✍️ डा.अतीन्द्र दाहाल
थुप्रै अपेक्षित र अनपेक्षित घटनाक्रमले हाम्रो राजनीतिक माहौल प्रायः उष्ण नै रहेको हुन्छ । केही समयदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह अर्थात् बालेन र नेकपा एमाले पार्टी अझ विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीबीचको रस्साकस्सी निकै आक्रमक बनेको छ । काठमाडौंको मेयर निर्वाचित भएपछि ओलीलाई भेट्न बालेन स्वयं बालकोट गए । त्यो भेट सम्मानार्थ थियो होला । ओलीले बालेनलाई एउटा तबला उपहारस्वरूप दिए । तबला लिँदा र दिँदाको हार्दिकताले फरक सन्देश विचरण गरेको थियो । तर, उक्त सामिप्यता अहिले खण्डहर बनेको छ । बा र बालेन एकअर्काप्रति भ्याएसम्म शब्दका फायरिङ खोलिरहेका छन् ।
एमाले सांसद रेखा शर्माको प्रसंग, गिरिबन्धुमा पैसा लिएको भन्ने आसयको स्ट्टाटस, सत्ता समीकरणमा टिप्पणी, सडक विभागको ढोकामा फोहोर फालेको प्रसंगमा कटाक्षेप, सुकुम्बासी व्यवस्थापन, धरहाराको पार्किङलगायत अनेकन विषयमा सार्वजनिक आरोप–प्रत्यारोप चलिरहेकै थियो ।
केही समयअघि त सामाजिक सञ्जालमा दुबै पक्षका समर्थकले एकअर्कालाई अनफलो गर्ने होडबाजी नै चलाए । हालसालै एमालेले दरबारमार्गमा गरेको जागरणसभाको कार्यक्रमका दौरान शहर र सडक फोहोर गरेको भनेर एक लाख जरिवाना गर्ने काठमाडौं महानगरको निर्णयले यो द्वन्द्वलाई अर्को ताप दिएको छ । यी परिस्थितिले यो पंक्तिकारलगायत थुप्रै अध्येतालाई अनेकन प्रश्न निर्माण गरेको छ । विगतमा अन्य केही अवान्छित र अनुचित सन्दर्भले पनि कहिलेकाहिँ यो पक्तिकारलाई दुविधा हुने प्रश्न जन्माएका थिए ।
यद्यपि बिआरआई सम्झौताबारे धेरै नेपाली त्यति धेरै जानकार छैनन् कि जस्तो देखिन्छ जसरी एमसिसी सम्झौता बारे केस्रा केस्रा केलाएर बहस तथा छलफलहरू भएका थिए । त्यस तहका बहस र छलफलहरू बिआरआईका सम्बन्धमा हुन सकिरहेका छैनन् कारण उक्त परियोजनामा के के उल्लेख भएका छन् भन्ने कुरा रहस्यमै छ ।
दुविधाजन्य प्रश्नहरू
ठमेल क्षेत्र आसपासमा एकपटक बाटोमा हिँड्दै गरेका यात्रुलाई ठक्कर दिँदा ट्याक्सी चाहिँ कुच्चिएपछि यात्रुसँग क्षति–पूर्ति मागिएको थियो रे । यो चाहिँ सुनेको मात्र हो । तर, प्रश्न उब्जिएको थियो, मान्छे बलियो थियो कि ट्याक्सी कमजोर ? केही वर्ष पहिले दूधकोशी खोलामाथि बनेको एउटा पुल हावाले भत्कायो । यो चाहिँ कुनै समचारमा पढेको पनि हो । प्रश्न उब्जियो, हावा बलियो कि पुल कमजोर ? अघिल्लो वर्ष एउटा पार्टीमा जाँदा त्यहाँका सहभागीमध्ये एक गिलास कोक लिएको मानिसले तीन प्याक हुइस्की पिइरहेको मानिसलाई मन्त्रमुग्ध हुने गरी गफ चुटिरहेको देखियो । अनि प्रश्न उब्जियो, कोक कडा र हुइस्की कमजोर ? भारतमा नरेन्द्र मोदी प्रथम पटक सुविधाजनक बहुमतसाथ प्रधानमन्त्री निर्वाचित भएपछि यो पक्तिंकार स्वयंले एक अन्तर्राष्ट्रिय सम्मेलनमा चर्चा गरेको थियो, मोदीले जितेको कि राहुल गान्धीले हारेको ?
अहिले यस्तै एउटा प्रश्न उब्जिएको छ, बालेन बलियो भएका हुन् कि एमाले चाहिँ कमजोर बन्दै गएको हो ? एउटा स्वतन्त्र व्यक्ति र महानगरको मेयरसँग एउटा स्थापित पार्टी, यसको अध्यक्ष तथा देशको प्रधानमन्त्रीले किन पौठेजोरी खेल्नुपर्छ ? किन भयभीत हुनुपर्छ ? किन सवाल जवाफ गर्नुपर्छ ? बालेनमात्र नभएर एमालेकै पूर्वकेन्द्रीय सदस्य अनि कुनै बेलाका विश्वासपात्र दुर्गा प्रसाईंसँग पनि एमालेका अध्यक्ष अलिक असहज महसुस गरेको जस्तो देखिन्छ । समाजिक सञ्जालमा वाद÷प्रतिवादमा उत्रनुभन्दा नागरिक सेवामा तल्लिन रहनुले चाहिँ परिपक्व राजनीतिक अभ्यास देखाउँछ होला नि ! यद्यपि सामाजिक सञ्जाल अबको राजनीतिमा महत्वपूर्ण हतियारचाहिँ हो ।
बाराक ओबामाले प्रथमपटक राष्ट्रपति निर्वाचित भएपछि स्मार्ट फोन निर्माण गर्ने व्यक्तिलाई फोनमार्फत नै धन्यवाद भनेका थिए । किनकि त्यो फोन अथवा त्यसमा चल्ने सामाजिक सञ्जालले उनको विजयी यात्रा सुनिश्चित गर्न ठूलो योगदान गरेको थियो । आजको समयलाई ‘गभरमेन्ट इन पकेट’ भनिन्छ । सबैको खल्तीमा यस्तो उपकरण छ जसले सरकारका बारेमा थाहा पाउने र सरकार बनाउने वा भत्काउने हैसियत राख्छ । ‘लाइक वार ः वेपनाइजेशन अफ सोसल मेडिया’ नामक पुस्तकले सामाजिक सञ्जाल अबको राजनीतिक हतियार भएको निष्कर्ष निकालेको छ । पछिल्लो राजनीतिक माहौलको नेतृत्व निर्माण अनि बालेनको उदयमा समेत सञ्जालको हात महŒवपूर्ण देखिएको छ । एमाले र बालेनको वाक युद्घको तुलनात्मक अध्ययनमा केही सन्दर्भ सहयोगी हुन सक्छन् ।
सहयोगी सन्दर्भ
गएको निर्वाचनमा एमाले पार्टीले पाएको जम्मा सिट अघिल्लो निर्वाचनको तुलनामा केही घट्यो । मिसन ग्रास रुटमा भएको सदस्यता नवीकरणको संख्या पनि निराशाजनक देखियो । २०७४ भन्दा २०७९ को निर्वाचनमा लोकप्रिय मतसमेत पाँच लाखभन्दा बढीले घट्यो । प्रतिनिधि सभाको पहिलो उपनिर्वाचनमा एकजना पनि प्रतिस्पर्धी विजयी भएनन् । काठमाडौं महानगरको चुनावमा एमालेकै उम्मेदवारलाई बालेनले फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
एमाले गढ भक्तिएको पनि हो । सामाजिक सञ्जालमा पनि बालेनका २१ लाख आसपास र ओलीका ६ लाख आसापास फलोअरस् देखिन्छन् । तर, के एउटा महानगरको प्रमुखसँग नै यसरी थुरथुर हुनुपर्ने गरी खण्डहर भएको छ र एमाले ? हिजो व्यवस्था, आमसत्ता र सामन्तवादका विरुद्घ लडेकोे एमाले व्यक्तिविरुद्घमा किन छ ? कतै बालेनको सत्तोसराप गर्ने नाममा एमाले प्रतिगमनमैत्री हुँदै गएको त होइनन ? बालेनसँगको वाकयुद्घ अथवा प्रसाईंमाथिको प्रतिशोध उसकै लागि अहितकारी बन्दै त छैन ?
सिंगापुर र स्विजरल्याण्ड बनाउने भन्ने नेताहरूले नेपाललाई दक्षिण एसियाकै गरिब देश बनाइसकेछन् । एउटा राजनीतिक दलको चिन्ता त यतातिर पो हुनुपर्ने होला । तर, एउटा स्थानीय तह र यसको प्रमुख किन उसको प्रधान शत्रु जस्तो देखिँदैछ ? बालेन एक्लै बलियो भएर एमाले बराबर अथवा एउटा राष्ट्रिय पार्टी, देशको सत्ताको नेतृत्वकर्ता शक्ति, सरकार प्रमुख बराबर भएका हुन् ? कि एमाले चाहिँ खस्किएर एउटा व्यक्ति, एउटा स्थानीय तह बराबरमा झरेको हो ? निर्मम समीक्षाको घडी आएको छ ।
बिआरआई परियोजना कार्यान्वयन चरणमा पुग्नुपूर्र्व घनीभूत छलफल हुनु उपयुक्त हुन्छ । त्यस (बिआरआई) बाट नेपाल कति लाभान्वित हुन्छ भन्ने विषयमा पनि गम्भीर बहस हुनुपर्ने देखिन्छ । नेपाल जस्तो विकासन्मुख देशले ठूला र विकसित राष्ट्रबाट अधिकतम् अनुदान लिन सक्नुपर्छ अनिमात्र हामीले हाम्रो राष्ट्रिय हित प्रबद्र्धन गर्न सक्छौं ।
यदि एमालेले साच्चै गल्ती गरेको छैन, केही कमजोरी गरेको छैन, बालेन अनि यदाकदा प्रसाईंले भनेका कतिपय आरोपमा एमाले सम्मिलित छैन भने देशका मुख्य विषयमा चाहिँ उसको ध्यान जाओस् । देशको विकास भएको छ कि छैन ? देश बस्न लायक छ कि छैन ? विदेश जानेहरूको लर्को किन बढेको छ ? निकट भविष्यमा देशको अवस्था सहजता अथवा असहजता उन्मुख के हुन्छ ? भ्रष्टाचार गरेको छैन भनेर कोही कुनै ओहोदामा बसेको मानिसले भन्दा उसप्रति किन विश्वास जाग्दैन ? देशमै बसेर केही गर्नुपर्छ भन्ने विश्वास र संकल्प बोकेको मानिसलाई कुनै काम दिएर सरकारी अफिसमा पठाइदिएपछि बेलुका फर्कँदा ऊ यो देशमा बसेर काम छैन भन्ने सोच निर्माण गरेर किन आउँछ ? सेवाप्रवाहा र सेवाग्राही माथिको सरोकारवाला निकाय अनि नियामक व्यक्तिको आचरण तथा सोच नोकरशाही पद्घतिको किन छ ? उत्पादन, आत्मनिर्भरता अनि निर्यातमा हामी अति धेरै जीर्ण भइसक्यौं, कसरी यसलाई सबल बनाउने ? एमाले जत्तिको पार्टी र ओली जत्तिको प्रधानमन्त्रीको ध्यान यी कमजोरी ठेगान लगाउन हुनुपर्छ कि बालेनसँग टकराब र कुस्ताकुस्ती गर्न अथवा प्रसाईंसँग पौठेजोरी खेल्न ?
बालेन एकजना व्यक्तिले गर्दा सिंगो पार्टी हल्लिनुपर्र्ने ठाउँमा आइपुगेपछि अब एमालेले कहिले देशका यी जल्दाबल्दा समस्याको बारेमा दिमाग खियाउने ? प्रतिस्पर्धीलाई कमजोर नसम्झनु भन्ने कुरा त राजनीतिक प्रशिक्षणको बेला आमनेता तथा कार्यकर्तालाई भनिएको होला । तर, युद्घ कौशल र तयारी त प्रतिस्पर्धीको तह अनि हैसियतको मात्र हुनुपर्छ होला नि ? एक मेयरको विरुद्घ एक प्रधानमन्त्री, केवल एक व्यक्तिविरुद्घ पूरै एउटा पार्टीको अवस्थाले चाहिँ शंकाको अजंग पाहाड बनाएको छ ।
एमालेले आत्मविश्वास गुमाएको हो कि भन्ने प्रश्न जन्माएको छ । व्यक्तिसँग त्रसित हुनुपर्ने गरी धराशायी भइसकेको हो त भन्ने दुविधा उत्पन्न भएको छ । अब नागरिकले अरूलाई नै पत्याउन थाले भन्ने ज्ञात भएकाले चिन्तित भएको हो कि ? हुन त विदेश भ्रमणमा जानुपर्ने कार्यक्रम भएका विश्वविद्यालयका एकजना उपकुलपतिलाई तत्काल भ्रमण नगर्नु भन्न नसकेर स्वंय कुलपतिले आप्mनो कार्यलयमा बोलाएर बन्धक बनाई समय गुजारिदिएको नजिर भएको पार्टी पनि हो एमाले ।
यो पंक्तिकार बालेन, प्रसाईं वा ओली तीनवटै वा कुनै पक्षको पक्षपोषणमा कदापि छैन, उनीहरूबीच असहमति र बेमेलता बढोस् भन्ने चाहँदैन । आपसी अहंकार र अभिमानले देशमा अर्को द्वन्द्व सिर्जना गर्नसक्छ भन्नेमा सजग छ । यद्यपि एमालेले आफैंलाई यति कमजोर महसुस गरेकोमा अथाहा दुखित छ । लोकतान्त्रिक व्यवस्थामा दलहरू कमजोर हुनु समग्र प्रणालीमाथिको खतराको घण्टी हो । एमाले एक सशक्त दल बनोस् । बालेनको विरोधलाई उपलब्धि मान्ने होइन, करोडौ जनताको पक्षमा काम गर्ने लोकतान्त्रिक शक्ति बनोस् । कमजोर नदेखियोस् र नबनोस् । बालेन र बा दुबै सञ्जालमा सशस्त्र बन्ने होइन, क्षेत्राधिकारभित्रका नागरिकका सेवामा सर्मपित र समाहित बनून् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच