वर्तमान समयका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रक्षात्मक स्थितिमा पुगेको छ । रास्वपाले केही समयदेखि एउटा अनौठो खालको राजनीतिक अभ्यास गर्दै आएको छ । वास्तवमा यसलाई त राजनीतिक अभ्यास भन्नुभन्दा पनि गैरराजनीतिक अभ्यास गरेको भन्दा फरक नपर्ला । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई सहकारीको पैसा अपचलन गरेको अभियोग लागेपछि पार्टीका भएभरका सबै नेता कार्यकर्ता कास्कीको पोखरा केन्द्रित भएर विरोध प्रदर्शनमा उत्रिए ।
यसरी भ्रष्टाचारको मामलामा आफ्नो पार्टीका नेताहरू पक्राउ पर्दा अन्य पार्टीहरूले विरोध प्रदर्शन गरेको इतिहास छैन । बरू आपूmले महान् नेता भन्दै, मान्दै आएको व्यक्ति भ्रष्टाचार, अनियमितता र आपराधिक कार्यमा संलग्न भएकाले नेता कार्यकर्ता लाजले छट्पटिएर कुना पस्ने गरेको देखिँदै आएको थियो ।
इतिहास खोतलेर हेर्ने हो भने निकै प्रतिभाशाली देखिएका र पार्टीलाई नेतृत्व देलान् भनेर अपेक्षा गरिएका नेताहरू समेत भ्रष्टाचारमा मुछिएका कारण इतिहासको गर्भमै हराएका उदाहरण भने एक होइन अनेक छन् । एकताका पार्टी र सरकारमा समेत नेतृत्वदायी भूमिका खेल्दै आएका ती व्यक्तिमध्ये कोही हाल दिवंगत भइसकेका छन् भने कोही अझै जेलमा छन्, कोही मुद्दा खेपिरहेका छन् । धेरै पछाडि फर्किनु पर्दैन केही समयकै अन्तराल अध्ययन गर्ने हो भने बालुवाटार जग्गा प्रकरणका अभियोगी र नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेर पक्राउ परेकामध्ये केही तारिखमा छुटेका छन् त केही जेलमै ।
जेलमा रहेकाहरूको सन्दर्भ फरक हो भन्ने हो भने पनि बाहिर आएकाहरूको चाहिँ केही चर्चा हुनुपर्ने थियो तर त्यसो हुनसकेको छैन । ती कहाँ छन्, कसरी बसेका छन् भनेर सञ्चारमाध्यममा समेत कुनै चर्चा हुनेगरेको छैन । यस अर्थमा भ्रष्टाचार आरोपी सबैका अगाडि आउनसमेत लाज मान्नुपर्नेमा रास्वपाका नेता तथा कार्यकर्ता भने भ्रष्टाचारको आरोप लागेका नेताका पक्षमा ज्यान दिएर उत्रिएका छन् । प्रहरीको घेरामा रहेका नेता रवि लामिछानेका ‘म बाघ हुँ बाघ’ भन्ने गर्जनबाट अरू डराइरहेका छैनन् बरू उपहासको हाँसो हाँसिरहेका छन् ।
एकातिर आफैं त्यही प्रणालीको अभ्यासमा रहेर राजनीति गर्ने र सांसद, मन्त्री बन्ने तर अर्कातिर प्रतिपक्षमा पुग्नासाथ प्रणालीलाई नै अश्लील गाली गर्ने नेताहरूबाट पार्टी र राष्ट्रका लागि कस्तो खालको सहयोग पुग्ला भन्ने अपेक्षा नेपाली समाजले गर्र्ने ? पुराना पार्टी र नेताहरूबाट निराश भएका केही प्रतिभाशाली देखिने वाकपटु नेताहरू संगठित भएर स्थापना भएको रास्वपा सुरुमा आशालाग्दो अवस्थाबाट उदाएको पार्टी थियो भन्ने कुरामा दुई मत छैन ।
रवि लामिछानेले स्टनबाजी गरेको भनेर आलोचना गर्नेहरूले उहाँले दुवै पटक अत्यधिक मतले विजय हासिल गरेको कुरालाई अन्यथा भन्न मिल्दैन । यही माहौल देखेर नेपाली कांग्रेसभित्र प्रतिभाशाली मानिएका र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जस्तो गरिमामय पदमा रहिसक्नुभएका स्वर्णिम वाग्ले जस्ता व्यक्ति रास्वपामै जानु र रवि लामिछानेलाई बीपी कोइरालापछिको महान् नेता भन्नु बाहृय प्रशंसामात्र हो भन्ने सबैलाई थाहा छ ।
जे होस् उहाँले उक्त पार्टीमा पाइला राखेर सांसदको पद भने हत्याउनुभयो । अन्य प्रतिभाशाली केही नेताहरू पनि उक्त पार्टीमा देखिएका छन् तर रविले गरेको भ्रष्टाचार र अनियमिततालाई सबैले काँध हालेर अन्धभक्तता देखाउनुभयो जसले गर्दा लोकप्रियताको शिखर चढ्दै गरेको पार्टीको साख पुनः ओरालैतिर फर्किएको छ । रविलाई स्वतन्त्र रूपमा पुर्पक्षका लागि छोडिदिएर कसैले उहाँको कार्यबहाकको जिम्मेवारी लिई पार्टी हाँकेको भए रास्वपाको उचाइ अझै चुलिँदै जाने थियो तर पार्टीकै नेताहरूका कारण त्यसो हुनसकेन । प्रणालीलाई गाली गर्ने र हतियार निकाल्ने अनि त्यही प्रणालीको तलबभत्ता खाने मानसिकताले गर्दा रास्वपाको गरिमामा धमिरा लाग्न थालेको छ ।
माओवादीको सशस्त्र विद्रोहको सुरक्षित अवतरण खोज्न त्यसबेला तिनलाई निकै अप्ठ्यारो परेको जस्तो हाल रास्वपाले पनि पछि यो कुरा बुझेर सुरक्षित अवतरणको बाटो खोज्यो । त्यसका लागि स्थानीय निर्वाचन सजिलो बाहना बन्यो । त्यसलाई एक प्रकारले सकारात्मक मान्न सकिन्छ किनभने जेजस्ता आन्दोलन भए पनि अन्त्यमा तिनको निराकरण सम्झौताबाटै हुनेगर्छ ।
एकातिर पोखरामा आन्दोलन चर्काएर नांगा खुकुरीहरू प्रदर्शन गर्ने र अर्कातिर बालुवाटारमा आएर पार्टी सभापति रवि लामिछानेलाई छोडिदिनुहोस् उहाँलाई अभियोग लागेको रकम बिस्तारै तिर्नेछौं भन्ने जस्तो दोहोरो चरित्र प्रदर्शन रास्वपाबाट भएको थियो । अब भने उक्त पार्टीले काठमाडौं र पोखरामा लामो समयसम्म भएका आन्दोलन स्थगनको घोषणा गरेको छ ।
सरकारले एकपछि अर्को प्रमाण फेला पार्दै गएको अवस्थामा रास्वपाका नेताहरूले आफ्नो बोलीसमेत फेरेर ‘अनुसन्धान प्रभावित परेका छेनौं, आफ्नो पार्टीका सभापति रवि लामिछानेप्रति प्रतिशोध साँधिएकाले विरोध गरेका मात्र हौं’ भन्न थालेका छन् । भ्रष्टाचारको अभियोग लागेका नेताहरूको छानबिनका लागि सहयोग गर्नु सबैको दायित्व हो ।
रास्वपाले गर्दै आएको विरोध प्रदर्शन स्थगन गर्नु उपयुक्त कार्य हो । जे होस् ढिलै भए पनि अब रास्वपाले विरोध प्रदर्शन स्थगित गरेको छ र यसको सुरक्षित अवतरणका लागि स्थानीय निर्वाचन माध्यम बनेको छ । अबका दिनमा रास्वपाका नेता कार्यकर्ताले बाटो बिराएको आफ्नो पार्टीको राजनीतिलाई सही बाटोमा हिँडाएर आफ्नो लोकप्रियतालाई कायम राख्दै राष्ट्रको चौथो ठूलो पार्टीको गरिमा कायम राख्न सक्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच