धरहराको सःशुल्क आरोहण सुरु भएको छ । यो ऐतिहासिक महत्व बोकेको स्तम्भ विगतमा महाभूकम्पका कारण भत्किने र त्यसको जीर्णोद्धार गर्ने क्रम चल्यो । २०७२ को भूकम्पपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा यो धरहरा निर्माण भएको थियो । पहिलेको धरहराको जीर्णोद्धार नभएर यो नितान्त नयाँ धरहरा बनेको छ । ओलीले त्यसबेला यसको उद्घाटन पनि गर्नुभएको थियो तर निर्माण सम्पन्न नभई आफ्ना पालामा निर्माण सुरु भएको र आफ्नै पालामा सम्पन्न भएको देखाउन हतारमा उद्घाटन भएको भनेर सांसदहरूबाट उहाँको उक्त कदमको आलोचनासमेत भएको थियो र उहाँले भने जसले त्यसरी आलोचना गर्नुहुने उहाँहरूलाई ‘धरहरा चढ्न जानुस्’ भनेर चुनौती दिनुभएको थियो ।
यो धरहरा नै होइन भनेर पनि यसको आलोचना भइरहेको छ । मूल रूपमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले यसलाई ‘सेतो टावर’का रूपमा चित्रण गर्ने प्रयास गरिरहनुभएको छ । आधुनिक निर्माण सामग्री छड, सिमेन्टहरू प्रयोग गरेर बनाइएको कारणले उहाँले यसलाई यसो भन्नुभएको हो । उहाँले आफैं इन्जिनियर समेत भएकाले यस्तो टावर धरहरा नहुने र धरहरा परम्परागत रूपमै निर्माण गरिनुपथ्र्यो भनेर आफ्नो धारणा राख्दै आउनुभएको हो । उहाँको र नेकपा एमालेको योलगायत अन्य सवालमा मतमतान्तर भइरहेको छ । धरहरा कसको मातहतमा रहने भन्ने विषयमा पनि मतमतान्तर छ ।
तर, हालैको मन्त्रिपरिषद्को निर्णयानुसार अबदेखि धरहरा चढ्नका लागि शुल्क निर्धारण गरिएकाले यसलार्ई महानगरको मातहतमा राख्न सरकार सहमत नभएको अवस्था छ । केही समयअघि धरहरा चढ्न केही समय निःशुल्क पाउने व्यवस्था भएको थियो, अब भने धरहरा चढ्न शुल्क निर्धारण भएको छ । उक्त हाताभित्र प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ भने चढ्नका लागि नेपालीलाई दुई सय, सार्क मुलुकका नागरिकहरूका लागि पाँच सय र अन्य देशका नागरिकहरूका लागि एक हजार रुपैयाँ तोकिएको छ । महानगरले निःशुल्क पार्किङको व्यवस्था गरेको भए पनि हाल पार्किङको पनि शुल्क तोकिएको छ । यसबाट महानगरपालिकाले जे जस्ता व्यवस्था गरेको थियो, सरकारले ती सबै व्यवस्था उल्टाएको जस्तो देखिन्छ ।
तैपनि धरहरा चढ्न जाने कार्य नितान्त मनोरञ्जनात्मक र शोखको विषय हो । जनताको अति आवश्यक कार्य तथा दैनिक उपभोग्य वस्तुको खरिद जस्तो होइन । पर्यटकीय कार्यका लागि शुल्क तोक्नु, त्यसबाट सरकारको कोष वृद्धि गर्नुलाई अन्यथा भन्न उचित हुँदैन । पार्किङको हकमा भने त्यसलाई निःशुल्क वा न्यूनतम शुल्कमात्र कायम गर्न सकेको भए उचित हुन्थ्यो । यस क्षेत्रमा पार्किङको सुविधा नपाएर मानिस समस्यामा पर्ने गरेका छन् । त्यस्तो व्यवस्था भएको भए सुविधा पुग्न सक्नेथियो । २०७२ सालको महाभूकम्पपछि ढलेको पुरानो धराहराका ठाउँमा बनाइएको नयाँ धरहरा सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका र स्थानीय विकास मन्त्रालयले अब धरहरा चढ्न आमनागरिक तथा बाहृय पर्यटकहरूका लागि खुला गर्ने निर्णय गरेको हो ।
अढाई वर्ष पहिले नै उद्घाटन भएर पनि सञ्चालनमा आउन नसकिरहेको धरहरा पूर्णरूपमा सञ्चालनमा आउने निर्णय भएको हो । नेपालको धरहरा अनेकौं प्रतीकका रूपमा रहँदै आएको थियो । यसलाई मानक बनाएर धेरै लोकगीतहरू रचना हुनुका साथै त्यहीँ गएर कला सिर्जना गर्ने, गीत गाउने तथा सिनेमाहरूको छायांकन गर्ने कामसमेत भएका थिए । यो एउटा मानक बनेर रहेको थियो । नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाले बनाएको उक्त धरहरालाई ‘भीमसेन स्तम्भ’ पनि भनिन्थ्यो । त्यस समयमा र त्यसपछि राणा शासनकालमा समेत कुनै अत्यन्त जरुरी सरकारी सूचना संप्रेषण गर्नुपर्दा धरहराको बारदलीबाट बिगुल बजाउने गरिन्थ्यो ।
तत्कालीन काठमाडौं उपत्यका शान्त र पातलो बस्ती भएकाले त्यहाँबाट बजाएको बिगुलको आवाज सबैतिर सुनिन्थ्यो र मध्यरात भए पनि सरकारी कर्मचारीहरूले धरहरा पुग्नै पर्दथ्यो । यसरी मानक जिम्मेवारीमा रहेको भीमसेन स्तम्भ विसं १९९० सालको महाभूकम्पमा भत्किएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले त्यसको पुनर्निर्माण गराएर जस्ताको तस्तै बनाएका थिए । नौ तला भएको मुगल शैलीको सो धरहराको माथि गजुर राखिएको थियो । पटक-पटक भूकम्पको चपेटाकमा परेको सुनधारस्थित उक्त धरहरा विसं २०७२ साल वैशाख १२ गते दिनको १२ बजे आएको महाभूकम्पको चपेटामा पर्न गयो । पहिलो लता बाँकी रहेर अरू पूर्णरूपमा ढलेको धरहरा ढल्दा धेरै मानवीय क्षतिसमेत भएको थियो ।
शनिबार बिदाको दिन परेको र दिउँसोको समय भएकाले धेरै मानिस आरोहरणमा गएका थिए । त्यसो हुँदा मानवीय क्षति हुने नै भयो । लामो समयसम्म कसरी बनाउने भन्ने विषयमा छलफल र अलमल भएको थियो । आधुनिक निर्माण सामग्री प्रयोग भएका कारण बालेनले यसलाई धरहरा होइन भन्दै आएका भए पनि अब यसको निर्माण भइसकेको छ । निर्माण भइसकेको संरचनाको सदुपयोग गरी यसबाट सकेसम्म बढी आर्थिक तथा पर्यटकीय लाभ लिनु उचित हुनेछ । यो धरहरा हो वा होइन भन्नेतिरको बहस अब निरर्थक हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच