नेपाल प्रिमियर लिग (एनपिएल) को औपचारिक सुरुवातसँगै नेपाली क्रिकेटमा एउटा नयाँ अध्यायको थालनी भएको छ । एनपिएलको तामझाम, सहभागी टोली तथा खेलाडी र समर्थकको उत्साहले यो एउटा प्रतियोगिता मात्रै नभएर नेपाली क्रिकेटको एउटा अध्याय बनेको छ । एनपिएल आयोजनाले नेपाली क्रिकेटमा एउटा नयाँ युग सुरु भएको संकेत गरेको छ । जसले नेपाली क्रिकेटलाई थप रोमाञ्चक र विश्वव्यापीकरणमा ठूलो मद्दत गर्नेछ । एनपिएलमा सबैभन्दा बढी उत्साह छ । पहिलो खेलको टिकट बिक्रीमै सकर्थकको तँछाडमछाडले एनपिएलको उत्साह देखाउँछ । उद्घाटनको टिकट दुई दिनमै सोल्ड आउट भएको थियो ।
विदेशी खेलाडीहरूको चासो, सहभागिता र विदेशी च्यानलबाट हुने प्रशारण खेल पर्यटन प्रवद्र्धनको सबैभन्दा छोटो र प्रभावकारी बाटो हो । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति धेरैको चासो बढेको छ । एनपिएलप्रतिको उत्साह नेपालमा मात्रै सीमित छैन । नेपाली रहेको विश्वका कुनाकुनामा एनपिएलको रौनक छाएको छ । नेपाली माझमात्रै होइन विदेशी समुदायले पनि चासो देखाएको छ ।
नेपाली क्रिकेटको विकास र लोकप्रियता अन्तर्राष्ट्रिय स्तरमा फैलाउन पनि एनपिएल एउटा माध्यम बन्नेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण बहुचर्चित भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले गरिरहेको छ । जसले एनपिएल र नेपाली क्रिकेटलाई विश्वव्यापी बनाउन मद्दत गर्नेछ । यसको प्रचार-प्रसार र ग्लोबल मिडिया कवरेजले नेपाली क्रिकेटलाई विश्वभर चिनाउन मद्दत पुर्याउनेछ । भारतीय च्यानल स्टार स्पोर्ट्स, डिस मिडिया नेटवर्कमार्फत् अनलाइन, अफलाइन दुनियाँका दर्शकमा फराकिलो पहुँच छ ।
प्रतियोगिताका निम्ति आठ फ्रेन्चाइज टिमले भित्र्याएका केही चर्चित विदेशी अनुहार पनि विश्व मञ्चमा नेपाली क्रिकेटलाई पुर्याउने माध्यम हुन् । पहिलो पटक आयोजना भइरहेको एनपिइएलमा फ्रेन्चाइज टोलीमा विभिन्न टोलीले टेष्ट र एसोसिएट राष्ट्रबाट विश्व क्रिकेटमा नाम कमाएका खेलाडी अनुबन्ध गरेका छन् । उनीहरूको आगमनले पनि एनपिएलले विश्व क्रिकेटको ध्यान खिच्न सफल भएको हो । नेपाली क्रिकेट खेल होइन, झण्डै सय करोड हाराहारीको एउटा उद्योग बनेको छ । यसमा ओइरिएको लगानीले नेपाली क्रिकेटलाई नै माथि पु¥याउन मद्दत गर्नेछ । सार्वजनिक-निजी साझेदारीको नयाँ सुरुवात हो । क्यान र फ्रेन्चाइज टोलीबीचको आम्दानी बाँडफाँटको खाका अन्य खेल संघ र प्रतियोगिताका लागि नमुनामात्रै होइन, लगानी अनुसार प्रतिफलको अभ्यास पनि हो ।
एनपिएलको विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने छन् । जुन आफैंमा ठूलो धनराशी हो । क्यानले उपविजेता टोलीलाई ५० लाख, तेस्रो हुने टोलीलाई ३० लाख र चौथोलाई २० लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
नेपाली क्रिकेटका लागि एनपिएल आयोजना हुनु ठूलो उपलब्धि हो । देशविदेशका नेपाली र विदेशी क्रिकेट प्रेमीहरूले समेत यो प्रतियोगितालाई चासोपूर्वक लिएका छन् । क्रिकेटप्रति नेपालीहरूले देखाएको उत्साह र समर्पणले क्यानलाई पनि ऊर्जा थपिएको छ । क्रिकेटप्रेमीको उत्साहलाई निरन्तरता दिन र नेपाली क्रिकेटको विकासका लागि क्यानले अझ धेरै काम गर्न बाँकी छ । सुरुवाती संस्करणमा हुनुपर्ने वा अपेक्षा गर्न सकिने केही गुण भने एनपिएलमा देखिएको छैन ।
पारदर्शिताको सवालमा एनपिएलबाट अलि बढी नै अपेक्षा गरिएको थियो । फ्रेन्चाइज टोलीमा लगानीको मोडालिटी, टिम मालिकहरूको पृष्ठभूमि, लगानीको स्रोत र प्रायोजनमा आगामी दिनमा अनेकौं प्रश्न पक्कै उठ्ने छन् । मार्केटिङ राइट्स, टेलिभिजनबाट हुने प्रत्यक्ष प्रशारणको सवालमा प्रश्न उठिसकेको छ । प्रतियोगिता आयोजना र प्रचारप्रसारमा ठूलो लगानी गरेको क्यानले टिकट काटिसकेका दर्शकलाई भने व्यवस्थित गर्न सकेको छैन । उद्घाटन खेलमा टिकट काटेका केही दर्शकले मैदान छिरेर खेल हेर्न पाएनन् । यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
पछिल्लो समय नेपालको क्रिकेट क्रेज बढे पनि घरेलु प्रतियोगिताहरू अपेक्षाकृत हुन सकेका थिएनन् । अब यस्ता बहुचर्चित प्रतियोगिताले नेपाली क्रिकेटको भविष्य र सम्भावनाका नयाँ ढोका खुल्नेछन् । नेपाली खेलाडीहरूले खेल्ने र आफूलाई प्रमाणित गर्ने अवसर सिर्जना गर्नेछ । प्रतियोगिताले केही नयाँ स्टारहरू पनि जन्माउनेछ । यसले खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसरमात्रै दिन्न बरू नेपाली क्रिकेटको स्तर वृद्धि गर्ने अवसर सिर्जना गर्नेछ । यस्ता ठूला साना घरेलु प्रतियोगिता आयोजनालाई क्यानले निरन्रता दिनुपर्ने आवश्यकता छ । यसपटक कीर्तिपुर मैदानलाई चिटिक्क पारिएको छ । दर्शकका लागि जोन छुट्याएर निश्चित संख्यामा मात्र राख्ने गरी निर्माण सम्पन्न गरेको छ । सधैं दर्शकका लागि शौचालय नभएको समस्या यसपालि समाधान भएको छ । महिला र पुरुष दर्शकका लागि अलग-अलग बाथरूम व्यवस्था भएको छ । दर्शकले देखाएको उत्साह, माया खेल पूर्वाधारमा चाहिए जति लगानी बढाउन सरकारलाई प्रष्ट सन्देश हो ।
अन्ततः नेपाल प्रिमियर लिग एक अविस्मरणीय क्रिकेट उत्सव बन्नेछ, जसले नेपालको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ । यसबाट नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय सफलता सुनिश्चित हुनेछ । यसले नेपाली क्रिकेटलाई साँचो अर्थमा ग्लोबल मञ्चमा स्थापित गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच