिः शान्तिः शान्तिः।।’ कोप २९ सम्मेलनमा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन बुधबार राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको हो । सो अवसरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा किर्दीस्तानका राष्ट्रपतिलगायत विभिन्न देशका मन्त्री तथा प्रतिनिधिले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो । अजरबैजानको बाकु शहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) अन्तर्गत मंगलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुग्नु भएको हो ।
यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल’ (एनसिक्युजी) रहेको छ । सो भ्रमण दलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच