
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएका छन् । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कुल संख्या यकिन भइसकेको छैन । परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जाँदै हुनुहुन्छ । उहाँ शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ ।
चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बिआरआई, नेपाल-चीनबीच भएका यस अगाडिका सम्झौता र कार्यान्वयन र चलिरहेका परियोजना, दुई देशबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । यस्तै, प्रधानमन्त्री ओलीको चीन भ्रमणको अर्को एजेण्डा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहाको प्रस्ताव रहेको छ । यस अगाडि गत भदौमा अर्थ मन्त्रालयले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनमार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरिसकेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ ऋण लिने सम्झौता गरेको थियो । विमानस्थल अहिलेसम्म सञ्चालन हुन नसकेपछि नेपालले सो ऋणलाई अनुदानमा परिणत गर्न पहल गरेको छ ।
अहिलेसम्म बिआरआईअन्तर्गत ऋण लिन हुने र नहुने मत विभाजित रहेको छ । बिआरआईमा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको हो । सन् २०१७ मे १२ मा नेपाल र चीनबिच बिआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर भएको थियो । कांग्रेस सरकारमा रहँदा त्यसबखत सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
तत्कालीन सरकारका परराष्ट्रमन्त्री प्रकाशशरण महतले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । यता, बिआरआई ऋणमा लिन नसकिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक अभिव्यक्ति दिइरहनु भएको छ । ओलीले शुक्रबार पार्टीले राजधानी काठमाडौंको दरबारमार्गमा आयोजना गरेको जागरण सभामा भन्नुभएको थियो, ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थिति र अवस्था पनि छैन । हामीले उत्पादन बढाउनुपर्छ ।’ ‘१५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच १८ मंसिरमा भेटवार्ता हुने भएको छ । बेइजिङ पुगेको भोलिपल्टै चिनियाँ राष्ट्रपतिलगायत अन्य उच्च चिनियाँ अधिकारीहरूसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, १७ मंसिरमा चीन प्रस्थान गर्ने प्रधानमन्त्री ओली चार दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्कनुहुने छ ।
यसअघि चीनले १७-२१ मंसिरका लागि भ्रमण मिति प्रस्ताव गरे पनि दुवै पक्षको गृहकार्यपछि १७-२० मंसिरसम्म भ्रमण हुने टुंगो लागेको हो । ‘बेइजिङ पुगेको भोलिपल्ट १८ मंसिरमा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चस्तरीय भेटवार्ताहरू हुनेछन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘१९ मंसिरका दिन नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ ।’
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी तीव्र रूपमा चलिरहे पनि भ्रमणको आधिकारिक घोषणा भने भइसकेको छैन । सम्भवतः १४ मंसिरमा बेइजिङ र काठमाडौंबाट एकसाथ भ्रमणको घोषणा हुनेछ । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्स चार्टर्ड गरेर बेइजिङ जाने र त्यसैमा फर्किने गरी भ्रमणको तयारी भइरहेको छ ।
बिआरआई परियोजना अनुदानमा लिन कांग्रेसको सुझाव
सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ ‘बिआरआई’बारे प्रधानमन्त्रीलाई थप सन्देश पठाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सभापति, उपसभापति र महामन्त्री तथा वर्तमान परराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखक तथा पूर्व-परराष्ट्रमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महत सम्मिलित बैठकले बिआरआई सहयोग लिने तर, ऋण नलिने भनेर सन्देश पठाएको हो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत हुँदा नै एमओयुमा हस्ताक्षर भएको परियोजना लिने विषयमा कांग्रेसमा द्विविधा नरहेको भन्दै देशलाई ऋणको भार थप्ने अवस्था भने नरहेको प्रवक्ता महतले बताउनुभयो । सुरुङमार्ग, नाका जोड्ने सडकसहितका परियोजना त्यसमा रहेको भन्दै ती आयोजनालाई ‘ग्राण्ड फाइनान्सिङ’, टेक्निकल सपोर्टसहितका सहयोग लिने अवस्था रहेको उहाँले बताउनुभयो । सत्ता साझेदार कांग्रेसले सुझाव दिए पनि सरकारका तर्फबाट निर्णयको अधिकार भने प्रधानमन्त्रीमा रहेको बताएको छ ।
चिनियाँ उच्चस्तरीय टोली काठमाडौंमा
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहेका बेला चीनको एक उच्चस्तरीय टोली भने काठमाडौं आइपुगेको छ । चीनको स्वशासित क्षेत्र सिजाङ प्रान्तस्थित विदेश मामिला कार्यालयका उपमहानिर्देशक लिउ लिनको नेतृत्वमा ६ सदस्यीय टोली मंगलबार काठमाडौं आइपुगेको हो । चाइना एयरबाट आएको उक्त टोलीलाई नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । शनिबारसम्म काठमाडौंमा रहने उक्त टोलीले केही सरकारी अधिकारी र राजनीति दलका शीर्ष नेताहरूसँग छलफल गर्नेछ । उनीहरूले बुधबारदेखि दलका नेताहरूसँगको छलफल सुरु गरिसकेका छन् ।
स्रोतका अनुसार बिआरआई परियोजना कार्यान्वयनका विषयलाई लिएर सत्तारूढ दलहरूबीच नै विवाद भइरहेका बेला चीनबाट गुपचुप रूपमा आएको उच्च स्तरीय टोलीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । बिआरआई ऋण कि अनुदानमा लिने विषयमा विवाद भइरहेको छ । प्रधानमन्त्री ओलीले सहुलियतपूर्ण ऋणमै भए पनि बिआरआई कार्यान्वयन गर्न मनस्थिति बनाए पनि नेपाली कांग्रेसको विरोधकै कारण प्रधानमन्त्रीसमेत त्यसबाट पछि हट्नुभएको छ र प्रधानमन्त्री ओलीले ऋणमा बिआरआई स्वीकार गर्न नसकिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसक्नु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बिआरआईका परियोजनाहरू अनुदानमा लिने गरी गृहकार्य थाल्न सरकारलाई सुझाव दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच