कैलालीको धनगढीका भीम बिसी नेपाली गीत संगीतमा यतिबेला स्थापित नाम भएको छ । उहाँले काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । २०६२ सालमा ‘धनगढी पश्चिम नेपाल धन्य तेरो मायाजाल’उहाँको औपचारिक गीत थियो । त्यसयता उहाँले थुप्रै गीतमा संगीत र स्वर दिनुभएको छ । केही चलचित्रका गीतमा स्वर र संगीत भर्नुभएका भीम आफ्नो सानैदेखिको लगावले यो क्षेत्रमा होमिएको बताउनुहुन्छ । पछिल्लो समयसम्म आइपुग्दा २६ सयभन्दा बढी गीत श्रोता/दर्शकमाझ पस्किनुभएका भीमका ‘झुमा झुमा’, ‘एक कान दुई कान मैदान’, ‘चस्मा लगाउली’, ‘डिम्पल गालामा, ‘नाकैको फुलीमा’, ‘रित्तिजाने बैंसको’, ‘गल्ती भए यहाँ हात जोडी माफी माग्छु म’, ‘सुनचाँदी धनसम्पत्ति’, ‘पलमै माया मिल्ने भए’, ‘बस बस रे’, ‘एरोप्लेन’ लगायतका थुप्रै गीत लोकप्रिय छन् । गीत संगीतका माध्यमबाट समाजको मार्गदर्शन पनि हुने गर्दछ भन्नुहुने उहाँ यो क्षेत्रलाई सधैँ स्वच्छ र सफा तरिकाले अगाडि लैजानुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । अहिले आएर सबै ठाउँमा नेपाली गीत संगीत गुञ्जेको देख्दा हर्षित हुन्छु भन्नुहुने संगीतकार/गायक भीम बिसीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
गीत संगीत सम्बन्धित भएको मान्छे हुनाले यसैसँग सम्बन्धित कार्यहरूमा आफूलाई व्यस्त राख्दै आएको छ । गीतको रेकर्डिङ र भिडियो छायांकनमा व्यस्त हुँदै आएको छु । केही व्यक्तिगत र सामाजिक कार्य त छँदै छन् ।
गीत संगीततर्फ कसरी आकर्षित हुनुभयो ?
बच्चा बेलादेखि नै गीत संगीतमा धेरै रुचि राख्दथँे । अनि त्यो जमानामा क्यासेट प्लेयर हुन्थ्यो । दिनभरि हिन्दी, नेपाली गीतहरू सुन्दै बस्थेँ । अनि रुचि पनि बढ्दै गयो ।
मलाई एउटा कुनै पर्टिकुलर जनरामा मात्रै काम गर्छु भन्ने छैन । मलाई सम्झेर काम गर्न आउनुहुने जति पनि संगीतप्रेमी हुनुहुन्छ उहाँहरूका लागि म जानेको बुझेको संगीत भर्ने कोसिस गर्दैछु र गरिरहनेछु । अहिले आएर नेपाली गीत संगीतलाई पनि रुचाउने जमात भेटिन्छ । पहिला-पहिला बिहे पार्टीहरूमा हिन्दी गीतहरूको चाप धेरै रहन्थ्यो । तर, अहिले आएर सबै ठाउँमा नेपाली गीत संगीत गुञ्जेको देख्दा हर्षित हुन्छु । गीत संगीतका माध्यमबाट समाजको मार्गदर्शन पनि हुने गर्दछ । त्यही भएर गीत संगीतलाई सधैँ स्वच्छ र सफा तरिकाले अगाडि लैजानुपर्छ ।
कहिलेदेखि यो क्षेत्रमा हुनुहुन्छ ?
मेरो पहिलो एल्बम २०६२ सालमा रेकर्डिङ गरेको थिएँ । जसमा संगीतकारका रूपमा म आफैं थिएँ र अहिलेसम्म निरन्तरता दिँदैछु ।
यहाँले पहिलो संगीत गरेको गीत कुन थियो याद छ ?
किन याद नहुनु नि । २०६२ सालमा सुदूरपश्चिमेली भाषाको देउडा गीत एल्बम ‘नढल्केई गैरीकी जून’बाट ‘धनगढी पश्चिम नेपाल धन्य तेरो मायाजाल’बोलको गीत मेरो सुरुवाती गीत भन्न चाहन्छु ।
यहाँ यतिबेला नेपाली सांगीतिक क्षेत्रमा कुशल संगीतकारको परिचय बनाउन सफल हुनुहुन्छ, कस्तो लाग्छ फर्केर हेर्दा ?
नेपाली गीत संगीतलाई माया गर्ने दर्शक श्रोताहरूको यो अपार माया देख्दाखेरि एकदमै धेरै हर्षित छु म । आफूलाई भाग्यमानी पनि ठान्दछु । ता कि यो २५ वर्षसम्मको गीत संगीतको यात्रासम्म आइसक्दा पनि उहाँहरूले दिनुभएको मायाले गर्दा ती विगतका दुखदायी दिनहरू पनि आरामसँग बिर्सिन्छु म ।
यहाँको स्वरमा गीतहरू पनि रहेका छन्, गायक/संगीतकार कुन रूपमा चिन्ने श्रोताले ?
गायकी मेरो रुचिको विषय हो । र, संगीत भर्नु मेरो बाध्यता थियो । अहिले आएर संगीत भर्दा आनन्द महसुस गर्छु आफूलाई । सबैजनाले माया गरिदिनुभएको देखेर सिर्जना गर्न अझै हौसला बढेर आएको छ । आफूलाई संगीतकार भन्न त अझै पनि डर लाग्छ मलाई । किनकि मभन्दा अग्रजहरूले गरेको योगदान देख्दाखेरि आफूलाई संगीतकार भन्न अझै पनि डर लाग्छ, सुधार्दै जानेछु र विस्तारै संगीतकारका रूपमा आफूलाई चिनाउने हैसियत राख्नेछु ।
अहिलेसम्म कति जति गीतमा संगीत गर्नुभयो, केहीको नाम लिनुपर्दा ?
अहिलेसम्म हिसाब गर्दाखेरि रेकर्डिङमात्र दुई हजार ६०० पुग्यो । केहीको नाम लिनुपर्दा ‘झुमा झुमा’, ‘एक कान दुई कान मैदान’, ‘चस्मा लगाउली’, ‘डिम्पल गालामा, ‘नाकैको फुलीमा’, ‘रित्तिजाने बैंसको’, ‘गल्ती भए यहाँ हात जोडी माफी माग्छु म’, ‘सुनचाँदी धनसम्पत्ति’, ‘पलमै माया मिल्ने भए’, ‘बस बस रे’, ‘एरोप्लेन’ लगायतका थुप्रै छन् ।
यहाँले चलचित्रका गीतमा पनि संगीत भर्नुभएको छ होइन ?
नेपाली कथानक चलचित्र ‘रंगी’मा संगीत तथा स्वर भर्ने मौका पाएको छु । आशा छ यो फिल्मले हजुरहरूको मनमस्तिष्कलाई छुनेछ । भाषाभाषीका चलचित्रहरूमा धेरै संगीत भरेको छु । फिचर फिल्महरूमा पनि संगीत भर्ने मौका पाएको थिएँ । तर, त्यति धेरै चर्चामा चाहिँ रहेनन् ।
संगीतको औपचारिक अध्ययन पनि गर्नुभएको छ कि, कहाँ र को-कोसँग सिक्नुभयो ?
सिकेको छु । आदरणीय मेरो गुरु हुनुहुन्छ गोविन्द लोहनीज्यू अनि शास्त्रीय संगीततर्फ आदरणीय मेरो गुरु हुनुहुन्छ माण्डवी त्रिपाठी । संगीत साधना हो म साधक हुँ ।
नेपाली गीत संगीतको वर्तमान अवस्था कस्तो पाउनुहुन्छ ?
अहिले आएर नेपाली गीत संगीतलाई पनि रुचाउने जमात भेटिन्छ । पहिला पहिला बिहे पार्टीहरूमा हिन्दी गीतहरूको चाप धेरै रहन्थ्यो । तर, अहिले आएर सबै ठाउँमा नेपाली गीत संगीत गुञ्जेको देख्दा हर्षित हुन्छु ।
विश्व गीत संगीतमा हामी कहाँ छौँ जस्तो लाग्छ ?
विश्व संगीतको सामु हाम्रो स्थान पनि अग्र स्थानमै रहन्छ । मेरो विचारमा सिर्जनाको हिसाबले, साधनाको हिसाबले अगाडि नै छौँ हामी । तर, स्रोत साधनको हिसाबले अलिकति पछाडि भएको महसुस गर्दछु ।
बजारमा राम्राभन्दा ‘झुर’ सिर्जनाले पनि चर्चा पाउने गर्छन् भन्ने सुनिन्छ नि ?
मलाई लाग्छ गीत संगीतको पनि एउटा दायरा हुन्छ । अनि कसैले पनि दायराभन्दा बाहिर रहेर गीत संगीतलाई मनमर्जी सिर्जना गर्नुहुन्छ भने त्यो गीतलाई झुर भन्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ । गीत संगीतका माध्यमबाट समाजको मार्गदर्शन पनि हुने गर्दछ । त्यही भएर गीत संगीतलाई सधैं स्वच्छ र सफा तरिकाले अगाडि लैजानुपर्छ जस्तो लाग्छ मलाई ।
‘अटो ट्युनर’को बढ्दो प्रयोगलाई कसरी हेर्नुहुन्छ ?
अटो ट्युनर भनेको एउटा टेक्निकल इम्प्रुभमेन्ट हो । यो हुन जरुरी पनि छ । यसले अलिकति सिंगरहरूमा मिहिनेतमा कमी देखिएको चाहिँ पक्कै पनि हो । तर, यसलाई टेक्निकल इम्प्रुभमेन्टको हिसाबले एउटा सहज प्रयोगका रूपमा पनि हेर्न मिल्छ ।
‘अटो ट्युनर’को अत्यधिक प्रयोग बढ्नुको कारण ?
सहजता ।
यहाँलाई कस्ता गीतमा संगीत गर्न वा गाउन मनपर्छ ?
मलाई एउटा कुनै पर्टिकुलर जनरामा मात्रै काम गर्छु भन्ने छैन । मलाई सम्झेर काम गर्न आउनुहुने जति पनि संगीतप्रेमी हुनुहुन्छ उहाँहरूका लागि म जानेको बुझेको संगीत भर्ने कोसिस गर्दैछु र गरिरहनेछु ।
आफैं कस्ता प्रकारका संगीत सुन्न रुचाउनुहुन्छ ?
प्रायः सबै ।
यहाँलाई मनपर्ने संगीतकार ?
यो गाह्रो प्रश्न हो । सबै आ-आफ्नो ठाउँमा राम्रो गरिरहनुभएको छ । फेरि पनि भन्नुपर्दा रञ्जित गजमेर, अर्जुन पोखरेल ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच