काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा अनुसन्धानका लागि काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग शुक्रबारबाट बयान लिन सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा शुक्रबार पूर्व-गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेलाई ६ घण्टा बयान गराइएको हो । ६ घण्टा बयान गराएर लामिछानेलाई फर्काइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिनुभएको छ । लामिछानेलाई बयानका लागि शुक्रबार बिहान साढे ९ बजे सरकारी वकिल कार्यालय लगिएको थियो । दिउँसो साढे तीन बजे उहाँलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा फर्काइएको हो । ६ घण्टा बयान गर्दा पनि नसकिएपछि लामिछानेलाई अब आइतबार पुनः सरकारी वकिल कार्यालयमा बयान गराइनेछ । शनिबार बिदा भएकाले उहाँको बयान हुनेछैन ।
स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उहाँसँग बयान गराएपछि पुनः पोखरा नै फर्काइने छ । सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार आइतबार बयान सक्ने तयारी छ । शुक्रबारको बयानपछि रविलाई सरकारी वकिल कार्यालयको अण्डरग्राउण्डबाट सुटुक्क निकालिएको थियो । बाहिर रास्वपा कार्यकर्ताहरू भेला भए पनि उनीहरूले रविको अनुहार देख्न पाएनन् । सभापति लामिछानेविरुद्ध पाँचवटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा लामिछानेलाई कात्तिक २ काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । पोखरामा अझै अनुसन्धान सकिएको छैन । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । यी कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । सहकारी ठगीकै अनुसन्धानको लागि यसअघि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि लगेर फर्काइएको थियो । यस्तै, सहारा चितवन सहकारी र वीरगञ्जको सानोपाइला सहकारी ठगीको आरोपमा पनि लामिछानेविरुद्ध अनुसन्धान हुँदै छ ।
लामिछानेविरुद्ध चितवनमा पनि पूरक जाहेरी दर्ता भइसकेको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । २ कात्तिकमा पक्राउ पर्नुभएका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।
मुद्दाको प्रक्रिया टुंग्याइदिन रविको आग्रह
रवि लामिछानेमाथि कास्कीको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा, पर्साको सानोपाइला र काठमाडौंको स्वर्णलक्ष्मीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । रविलाई अहिले स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोगमा बयान लिनका लागि काठमाडौंमा उपस्थित गराइएको हो । पूर्व–गृहमन्त्रीसमेत रहनुभएको रास्वपा सभापति लामिछानेले बिहीबार साँझै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छिर्नुअघि प्रहरी अधिकृत तथा जवानहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको थियो । हिरासतमा जानुअघि लामिछानेले प्रहरी अधिकारीहरूसँग भन्नुभएको थियो, ‘तपाईंहरू आफ्नो प्रक्रिया सुरु गर्नुहोस्, मेरो कुनै गुनासो रहँदैन ।’
शुक्रबार बिहान सरकारी वकिल कार्यालय जानुअघि पनि लामिछानेले छिटोछिटो बयान सकेर मुद्दाको छिनोफानो लगाइदिन आग्रह गर्नुभएको छ । शुक्रबार लामिछानेलाई स्वर्णलक्ष्मीबाट गोर्खा मिडियामा गएको रकमको अपचलनलाई केन्द्रित रहेर प्रश्नहरू सोधिएको थियो । गोर्खा मिडियामा स्वर्णलक्ष्मीबाट दुई करोड २८ लाख ९८ हजार ४८० रुपैयाँ पेस्कीबापत गएको देखिन्छ । त्यस्तै, स्वर्णलक्ष्मीबाटै गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिएको छ । उहाँहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर हृवाट एभर लोन’ बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ । त्यस्तै, २०७८ पुस १ गते इको सेभेन सोएट भ्यान खरिदका लागि जिबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गोर्खा मिडियामा रहँदा ग्लोबल आइएमई बैंकमा जिबी, रवि र छविको संयुक्त खाता सञ्चालनमा थियो । सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडियामा ल्याएर अपचलन हुँदा २५ करोडको चेकमा रविकै हस्ताक्षर प्रयोग भएको पाइएको छ । गोर्खा मिडिया नेटवर्कबाट रविले ऋण तथा पेस्कीबापत दुई करोड लिएको देखिएको छ । छविलाल जोशीले भने पाँच करोड ५५ लाख २२ हजार ७१४ रुपैयाँ ऋण तथा पेस्की लिएको देखिएको छ ।
बयान चलिरहँदा प्रदर्शन
सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका रास्वपा सभापति लामिछानेको सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहँदा शुक्रबार रास्वपाका नेता कार्यकर्ताहरूले माइतीघरमा प्रदर्शन गरेका थिए । रास्वपाका नेता कार्यकर्ताले सभापति रवि लामिछानेको रिहाईको माग गरेर माइतीघरमा प्रदर्शन गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
सरकारी वकिलको कार्यालयनजिकै माइतीघरमा रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई रिहा गर्’, ‘राजनीतिक प्रतिशोध बन्द गर्’ भन्दै विरोधमा उत्रेका थिए । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो । पार्टीको औपचारिक निर्णयमा भने सडक प्रदर्शन नगर्ने निर्णय गरिएको छ ।
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तेस्रोपटक म्याद थप
जिल्ला अदालत काठमाडौंले साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा प्रसाईं मंसिर ४ गते पक्राउ पर्नुभएको थियो । यसअघि मंसिर ५ गते प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । त्यतिबेला अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । त्यसपछि मंसिर ९ आइतबार अदालतले दोस्रोपटक पाँच दिनको म्याद थप गरेको थियो । शुक्रबार प्रसाईंलाई पुनः अदालतमा पेस गरिएकोमा पाँच दिन म्याद थप भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच