हालका दिनमा काठमाडौं उपत्यकामा अस्वस्थकर वायु फैलिएको छ । यसको प्रभावले अनेकौं प्रकारका असर भोग्न उपत्यकावासी बाध्य बन्नुपरेको छ । हुन त यस्तो बाध्यता आजको मात्र होइन धेरै पहिलेदेखि यहाँका बासिन्दाले भोग्दै आएका छन् । अहिलेभन्दा चार-पाँच दशकअगाडिको उपत्यकाको स्वच्छ वायु, वातावरण अहिले स्मृतिको गर्तमा हराइसकेको छ । दिनप्रतिदिनको बढ्दै गएको जनघनत्वले स्वच्छ वायुलाई विस्थापित गर्दै लगेको छ । जति धेरै जनसंख्या बढेर त्यसको घनत्वसमेत बढ्छ त्यति नै मात्रामा प्रदूषण बढ्दै जान्छ । मानिसको संख्या बढेपछि उत्सर्जन हुने फोहोरमैलाको मात्रा बढ्नु स्वाभाविक हो । जमिनको फैलावट बढ्ने होइन तर त्यहाँ बस्ने मानिसको संख्या बढेपछि भौगोलिक बनोट बिथोलिन जान्छ ।
घर, अन्य यस्तै संरचना बढेसँगै आवश्यक पूर्वाधारको कमी हुनजान्छ । खानेपानीको अभावको स्थिति सिर्जना हुँदै जान्छ । सरकारले पर्याप्त खानेपानी आपूर्ति गर्न नसक्नु एकातिर छँदैछ भने अर्कातिर उत्सर्जन भएको फोहोरमैलाको व्यवस्थापनको चुनौती दिनप्रतिदिन बढ्दै जान्छ । जमिनमुनिको पानीको सतह घट्दै जानाले हालका दिनहरूको बोरिङ गर्दा पानी आउँदैन । मानिसको संख्या बढेसँगै फोहोर बढ्ने र त्यसबाट फोहोरजन्य अनेकौं रोग फैलिनसक्ने सम्भावना बढी हुन्छ । यातायातका साधनहरूको संख्या बढ्नुका साथै त्यसबाट धुलो-धुवाँ बढ्छ । मानिसको संख्या बढेसँगै फोहोरको मात्रा बढ्ने, सँगसँगै लामखेट्टेको संख्या बढ्न गई त्यसबाट हुने गरेका रोगको संक्रमण बढ्छ ।
अन्यत्रभन्दा काठमाडौं उपत्यकामै प्रदूषण बढ्नुमा पहिलो जनघनत्व नै हो । बाहिर डाँडाकाँडा गाउँबस्तीतिर यहाँको भन्दा कम प्रदूषण हुनेगरेको पाइन्छ । पातलो बस्ती वनजंगलको निकटता, सफा पानी र प्राकृतिक वातावरणले बाहिरबाट उडेर जाने प्रदूषित हावा पनि त्यही वनका बोटबिरुवाबाट छानिएर सफा हुने मौका मिल्ने भएकाले गाउँबस्ती तुलनात्मक रूपमा प्रदूषण कम भएको अवस्थामा पाइन्छ । काठमाडौं उपत्यकामा भने बाक्लो बस्ती, एकआपसमा जोडिएका घरआवास, बजार तथा सडकमा मानिसहरूको खचाखच भिडले प्रदूषणको मार पर्ने गरेको छ । जल, वायु, ध्वनि जस्ता सबै प्रकारका प्रदूषणको मार बाक्लो शहरी क्षेत्रमै पर्ने गरेको छ ।
भारतको राजस्थान लगायताको बालुवा, माटो मिसिएको हावा हाम्रोमा समेत आइपुग्ने गरेको छ । केही वर्षपहिले हाम्रो आकाशमा समेत फैलिएर प्रदूषणयुक्त पानी परेको थियो । वर्षादको पानी बगुवा पानीभन्दा स्वच्छ हुनुपर्नेमा हावामा फैलिएको माटोका कारण धमिलो वर्षा भएको थियो । पानीमा भिजेका मानिसहरू पहलो छ्यापे जस्ता देखिएका थिए भने सुकाउन फिँजाएका लुगा भिज्दा हिलोमा लट्पट्याएका जस्ता बनेका थिए । मानिसहरूको अधिक संख्या काठमाडौं उपत्यकाभित्रका कुनै नदी स्वच्छ छैनन् सबै प्रदूषित भइसकेका छन् । नदीमा फोहोरमैला विस्थापित गर्नाले र ढल मिसाउनाले यसो हुनगएको हो । बागमती नदीको पवित्रता कायम राख्ने उद्देश्यले स्थापना गरिएको परियोजनाले उद्देश्यअनुरूवको सफलता प्राप्त गर्न सकेन ।
जल प्रदूषणका कारण त्यसमा खेल्ने र त्यस्तो पानी प्रयोग गर्नेलाई चर्मरोग लाग्नसक्ने भएकाले उपत्यकाका कुनै पनि नदीमा नुहाउन सकिने अवस्था छैन । यसैगरी वायु प्रदूषणको नकारात्मक प्रभावले उपत्यकावासी समस्यामा परिरहेका छन् भने ध्वनि प्रदूषणको जोखिम उत्तिकै छ । वायु प्रदूषण हुनाले अम्ल वर्षा हुने, त्यस्तो वर्षाको पानीबाट माटो दोमट, चिम्टिया बन्ने, उब्जनी घट्ने, खेतीबालीमा रासायनिक परिवर्तन भई मानिस तथा जीवजन्तु र वनस्पतिमा हानी पुग्ने जस्ता समस्या हुने गर्दछन् । हालका दिनमा काठमाडौं उपत्यका वायु प्रदूषणको मारमा नराम्ररी परिरहेको छ । बाक्लो तुवाँलो लाग्ने गरेकाले घामको प्रकाश मधुरो छ ।
भारत तथा पाकिस्तानबाट आएको प्रदूषित वायु नै हो भन्ने वातावरणविज्ञहरूको निष्कर्ष छ । प्रदूषित वायुले मानिसको स्वस्थ्यमा समस्या आउने तथा सर्वत्र प्रदूषणका असर देखापर्ने गर्छन् । यसले गर्दा छातीका समस्या, श्वासप्रश्वासका समस्या, ब्रोङकाइटिस, खोकी, निमोनिया, दम आदि हुने गर्छन् । आकाशलाई जमिनमा जस्तो नियन्त्रण गर्न सकिँदैन । अन्यत्रबाट फैलिएर आउने वायुमण्डलको धुवाँ र धुलोलाई नियन्त्रण गरेर उतै रोक्न सम्भव छैन । छिमेकी देश भारत–पाकिस्तानदेखिको प्रदूषित हावा हाम्रो आकाशसम्म आइपुगेर वायुमण्डलसमेत प्रदूषित बनइदिने गर्दछ । बाहिरबाट आउने वायु प्रदूषित हुने र यहाँ अनेकौं प्रदूषण फैलाउने काम गर्नाले ‘साप्रोमाथि पिँडो थप’को उखान चरितार्थ हुनेगर्छ ।
हामी कसैले पनि वातावरण बिगार्नु भएन । पानीका मुहान सफा राख्ने प्रयास गर्नुपर्छ । हावा प्रदूषित हुनेगरी कार्बन उत्सर्जन हुने खालका काम गर्नुहुँदैन । प्लष्टिक डढाउने काम गर्नु हुँदैन । ध्वनि प्रदूषण रोक्न र कम गर्न, चर्को आवज आउने यन्त्रमाथि रोक लगाउने वा नियन्त्रण गर्ने काम गर्नुपर्छ । चर्को आवाजमा गाडीहरूको हर्न बजाउने कार्यलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता छ । कुनै समय ट्राफिक प्रहरीले हर्न बजाउन नपाइने व्यवस्था गरेको भए पनि चालकहरूले हर्न बजाउने गर्न थालेका र हालसम्म आइपुग्दा पुनः पहिलेकै अवस्था कायम भइसकेको छ । यस विषयमा नियन्त्रण हुनसके समस्या कम हुन सक्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच