
-बाबुराम दाहाल
भक्तपुर । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीलाई डिजिटल सवारी चालक अनुमति पत्र (लाइसेन्स) नियमनका लागि ५०० वटा स्मार्ट फोन हस्तान्तरण गरेको छ। यो कदमले लाइसेन्स जाँच प्रक्रियालाई डिजिटल प्रविधिमा आधारित बनाउँदै ट्राफिक व्यवस्थापनलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्य राखेको छ।
शुक्रबार ललितपुरमा श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई स्मार्ट फोन हस्तान्तरण गर्नुभयाे। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार यो प्रारम्भिक चरण हो, र उपत्यकाका ट्राफिक प्रहरीलाई थप फोन सेटहरू क्रमिक रूपमा उपलब्ध गराइनेछ।
कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले प्रदेश भित्र अझै साढे ८ लाख लाइसेन्स वितरण हुन नसकेको विषय उठान गर्दै, डिजिटलाइजेशनले सेवाग्राहीहरूलाई सजिलो बनाएको स्पष्ट पार्नुभयो । उहाँले नागरिक एप्समार्फत लाइसेन्स नम्बर प्रविष्ट गरेपछि डिजिटल लाइसेन्स प्राप्त गर्न सकिने र यसलाई आधिकारिक मान्यता प्राप्त हुने व्यवस्था गरिएको जानकारी दिनुभयो।
प्रहरी महानिरीक्षक कुँवरले प्राप्त स्मार्ट फोनले लाइसेन्स जाँच प्रक्रियालाई तीव्रता दिने र इ-चलानको सेवाप्रवाहलाई प्रभावकारी बनाउनेमा विश्वास व्यक्त गर्नुभयाे। यसै क्रममा मुख्यमन्त्री लामाले फिजिकल लाइसेन्स बोकेर हिँड्नुपर्ने बाध्यता हटाएको बताउँदै, मोबाइलबाटै लाइसेन्सको जाँच र कारवाही गर्नसक्ने प्रणाली विकास भइसकेको उल्लेख गर्नुभयाे। साथै, उहाँले बागमती प्रदेश सरकारलाई थप प्रविधि मैत्री बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्वमन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश सभा सदस्य मधुसूदन पौडेल, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल, उपत्यका प्रहरी प्रमुख एआइजीपी किरण बज्राचार्य, र यातायात व्यवस्था कार्यालयका अन्य पदाधिकारीहरूको उपस्थिति थियो। यातायात व्यवस्था कार्यालय (लाइसेन्स) भक्तपुरका प्रमुख डण्डबहादुर बस्नेतले यो पहलले सेवाग्राही र ट्राफिक प्रहरी दुवैका लागि सवारी व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
यो कार्यक्रमले प्रदेश सरकारलाई डिजिटल प्रणालीतर्फ उन्मुख गराउँदै नागरिकको समय र स्रोतको बचत गर्न मद्दत गर्ने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने संकेत दिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच