जीवनका फन्का जसरी जता घुमे पनि गम्भीर शान्तिको अन्तिम चौतारी साहित्यमात्र रहेछ । डक्टर बन्ने विचारको समुद्रमा हेलिएर पाल्पामा जन्मी बैतडीमा हुर्केका वरिष्ठ युरोलोजिष्ट डक्टर अर्जुनदेव भट्ट कम्युनिजम विचारमा आबद्ध देश रुस पुगे अध्ययनार्थ । तीष्ण मस्तिष्कका धनी अर्जुनदेव शारीरिक सौन्दर्यका पनि निकै उचाइमा भएको कुरा त वयोवृद्ध अहिलेको अवस्थालाई हेरे मात्र पनि स्पष्ट हुन्छ । अध्ययनको लक्ष्य पूरा गरेपछि चाहेको भए उनलाई रुसकै क्षितिज काफी थियो । भौतिक उचाइको अझ अग्लो सम्पन्न आसनमा मस्ताराम जिउन सक्थे । विश्वकै नेतृत्वबाहक अमेरिकाबाट पनि त व्यक्तिगत आधारमा नै किन नहोस् बोलावट भएकै हो । यो निर्णयात्मक संकट सायद अर्जुनदेव भट्ट एक्लै भएका भए गोरे मुलुकतिरै हानिन पनि सक्थे ।
रसियन पत्नीको अन्तरमनोलोक छाम्ने-बुझ्ने र पत्नीमुखी पनि बन्ने एक प्रकारको भय, एक प्रकारको आत्मीयताका पनि कारणले हुनसक्छ भएका वार्तालाप र आएको निर्णयात्मक अन्तिम उत्तरले मातृभूमि नेपालकै काखमा फर्कायो । नेपालको पनि त्यस बेलाको अत्यन्त विकट् तराई-जनकपुर/जलेस्वरको कठोर जागिरे जीवन अर्को पेशा भएको भए सायद अर्जुनदेवको जीवनले कुन् बाटो र कुन् गति लिन्थ्यो अनुमानको विषयमात्र हो यो ।
वैचारिक धारविपरीत भएर पनि विचार तीव्र हुने युवा बेलामा समेत अर्जुनदेव भट्टको मन मानसिकताका रेसा रेसामा स्वच्छन्दतावादी कवि महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक प्रवाहको प्रभावले बास गरेको कुरा उनका हरेक कृति अझ विशेषगरी कविता पढ्दा स्पष्ट हुन्छ ।
कारण उनको घरायसी परिवेश आर्थिक रूपमा पनि सरदर नेपालीको अवस्थाभन्दा तलको होइन । डक्टर जस्तो तत्कालीन अवस्थाको अति सम्मानित पेशा भएकै अर्थमा निकै लामो समय तराईको जीवनसँग जिउन सकेको पाइन्छ । यस अवसरमा नै नेपाल र नेपाली जनजीवनका समग्र पक्षलाई बाहिरदेखि भित्रसम्म खोतलेर बुझ्ने अझ गहिरो क्षण प्राप्त भएको पाउन सकिन्छ । पेशा अग्लो भएर पनि मनमा सन्तोष हुन नसक्नु, बेचैनी, छट्पटी र मानवीय संवेदनासँग जोडिने माध्यमको खोज भइरहनुको अर्थ हो-भौतिक उचाइमा मनोसन्तुष्टि ठ्याम्मै नहुनु ।
भौतिक परिवेश जीवन निर्वाहका लागि केही हो । त्यसभन्दा उता अन्तर चेतनाको जग्मगाउँदो अक्षरको संसार छ जसमा नहेलिइकन मान्छे शान्तिको सास फेर्न सक्दैन, आरामको निद्रा निदाउन सक्दैन, हाँसेको बिहान बिउँझन सक्दैन । वैचारिक धारविपरीत भएर पनि विचार तीव्र हुने युवा बेलामा समेत अर्जुनदेव भट्टको मन मानसिकताका रेसा रेसामा स्वच्छन्दतावादी कवि महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक प्रवाहको प्रभावले बास गरेको कुरा उनका हरेक कृति अझ विशेषगरी कविता पढ्दा स्पष्ट हुन्छ ।
डक्टरको आसन गम्भीर सर्वपक्षीय अन्तर मानवीय संवेदनाको आसन हो । त्यहाँ निरङ्कुश तानाशाहको पनि आगमन हुन्छ । सामान्य जीवनमा किराफट्याङ्ग्रा झैँ खान लाउनका लागि र बस्ने झोपडी खोजका लागि सङ्घर्षरत रहेर मर्न विवश असल मान्छेको पनि ओहोरदोहोर हुन्छ । छलकपट र छद्मभेषी ब्वाँसा जस्ता दुईखुट्टे मनवाहक मान्छेको पनि आगमन हुन्छ नै ।
हमास, हुटी, हिजबुल्ला जस्ता धर्मका नाममा विद्रोहका आगा ओकल्ने अनुहारको उपस्थिति पनि हुन्छ । व्यक्तिगत र पारिवारिक सानसौगातका लागि मरिमेट्ने झिँझाका जस्ता डाकुहरूका चेहरा पनि त्यहीँ प्रस्तुत हुन्छन् भने पाडो भाकल गरेर यमराजलाई दुत्कार्न तत्पर रहेका सोझा तर अन्धविश्वासी अनुहारका आगमन पनि हुने ठाउँ यही हो । यी सबै खाले मानव स्वभावका उपचारबाट उत्पन्न अनुभवको चौडा र अग्लो भकारी हो अर्जुनदेव भट्टको मनोलोक ।
यिनै मनोलोकको उपचारार्थ संलग्न रहँदा पेशागत हिसाबले पैसा आयो तर त्यो क्षणिक हो, शुष्क हो । त्यसमा कुनै रस छैन । भाव छैन । लय छैन । अलङ्कार छैन । सङ्गीत छैन । सारमा जीवन छैन । छातीमा स्टेथेस्कोप झुण्डिएको छ । मान्छे चिरिएर आन्द्रा, भुँडी, नसा छ्याल्लब्याल्ल अस्पतालका ओछ्यानमा छरिएका छन् । गणितका सूत्राङ्कले औजारका तिखा सुई मिलाउँछ । समयका साँध हेरेर कैँची चलाउँछ । कोही जम्मै जोडेपछि उभिन्छन् । खित्का छुट्छन् खुसीका आफन्ती लाममा । लड्डु बाँडिन्छन् । एकछिन् जिब्रा गुलिया पनि हुन्छन् । मुख मिठिन्छन् । कैँयौँ मर्छन् ।
डक्टर जीवनदाता होइन । क्षणिक दर्दविनाशक मात्र हो । संवेदनाका भारी बोकेर चिरफार कोठामा पुगेका सहस्र आफन्तले आवल्ना मान्छेका मृत शरीर देख्नासाथ भक्काना फुट्छन् आफन्तका । आँसुका भेलले अनुशासनका सीमा नाँघ्छन् । तोड्फोड् विद्रोह । भएभरका लाञ्छनाका पहाड भत्काएर कालो मोसो, ढुङ्गा, घाउ यिनै डक्टरका शरीरमा वर्षन्छन् । मानवीय त्रुटि मान्छेबाट हुन सक्छ । संवेदनाका छालले यस्ता अन्तर मर्म बुझ्न सक्दैन, प्रयास पनि गर्दैन । निरीह डक्टर !
बेचैन डक्टरको यसै विन्दुबाट उफ्रिएर सिग्मन्ड फ्रायड चिरफारका औजार देब्रे हातमा राखी दायाँ हातले कलमका बिस्कुन सुकाउँदा वा सुकाउन पुग्दा बीसौँ शताब्दीका विश्वविख्यात मनोयौन मनोविश्लेषक बनेर विश्व हल्लाइदिए । कम÷बढी हुन सक्लान् तर सबै डक्टरका आनुभविक वेदना वा हर्ष जे भनौँ यिनै हुन् र यिनै वेदनाका भुँमरी छिचोल्दै वैचारिक सीमाका बारहरू तोडेर मानवतावादको वकालतमा निकै खरो बिन्दुमा उभिन पुगेका साहित्यिक व्यक्तित्वको नाम हो-अर्जुनदेव भट्ट ।
एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसकेर पनि लगभग दर्जन जति नै प्रकाशनका हारमा उभ्याउने अर्जुनदेव भट्टले आफ्नो कलम कथा, निबन्ध, कविता, आत्मवृत्तात्मक लेखन, अझ खरो रूपले उपन्यास समेतमा चलाइसकेका छन् । सामान्यत साहित्यकारहरू दृश्य संसार चिरफार गर्दछन् । जो सामु देखिएको हुन्छ, भोगिएको हुन्छ, अनुभव गरिएको हुन्छ । निकै उचाइ प्राप्त गर्न इच्छुक साहित्यकार मात्र अध्ययनको चास्नी घोलेरभित्र पस्छन् अविदितमा, अदृश्यमा । यो साहित्यकारले हेरेको भित्री जगत् अनुमानित कल्पनामा आधारित हुन्छ । भरमार शब्दसँग खेल्ने क्षमता भएकाले शब्दमार्फत नै यिनीहरू भ्रमका तह सिर्जना गरेर भावक लठ्याउन सक्छन् निरन्तर साहित्यिक यात्रामा रहन सक्ने कम यस्ता साहित्यकारले मात्र ।
डक्टरहरूको साहित्य लेखनको प्रथमबिन्दु नै ठीक उल्टो अदृश्य/अविदितबाट सुरु हुने हो । उपन्यासकार, कथाकार, कवि, निबन्धकार अर्जुनदेव भट्टका जुनसुकै कृति पढौँ-गम्भीर रूपले पढ्ने पाठक, आग्रहरहित उचाइमा पुगेर अध्ययन गर्ने भावक यही अविदितमा पुग्छ । अदृश्यमा लुट्पुटिन्छ । अपरेशन अर्थात् चिरफारको अक्षरबाट उनको साहित्य लेखनको सुरुवात हुन्छ । बदमासको मनोपरिचयबाट अर्जुनदेवको अक्षर जन्मन्छ । उसका आफन्तले उभ्याएका अन्धविश्वासबाट अनुच्छेद सुरु हुन्छन् । सामन्तले शासन गर्दा देखापरेका त्रुटिपूर्ण बदमास मनोरोगीका वर्णनबाट पानाहरू पल्टिन्छन् र यस खालका रोगीका अपरेसनबाट नेपाली बुर्जुवा साम्यवादी तस्विर नभएर सफा, स्वच्छ, कञ्चन, टक्टकाउँदो साम्यवादी स्वरूपमा उनका कृतिहरू मुस्कुराउँछन् । अझ भनौं समतावादी पूर्वीय अध्यात्म ऋषिकुञ्जनको आर्ष साम्यवादी आलोकमा अर्जुनदेवका कृतिहरू खडा हुन्छन् ।
प्राकृतिक रूपले हुने बाहिरी विकास स्वाभाविक भए पनि मानसिक अर्थात् अन्तर विकासविनाको बाहिरीपन मुर्दागहनाभन्दा भिन्न हुँदैन भन्ने मार्मिक विचारको जगबाट उनका सबै खाले साहित्यिक सिर्जना अगाडि बढ्नु आफैंमा गहिरो कलासौन्दर्यको चेत हो र व्यावहारिक रूपमा पनि उनमा यो सर्वत्र देखिनु लेखकीय धर्मधारको उत्कृष्ट पक्ष हो ।
आर्तजित्कार चिच्याउँदै अभावको बिमारी आउँछ । उसको बाहृयान्तरिक चिरफारबाट अर्जुनदेवको साहित्यिक अनुभूतिको रसोत्पन्न हुन्छ । ऊ आफैँ अभाव बोकेर जन्मदैन । राज्यव्यवस्था सञ्चालकका कुदृष्टि, कुनियतबाट समाज हुँदै व्यक्तिमा पुगेको अभावको सिकारसँग सारा कथावस्तुहरू निर्मित हुन्छन् अर्जुनदेवका हरेक साहित्यिक कृतिहरू । माथिदेखिका सामन्त शासकका स्वभाव सञ्चरित हुँदै हुर्किएका अञ्चल, जिल्ला, गाउँसम्मका शासक सामन्तको आर्त चित्कार होका दृष्टिबिन्दुमा उनका जम्मै कृतिहरू पुग्दछन् । यसबाट उनीभित्र रहेको अगम्य मानवतावादी आलोक स्पष्ट मुखरित हुन पुग्दछ ।
आस्था आग्रहका कतै झलकसम्म नदेखिनु अर्जुनदेव भट्टको लेखकीय उदारताको उज्यालो अनुहार हो । वैचारिक सङ्कीर्णताका झिल्कासम्म कतै नपाइनु अर्को उनको साहित्यिक सौन्दर्य स्वभाव, व्यवहार र लेखनमा समेत रहनु आकर्षक धनात्मक पक्ष हो । प्राकृतिक रूपले हुने बाहिरी विकास स्वभाविक भए पनि मानसिक अर्थात अन्तर विकासविनाको बाहिरीपन मुर्दागहनाभन्दा भिन्न हुँदैन भन्ने मार्मिक विचारको जगबाट उनका सबै खाले साहित्यिक सिर्जना अगाडि बढ्नु आफैँमा गहिरो कलासौन्दर्यको चेत हो र व्यावहारिक रूपमा पनि उनमा यो सर्वत्र देखिनु लेखकीय धर्मधारको उत्कृष्ट पक्ष हो ।
अपाङ्गमैत्री अवसर मिल्नु अपरिहार्य छ भन्ने सोच गाढा रूपमा रहनु यिनको अर्को सच्चा साहित्यिक मुटु हो । समस्या मात्र देखाउनु, समस्या सिर्जना गर्ने व्यक्तिप्रति तथानाम नाङ्गा गालीका शब्द बौछार गर्नु, आक्रोश पोख्नु, नारा ओकल्नु सच्चा साहित्यकारको अनुहार होइन । यो काम सामान्य मानिसले नै गरिहाल्छन् । समस्या, त्यसका कारण र कारक देखाउँदै सामाधानका सबल पक्ष समाहित भएको समग्रको सच्चा स्वरूप चाहिँ साहित्य हो, सबल स्रष्टत्वको सार्वकालिक विद्यमान हुने सङ्केत हो । यी कसीमा भाषिक सरलताका साथ लग्भग अर्जुनदेवका सम्पूर्ण कृतिहरू देखिन्छन्, त्यसमा पनि निकै उम्दो कृति हो औपन्यासिक कृति-‘दोस्रो जीवन ।’ यति गाढा र सम्यक साहित्यिक मनोलोकबाहक अर्जुनदेवको छातीमा स्टेथेस्कोप नझुण्डी सुरुदेखि नै मन र मस्तिष्कमा कलम मात्र झुण्डिएको भए यो स्रष्टत्व कुन उचाइ उक्लन्थ्यो-अनुमान मात्रको विषय हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच