लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित वार्षिक कार्यक्रम अभिव्यक्ति शृंखला पन्ध्रौं संस्करण सम्पन्न गरिएको छ । शनिबार टिडवर्थमा सम्पन्न भएको कार्यक्रममा स्रष्टा नरेश नातिलाई मञ्च प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष टंक वनेमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुव्बा प्रमुख अतिथि रहनुभएको थियो ।
अतिथिहरूमा पाचँथर सेवा समाज, बेलायतका अध्यक्ष तथा साहित्यकार शान्ति लिम्बु, खोटाङ सेवा समाज, बेलायतका महासचिव तथा गीतकार चन्द्रजयपाल राई, गायिका सुनिता थेवे समाजसेवी तथा राजनीतिकर्मी नरकुमारी लिम्बु र बृगेट अफ गोर्खाजका उच्चपदस्थ सैनिक अधिकृतहरू उपस्थित रहनुभएको थियो ।
कार्यक्रममा स्रष्टा नरेश नातिलाई मञ्च प्रदानसँगै प्रमुख अतिथि प्रमुख सुव्बा र सभाध्यक्ष वनेमले नेपाली टोपी र ताम्रपत्रद्वारा सम्मान गर्नुभएको थियो । लोकप्रीय गीत, मुक्तकहरू प्रस्तुत गरिएको अभिव्यक्ति शृंखलामा वरिष्ठ गायक गोपाल योञ्जनको देशभक्ति गीत ‘बनेको छ पहराले यो छाती मेरो’ गाएर एकल प्रस्तुति सुरु गर्नुभएको थियो । उहाँले स्वर सम्राट नारायण गोपालको स्वर, संगीत र ईश्वर वल्लभको शब्द रहेको गीत ‘दुइटा पूmल देउरालीमा’, नारायण गोपालकै स्वर, संगीत र भैरवनाथ रिमालको शब्द ‘जुन पूmल मैले चाहेको थिए’, भीम विरागको शब्द, मदन क्षेत्रीको संगीत र नारायण गोपालको स्वर रहेको ‘कसरी म भुले’जस्ता कालजयी गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी उहाँले दिनेश सुव्बाको शब्द, संगीत र रामकृष्ण ढकालको स्वर रहेको ‘हाम्रो सुन्दर संसार थियो हुरीआई उडाई दियो’, भजन शिरोमणि भक्तराज आचार्यको कालजयी गीत ‘म कही कतै हराए भने’, नरेश नातिको शब्द, चोक गुरुङको संगीत र राजेश पायल राईको स्वर ‘पहाड चढ्दै तराई झर्दै उमेर गयो नि ! हौ’लगायत गीतहरू नातिले प्रस्तुत गर्नुभएको थियो । उहाँलाई वाद्यवादनतर्फ प्रदीप राई, खेम गुरुङ र हेमकर्ण राई र भोकलमा गायिका सुनिता थेवे लिम्बुले साथ दिनुभएको थियो ।
उहाँले डेढघण्टाको समयमा दर्जनभन्दा बढी लोकप्रिय तथा कालजयी गीतहरू, बीचबीचमा गजल र चोटिलो मुक्तक वाचन गर्नुभएको थियो । मिक्लाजुङ गाउँपालिका-६, कन्याटार, पाँचथरका स्रष्टा नरेश नातिले विद्यालय अध्ययनको समयदेखि लेख्न सुरु गर्नुभएको हो ।
उहाँको पहिलो कृति ‘बाटो खोज्दा खोज्दै’ गीतिसंग्रह सन् २००९ सालमा प्रकाशित भएको थियो । दोस्रो कृति ‘देश बिर्सेर’ कथासंग्रह सन् २०१८ साल र तेस्रो कृति ‘मन बैमानी’ मुक्तकसंग्रह सन् २०१९ सालमा प्रकाशित भइसकेको छ । यसैगरी संयुक्त मुक्तकसंग्रह ‘मुक्तक महक’ सन् २०१७ सालमा बेलायतबाट प्रकाशित भएको थियो । नाति कथा, कविता, गीत र मुक्तक विधाका साथै संगीत सिर्जना, गायन, वाद्यवादन कलामा समेत अब्बल साधकका रूपमा सुपरिचित हुनुहुन्छ । नाति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतसँग आवद्ध हुनुहुन्छ भने बेलायती गोर्खा सैनिक सेवामा सेवारत रहनुभएको छ ।
दुई चरणमा विभाजन गरिएको कार्यक्रमको पहिलो महासचिव चोक गुरुङ र दोस्रो सचिव अञ्जु अञ्जलीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष देवेन्द्र खेरेसले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा संगोजक संस्थाका उपाध्यक्ष मिजास तेम्बे, पूर्वअध्यक्षहरू रक्ष राई, गणेश राईलगायत संस्थाका पदाधिकारी साथै साहित्य संगीतप्रेमीहरूको बाक्लो उपस्थिति थियो ।
सन् २००७ सालबाट सुरु गरिएको अभिव्यक्ति शृंखला कार्यक्रममा सहभागी स्रष्टाहरू सन् २००७ संगीतकार चोक गुरुङ, २००८ साहित्यकार दयाकृष्ण राई, २००९ साहित्यकार टंक वनेम, २०११ संगीतविज्ञ किशोर गुरुङ, २०१२ साहित्यकार अञ्जु अञ्जली, २०१३ पप गायक नोर्देन तेन्जिङ भुटिया, २०१४ नाट्यकर्मी शशी थापा सुब्बा, २०१५ साहित्यकार रक्ष राई र २०१६ कवि तथा गीतकार निर्मला ‘परिवेश’ राई हुनुहुन्छ ।
यसैगरी सन् २०१७ सालमा कवि डा.रूपक श्रेष्ठ, सन् २०१८ सालमा साहित्यकार गणेश राई र सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्याक्ति शृंखलाको मञ्च प्रदान गरिएको थियो । सन् २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन । सन् २०२१ सालमा भर्चुअलमार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो भने सन् २०२३ सालको अभिव्याक्ति शृंखलाका लागि गायक धन ‘किरण’ गुरुङलाई मञ्च प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच