डिजिटल प्रविधिको युवामा प्रभावसम्बन्धी बहस कार्यक्रम सम्पन्न

अविजित पन्थी
Read Time = 5 mins

अर्घाखाँची । स्काउट शान्ति तथा सुरक्षा समुह लुम्बिनी प्रदेशको आयोजनामा तथा लुम्बिनी प्रदेश स्काउटको सहयोगमा युवाहरूमा डिजिटल प्रविधिको प्रभाव विषयक बहस कार्यक्रम अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । फिनल्याण्ड-नेपाल शान्ति शिक्षा साझेदारी अन्तर्गत सञ्चालित यस कार्यक्रममा प्रमुख अतिथिहरू, युवा नेताहरू, स्काउट प्रतिनिधि र स्थानीय सरोकारवालाको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (DSP) चक्र बहादुर मल्ल, जिल्ला युवा परिषद्का अध्यक्ष लिला विक, नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यसमिति सदस्य सिर्जना आचार्य, अर्घाखाँची आवासीय माविका प्रबन्ध निर्देशक श्रीकृष्ण भुसाललगायत अन्य थुप्रै विशिष्ट व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा प्रमुख वक्ता डीएसपी चक्र बहादुर मल्लले बालबालिका र युवाहरूमा बढ्दै गएको साइबर अपराध, अनलाइन ठगी, र इन्टरनेट लतबारे गहिरो विश्लेषण प्रस्तुत गर्नुभयो । उहाँले हालैका केही उदाहरणहरूसहित प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौतीहरूको चर्चा गर्नुभयो । मोबाइल गेमिङ, बैंक ह्याकिङ र वृद्धभत्ता ठगीका घटनाहरूलाई रोक्न कानूनी सशक्तिकरण र सामुदायिक सचेतनाको खाँचो रहेको उहाँले औंल्याउनुभयो ।

त्यस्तै जिल्ला युवा परिषद्का अध्यक्ष लिला विकले प्रविधिको सदुपयोगमार्फत शिक्षा, रोजगारी, र व्यवसायिक अवसरहरू सिर्जना गर्न सकिने धारणा राख्नुभयो । साथै, उहाँले डिजिटल साक्षरता, सुरक्षा उपायहरू र सामुदायिक सचेतना अभियान सञ्चालनका लागि सरकार र युवा संस्थाहरूको सहकार्यको आवश्यकता रहेको बताउनुभयो।

नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यसमिति सदस्य सिर्जना आचार्यले प्रविधिको कारण बालबालिकाको पढाइमा आएको परिवर्तनबारे आफ्नो विचार राख्नुभयो। उहाँले विद्यार्थीहरूमा समूह छलफलको कमी र प्रविधिमा अत्यधिक निर्भरता देखिएको उल्लेख गर्नुभयो । प्रविधिको सकारात्मक प्रयोग गर्नका लागि अभिभावक र शिक्षकहरूले मार्गदर्शन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासलाई प्रविधिको दुरुपयोगले असर पारेको बताउनुभयो । उहाँले कक्षा १ देखि ९ सम्मका विद्यार्थीले मोबाइल प्रयोगमा रोक लगाउनुपर्ने र उच्च कक्षामा पढ्ने विद्यार्थीले शिक्षकको अनुमतिमा मात्र मोबाइल चलाउनुपर्ने नियम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यस बहस कार्यक्रमले युवामा डिजिटल प्रविधिको सकारात्मक र नकारात्मक दुवै पक्षबारे जानकारी दिनुका साथै यसको सही प्रयोगका लागि शिक्षादेखि कानूनी व्यवस्था सम्मका विषयलाई समेटेको छ । कार्यक्रममा सहभागि वक्ताहरूले युवालाई जिम्मेवार डिजिटल नागरिक बनाउन शिक्षा र सचेतनाका माध्यमबाट प्रभावकारी योजना अगाडि सार्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमले प्रविधिको सदुपयोग गरी समाज र राष्ट्रको समृद्धिमा योगदान गर्न युवा पुस्तालाई प्रेरित गरेको छ । यस कार्यक्रमबाट युवाहरूले नयाँ सोच, सकारात्मक दृष्टिकोण र प्रविधिलाई जिम्मेवार रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन रेञ्जर स्काउट अमृत सुनारले गर्नुभएको थियो भने रोभर/रेञ्जर स्काउट, स्काउट मास्टर र गैर-स्काउट युवाहरूको उत्साहजनक सहभागिता रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?