काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाले तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । मंसिर १८ गते देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ विधाका विभिन्न इभेन्टमा सामुदायिक र संस्थागत गरी जम्मा ५३ विद्यालयबाट तीन हजार ४५४ जना विद्यार्थी खेलाडी सहभागी हुने जनाइएको छ ।
मेयर रनिङ शिल्ड प्रतियोगिताले खेलकुदका माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच सौहार्दता, सहकार्य, समन्वय र एकता भाव अभिवृद्धि भई विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, असल अभ्यासहरू आदानप्रदान गर्ने उपयुक्त वातावरण तयार हुने विश्वास नगरपालिकाले लिएको तारकेश्वरका प्रमुख कृष्णहरि महर्जनले आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
खेलमा प्रथम र द्वितीय मेयर रनिङ शिल्ड प्रतियोगितामा जस्तै प्रतिस्पर्धी विद्यालय तथा विद्यार्थी खेलाडीलाई प्रमाणपत्र, शिल्ड, मेडलका अलावा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद एक लाख, द्वितीय स्थान हासिल गर्ने विद्यालयलाई नगद ६० हजार, तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद ४० हजार र चौथो स्थान हासिल गर्ने विद्यालयलाई सान्त्वनास्वरूप नगद २० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
यस प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौँ संशोधन) को मापदण्डभित्र रहेर सञ्चालन गरिनेछ । राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका भलिबल, एथ्लेटिक्स, मार्सल आर्ट र कबड्डी खेलहरूका अतिरिक्त यस प्रतियोगितालाई थप आकर्षक र सहभागितामूलक बनाउनका निमित्त फुटबल, बास्केटबल, टेबलटेनिस र ब्याटमिन्टनजस्ता लोकप्रिय खेलहरूसमेत समावेश गरिएको छ । यस प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन राष्ट्रिय खेलकुद परिषद्ले निर्धारण गरेको मापदण्डबमोजिमका रेफ्रीहरूको व्यवस्था गरिएको छ । प्रतियोगिता २०८१ मंसिर १८ गते सुरु भई मंसिर २५ गते समापन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच