स्थानीय निर्वाचनका अढाइ वर्षको मूल्यांकन हालै सम्पन्न उपनिर्वाचनको परिणामले गरेको छ । एक्लाएक्लै निर्वाचन लड्दा हुनसक्ने परिणामको यो पूर्वसंकेत हो । ०७९ वैशाख र जेठमा भएको स्थानीय निर्वाचनमा विजयी उम्मेदवारहरूको स्थान विभिन्न कारणले रिक्त भएपछि सम्पन्न यो निर्वाचनले पुराना स्थापित दलहरू र नयाँ सबैको आजसम्मको स्थानको ऐना जनताले देखाइदिएका छन् । चवालीस स्थानमा भएको निर्वाचनले गुणात्मक रूपले कांग्रेसलाई र संख्यात्मक रूपले माओवादीलाई समर्थन मिलेको छ । राजधानीका सचेत मतदाता रहेको कामनपा वडा नं–१६ भने राष्ट्रिय स्वतन्त्र पार्टीका हातमा पुगेको छ । आफ्ना पार्टी अध्यक्षको अराजक र विवादास्पद कामलाई प्रतिरक्षा गर्दै सिंगो पार्टी पंक्ति उभिएको भए पनि सचेत जनताले त्यही पार्टीलाई समर्थन गर्नु आश्चर्यजनक विषय हो । पुराना पार्टी र नेतृत्वप्रतिको नकारात्मक प्रतिक्रिया हो भनेर माने पनि यो सानो दृष्टान्त महत्वपूर्ण संकेत हुनसक्छ ।
०७९ मा निर्वाचित सदस्य तथा पदाधिकारीहरूको मृत्यु तथा अन्य कुनै कारणबाट रिक्त हुन आएका स्थानीय निकायमा निर्वाचन भएर त्यसको परिणामसमेत आइसकेको अवस्थामा पार्टीहरूले गम्भीर आत्मसमीक्षा अनिवार्य देखिएको छ । गत आइतबार सम्पन्न अत्यन्त स्वच्छ र शान्तिपूर्ण सम्पन्न निर्वाचनको परिणाम पहिलेको भन्दा केही फेरबदल भएर आएको स्पष्ट छ । सतहमा हेर्दा परिणाम ठूला तीन दलले नै प्राप्त गर्न सफल भएका छन् । यसबाट अझै नेपालको राजनीतिमा ठूला तीन दलहरूको अवस्था कमजोर भएको छैन भन्ने देखिन्छ । ती तीन दलको कार्यशैली, तिनको दीर्घकालीन सत्तारोहणलगायत विषयलाई लिएर जनस्तरबाट र अन्य दलहरूबाट समेत व्यापक विरोध हुने गरेको भए पनि अन्नतः तिनकै वर्चस्व नेपाली राजनीतिमा कायम रहेको यस परिणामबाट देखिन आयो ।
कतिपय वडापालिकामा नेपाली कांग्रेसले आफूले पहिले जितेको पदहरू जोगाउन सकेन । त्यसले गर्दा गत आमनिर्वाचनका बेला माओवादीसँग भएको गठबन्धनबाट ती ठाउँहरूमा पहिले विजयी भएको रहेछ भनेर पुष्टि हुन पुगेको छ । गठबन्धन गरेर भागबण्डा गर्दा निश्चय केही सजिलो गरी जित्न सकिने स्थानहरू अर्को पार्टीलाई छोड्नुपर्दा र अर्को पार्टीले पनि त्यहाँ विजय हासिल गर्न नसक्दा पछुताउनु परेको थियो होला । त्यस्ता चर्चाहरू त्यसबेला सतहमै पनि आए । त्यसलाई गलत हो भन्न सकिने अवस्था थिएन । यस्तो विश्लेषण कुनै एक पार्टीमा मात्र भएको थिएन । कांग्रेसको राम्रो ठाउँ माओवादीलाई र माओवादीको राम्रो स्थान कांग्रेसलाई बण्डा मिलाउन छोड्नु पर्दा ती केही स्थानहरू अर्को प्रतिस्पर्धी पार्टीले हात पारेको अवस्था थियो ।
त्यसबेला गठबन्धन गर्नु गल्ती गरिएछ, हामी एक्लै लडेका भए यसभन्दा बढी स्थानमा विजय गरिन्थ्यो भनेर पार्टीका नेताहरूले भन्ने गरेको सुनिन्थ्यो । तर, अहिले आएर यस परिणामलाई हेर्दा पहिलेको परिणामभन्दा किन भिन्न परिणाम आयो त भन्ने प्रश्न गर्न सकिन्छ । गत निर्वाचनमा एक्लै लडेको नेकपा एमाले सांगठनिक हिसाबले अरूभन्दा सशक्त रहेको भए पनि यो पटक कतिपय क्षेत्रमा कमजोर देखिएको छ । यसबाट आआफ्नो वर्चश्व भएका ठाउँमा अहिले आफ्नो मत प्रतिशत कायम गरी परिणाम प्राप्त गर्न सकेको हो भन्ने देखिन आएको छ । यसरी तीनै दलले आफ्नो आफ्नो सामथ्र्य यस पटकको स्थानीय तहको निर्वाचनमा देखाएका छन् र प्राप्त गरेका छन् । जे भए पनि निर्वाचन परिणाम तीन ठूला दलकै वरिपरि घुम्न पुगेको छ र यसरी नै आगामी दिनहरूमा पनि विरोध, आलोचना, गालीलगायतको वर्षाका बाबजुद ठूला पार्टीहरू नै अग्रपंक्तिमा उभिन सफल बन्ने रहेछन् भन्ने देखिन आएको छ ।
वास्तवमा यो त एउटा नमुना वा उदाहरण हो तर यसले नै पछिल्ला दिनहरूको समेत संकेत गरेको छ । माओवादी संसद्मा तेस्रो ठूलो पार्टी हो तर पहिलो नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेभन्दा यो दल धेरै पछि छ । नेपाली कांग्रेस पार्टीसँग गठबन्धन गरेरमात्र ३२ स्थान सांसद विजय गर्न सकेको हो र अब एक्लै निर्वाचनमा जानुपरेको खण्डमा यसको पत्तासाफ हुन्छ भनेर जुन अड्कलबाजी गरिएका थिए, ती सत्य सावित हुन सकेनन् । स्थानीय तहको उपनिर्वाचनमा कसैसँग गठबन्धन नगर्दा पनि केही स्थानमा जित हात पारेर आफ्नो उपस्थिति देखायो । माओवादी अब निमिट्यान्न हुन्छ भन्ने गरिएकोमा त्यसो भएन । एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले विजय हात पार्नु निश्चय विमर्शको विषय भएको छ ।
यस पार्टीका सभापति पक्राउ परिरहेको र यो पार्टीको स्थायित्वमा प्रश्न उठाइँदै गरेको बेला यसले एक ठाउँमा विजय हासिल गर्नुले रास्वपाको अवस्था सोचे जस्तो कमजोर भएको छैन भन्ने देखिन आएको छ । यी सबैलाई छाडेर यो पटक सबैभन्दा बढी कीर्तिपुरको मेयरको स्थान आकर्षणमा थियो । नेपाली कांग्रेस पार्टीका महामन्त्री गगन थापाले त्यहाँ गरेको भाषण चौतर्फी हाँसोको विषय बनाइएको थियो तर त्यहाँको मेयरसहित अरू दुई वडाध्यक्षमा समेत विजय हात पारेर कांग्रेसले आपूm अझै पनि नेपालको प्रमुख र शक्तिशाली पार्टी भएको प्रमाणित गरेको छ । यी सबै नतिजालाई हेर्दा नेपालको राजनीतिको अस्थिरता पनि देखिन आएको छ । पहिलेको नतिजामा व्यापक हेरफेर भएको छ ।
दलहरूको ध्यान आफ्नो स्थान जोगाउनेभन्दा अर्काको स्थान खोस्नेतिर गएको जस्तो देखिन आयो । यसले गर्दा आफूले पहिले विजयी भएका स्थानमा पराजय र पहिले पराजित भएका स्थानमा दलहरूले विजय हात पारेका छन् । केही स्थानलाई अपवादमा लिने हो भने निर्वाचन परिणाम चाहिँ यिनै तीन दलहरूकै पक्षमा आएको छ । यस परिणामले गर्दा अर्काको खोस्ने प्रयासका साथै आफ्नो ठाउँ जोगाउन सक्नुपर्ने रहेछ भन्ने पाठ दलहरूले सिकेको हुनुपर्छ । माथि नै भनियो यो नमुना हो यसलाई हेरेर दलहरूले आफ्ना भावी कार्यक्रम बनाउँदा उपयुक्त हुन आउँछ । आगामी निर्वाचनका लागि यस परिणामलाई समेत दृष्टि दिनुपर्ने आवश्यकता दलहरूले महसुस गर्न सके त्यसबाट तिनीहरू नै लाभान्वित बन्न सक्नेछन् ।
यो हालका लागि आएको परिणाम मात्र होइन यसले आगामी २०८४ को नतिजाको संकेत पनि गरेको छ । त्यो अब धेरै टाढाको कुरा होइन । कुनै तिलस्मी परिवर्तन नआएकाखण्डमा अबको दुई/तीन वर्षपछि आउने उक्त निर्वाचनमा खासै धेरै ठूलो बदलाव आउने छैन र यस्तै मिश्रित नतिजा आउन सक्नेछ । यस निर्वाचन परिणामले त्यस बेला पनि यस्तै मिश्रित परिणाम आउनसक्ने कुराको संकेत गरेको छ । यो संकेत कुनै एउटा निश्चित पार्टीका लागि मात्र सिक्नुपर्ने पाठ होइन, सबै पार्टीका लागि देखिन आएको पाठ हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच