बाँदर आतंकको कारण हरियोमै धान काटेर झार्छन् किसान

फाइल तस्बिर

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 9 mins

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा करिब ३ वर्षयता बाँदर आतंकले अन्नबालीमा नोक्सानी पुर्‍याएको छ । कृषकको जीवन धान्नका लागि लगाइएको अन्नबाली बाँदरले नष्ट गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।

आफूले लगाएको अन्नबाली दिनदिनै बाँदरले खाने र फाँडेर नष्ट गर्ने गर्नाले किसानहरु निराश बनेका छन् । गाउँघरमा अन्नबाली जोगाउन निकै मुस्किल भएको भीमफेदी-६ का कृष्णबहादुर मगरले बताउनुभयो  । मकै, धान, कोदो, फापर, गहुँ, तोरीलगायत तरकारीमा बाँदर लाग्न थालेपछि किसानहरु पनि निराश हुनुपरेको उहाँले बताउनुभयाे । 'खेतबारिमा केही राख्न दिँदैन,’ मगरले भन्नुभयो  ।

दिनरात नभनी दुःख गरेर लगाएको बाली बाँदरले सत्यानास गरिदिँदा अन्नबाली लगाउन मन नलागेको उहाँले बताउनुभयाे । मरिमरी काम गर्‍यो, बाली भित्र्याउने बेलामा बाँदरले सक्काउला कि भनेर बारिमा कुर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो  । 'अलि अगाडि वर्षमा यहाँ खासै बाँदर थिएनन् । तर, पछि फाट्टफुट्ट देखिन थाले । हाल त थेगिनसक्ने गरी आउन थालेका छन्,’ उहाँले भन्नुभयो  'हालै धान भित्र्याउने बेलामा पनि बाँदरले निकै नै दुःख दिए ।' धान काट्ने बेला नभइ बाँदर आतंकले हरियोमै धान काटेर झर्नुपरेको उहाँले बताउनुभयो  । 'खेतमा धान फल्नमात्र थालेको थियो । बाँदर त खेतभरि लडिबुडी गर्ने, धान खाने, ढलाउने गर्नाले यसपालि चाँडै धान काटेर भित्र्याइयो,’ उहाँले भन्नुभयो  ।

सयौंको संख्यामा बाँदरको हुल आएर खेतीपाती नष्ट गरिदिने र घरपरिवारलाई समेत तर्साउनेमात्र नभइ घरभित्र पसेर चुलोमा राखेको भातसमेत खाइदिने गरेपछि स्थानीय धमाधम बसाईं सारेर हिँडे । गाउँ रित्तो हुन थालेपछि बाँदरले झन् कब्जा जमाएर बाली सखाप बनाएको उहाँको गुनासो छ । बाँदरको आतंककै कारण खेती छाडेर केहीले भैंसी पालेको उहाँले बताउनु भयाे । 'खेतमा लगाएको मकै, गहुँ र फलफुल बाँदरले सखाप बनायो, खानै पाइएन,’ उहाँले भन्नुभयाे, 'दुःख गरेर पनि केही भित्र्याउन नपाएपछि छोराहरु पनि निराश थिए ।' अरु कामधन्धा छाडेर बाँदरबाट बाली जोगाउन पालैपालो चौकीदारी बस्न जानु आफूहरुको बाध्यता सुनाउनुभयो  । 'हाल त बाँदर घरघरमै छिर्न लागेका छन् । घर रुघ्न छाडेर कोही बाहिर जान पाउँदैनन् । नत्र भित्रै पसेर उत्पात गरिहाल्छ,’ उहाँले भन्नुभयो  ।

गाउँमा बस्ती घट्दै गएका कारण बाँदर अलि बढ्न थालेको हो कि भन्ने अनुमान गरिएको पालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । केही समयअघि गाउँबस्ती हराभरा थिए । मानिसको चाप थियो । तर, हाल मानिसहरु सहर पस्न थालेपछि र बनजंगलमा खानेकुरा अभाव भएपछि बाँदर गाउँबस्ती पस्न थालेको उहाँले बताउनुभयो  । 'हिजोआज गाउँबस्ती खाली हुँदैछन् । बाँदरको संख्या बढ्दै गएको छ र बालीनाली बचाउन मुस्किल भएको छ,’ पालिका अध्यक्ष लामाले भन्नुभयो  ।

बाँदर आतंक हाललाई राज्यकै समस्या भएको त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस प्रमुख डा. शिवकुमार मानजनले बताउनुभयो  । बनजंगलमा खानेकुरा अभाव भएपछि बाँदरहरु बस्तीमा छिर्ने गरेको उहाँले बताउनुभयो । 'गाउँका युवा सहर र कोही विदेश जान थाले । गाउँघरमा बालीमा बाँदरले हैरान पारेका छन्,’ क्याम्पस प्रमुख मानजनले भन्नुभयो । मन्दिरका बाँदरलाई जाल हालेर अलि टाढा बस्तीमा लगेर छाड्नाले पनि बाँदर बढेको हो कि भन्ने लागेको उहाँले बताउनुभयो  । स्थानीयको मुख्य पेशा कृषि भएकाले यसप्रति राज्यले पनि चासो राख्नु आवश्यक भएको उहाँले बताउनुभयो । कृषकले लगाएको बाली बाँदरले नष्ट गर्नु दुःखद् भएको उहाँ बताउनुहुन्छ ।
बाँदरदेखि आजित बनेका स्थानीयबासिन्दाले प्रदेशतर्फ आँखा ताकिरहेका बेला प्रदेश सरकारले भने कुनै योजना ल्याउन सकेको छैन । एक अध्ययनले बाँदर धार्मिक प्राणी पनि भएकाले तत्कालका लागि रोकथामको कुनै उपाय सुझाउन सकेको छैन । बाँदर मान्छेपछिको बुद्धिजीवी भनिन्छ । त्यसलाई बन्ध्याकरण गर्ने, समाएर नियन्त्रण गर्ने भन्ने उपायले नियन्त्रण सक्सेस हुँदैन भनेर प्रतिवेदनले भनेको छ । बाँदर आतंक संख्या बढेको हो वा अन्य कारण हो भन्ने विषयमा भने अध्ययन हुन बाँकी छ ।

बाँदर मार्नका लागि कानुनी अवरोध भएको भन्दै स्थानीयले कानुन सुधारको माग गरेका छन् । नेपालभरि नै बाँदर आतंकका कारण किसान मर्कामा परेका छन् । फसल जति बाँदरले खाइदिने हुनाले जमीन बाँझो राख्ने प्रवृत्तिसमेत देखापरेको छ । त्यसैले बाँदर नियन्त्रणका लागि बाँदर निर्यात गर्नेदेखि बाँदर धपाउन कर्मचारी राख्नेसम्मका कुरा आएका छन् । तर, यी कुनै उपायले काम गर्ने देखिदैन ।

बाँदर नियन्त्रणबारे संघीय संसद्‌देखि स्थानीय तहसम्म कुरा उठेको छ । यसको नियन्त्रणको कुरासँगै जोडिएर आउने कुरा हो, कसरी हाल बाँदर आतंक बढ्यो त ? यसमा बाँदरविज्ञका अध्ययनले देखाउने विषय विशेष होला तर सामान्य अनुभवका आधारमा हेर्दा भने नेपालको बस्ती र खेतीपातीमा आएको परिवर्तन नै बाँदर आतंकको कारण हो । बाँदर वनजंगलमा नै रमाउने जनावर हो । विगतमा वनमा विभिन्न किसिमका फलफुलका रुख हुन्थे । वरलगायत फल लाग्ने रुख यत्रतत्र पाइन्थे । अर्थात्, बाँदरलाई आहार खोजी गर्न वनजंगल नै पर्याप्त थियो ।

तर, हाल गाउँबस्ती खाली हुन छाडेसँगै धेरै खेतबारि जंगलमा परिणत हुन थालेको छ । यस्तो ठाउ“मा फल लाग्ने बोट छैनन् । त्यस्तै गाउँबेशी सबैतिर खेतीपाती हुन्थ्यो । ती ठाउँमा फाट्टफुट्ट बाँदर आउँथे । तिनलाई त्यहींका आहाराले पुग्थ्यो । तर, हाल यसरी खेती हुन छाडेको छ । कि त गाउँमा बस्ती बाक्लिएको छ, कि त बस्ती बेंशीतिर बाक्लिएको छ । यस्तोमा बाँदरले आहार खोजीका लागि जहाँ बस्ती छ, त्यहाँ जानु स्वभाविक हो । त्यसैले बाँदर आतंक कम गर्ने हो भने पारिस्थितिक प्रणाली जोगाउन र त्यसअनुसार अनुकूलन हुन आवश्यक देखिने विज्ञ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?