काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)बारे निकै हल्लाखल्ला भयो । बिआरआईबारे सत्तारूढ नेपाली कांग्रेस र एमालेबीच एकमत नहुँदा गठबन्धनकै गाँठो खलबलिने सम्मका चर्चा भए । बिआरआइकै कारण सत्ता समीकरणमा कुनै असर नपर्ने दुई दलकै नेताहरूले स्पष्टीकरण दिनुपर्ने अवस्था आयो । घनिभूत छलफलपछि चीनले पठाएको कार्यायोजनाको नाम परिवर्तन गरेर ‘बिआरआई सहकार्य फ्रेमवर्क’ भन्दै ऋण नलिने तर, अनुदान स्वीकार्ने मध्यमार्गी बाटो दुई दलले पहिल्याए । दुई दलको त्यही सहमतिअनुसार नेपालले ऋण नलिने गरी चीनलाई प्रस्ताव फिर्ता पठाएको थियो ।
तर, काठमाडौंमा चर्चा भएजस्तो बिआरआई कोअपरेसन फ्रेमवर्कमा हस्ताक्षर हुने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणअघि खुबै उठेका विषय थिए । ती दुवै एजेण्डा प्रधानमन्त्रीको तहमा समझदारी भएन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिनेगरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि बिआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेको हो । नेपाली पक्षले तयार पारेको सहकार्य फ्रेमवर्क भित्रका केही शब्दमा चिनियाँ पक्ष सहमत नभएपछि मस्यौदामा हस्ताक्षर नभएको भ्रमणमा सहभागी एक अधिकारीले बताउनुभयो ।
दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको दुई पक्षीय सहमति पत्रमा हस्ताक्षर हुँदा पनि बिआरआईको विषय उल्लेख छैन । केही दिनअघि नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच छेन्दुमा भएको भेटघाटमा पनि बिआरआईका कुनै सहमति जुट्न सकेको थिएन । परराष्ट्र मन्त्रालय प्रवक्ता कृष्णप्रसाद ढकालले बेइजिङस्थित ग्रेट हल अफ् द पिपलमा प्रेसलाई दिएको जानकारीमा बिआरआई भन्ने शब्दै उच्चारण भएन । नेपालमा खुब हल्ला भएको फ्रेमवर्क सहमतिको पनि त्यहाँ कुनै चर्चा भएन । पोखरा विमानस्थलको ऋण मिनाहाका लागि केही महिनाअघि अर्थ मन्त्रालयले चीनलाई पत्र पनि पठाइसकेको थियो । तर, समझदारीमा उक्त विषय पनि उल्लेख छैन ।
नेपाल-चीनबीच नौ सम्झौतामा हस्ताक्षर
नेपाल र चीनबीच नौ समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी नौ सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका हुन् । यसैगरी, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदान–प्रदानका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको उहाँले बताउनुभयो । ‘सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ,’ उहाँले भन्नुभयो । प्रवक्ता ढकालका अनुसार विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको छ । त्यस्तै, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको उहाँको भनाइ छ ।
राष्ट्रपति सीसहित उच्च अधिकारीसँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो बेइजिङको देउताई स्टेट गेष्ट हाउसको भिल्ला नम्बर १२ मा राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभएको हो । पहिलोपटक प्रधानमन्त्री हुँदा ओली २०७२ चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमणमा गएका बेला सीसँग भेट गर्नुभएको थियो । त्यसपछि दोस्रोपटक २०७५ मा प्रधानमन्त्री भएपछि २०७५ असार ६ गने सीसँग दोस्रोपटक भेटवार्ता गर्नुभएको थियो । तेस्रोपटक प्रधानमन्त्री भएपछि चारदिने चीन भ्रमणका क्रममा ओलीले मंगलबार पुनः भेटवार्ता गर्नुभएको हो । यसअघि, राष्ट्रपति सी दुईदिने नेपाल भ्रमणमा आउँदा २०७६ असोज २६ मा पनि ओलीसँग भेट भएको थियो । राष्ट्रपतिलाई भेट्नुअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा दुई देशका अधिकारीले सहमति/समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
भेटवार्ताका क्रममा दुवै देशका प्रतिनिधिमण्डल सहभागी थिए । नेपाली प्रतिनिधि मण्डलमा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी हुनुहुन्थ्यो । वार्ता र सहमति हस्ताक्षरपछि प्रधानमन्त्री ओलीको स्वागतमा चिनियाँ प्रधानमन्त्रीले जनबृहत सभा भवनमा दिवा भोजको आयोजना गर्नुभएको थियो । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।
प्रधानमन्त्री ओलीले चिनियाँ जनक्रान्तिका शहीदका स्मारकमा पुष्पहार अर्पणगरी श्रद्धाञ्जलीसमेत प्रकट गर्नुभयो । दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा
चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सो घोषणा गर्नुभएको हो । चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्तापश्चात् नेपाललाई चीनले पाँच सय मिलियन आरएमबी (करिब नौ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको छ । सीले अनुकूल समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले बताउनुभयो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारत भ्रमण जाने अघोषित परम्परा तोडेर ओलीले उत्तरको यात्रा तय गर्नुभएको थियो । सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
चिनियाँ उपप्रधानमन्त्री र झलनाथ खनालबीच छलफल
साताव्यापी चीन भ्रमणमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चिनियाँ उपप्रधानमन्त्री दिङ छुएस्याङसँग भेटवार्ता गर्नुभएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको छलफल तथा भेटवार्ताका क्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणका सन्दर्भमा छलफल भएको बताइएको छ । छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलियालगायत देशका पूर्वप्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी हुनुहुन्थ्यो । छलफलमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्सँग बेल्ट एन रोड इनिसिएटिभ (बिआरआई)को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबीच रेलवे निर्माण सहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको खनालको निजी सचिवालयले जनाएको छ । करिब तीन घण्टा भएको सामूहिक छलफलका क्रममा उपप्रधानमन्त्री छुएस्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया ४६ वर्षमा सुधारको प्रक्रियाबारे प्रकाश पार्नुभएको थियो ।
अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउने
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउनुहुने भएको छ । दक्षिण एवं मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका र नेपाल भ्रमण गर्नुहुने भएको हो । उहाँको भ्रमण ३ डिसेम्बरदेखि १० डिसेम्बर सम्मको हुनेछ । अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारीअनुसार सहायक विदेशमन्त्री लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरूसँग भेटवार्ता पनि गर्नुहुने छ । भेटवार्ता पर्यावरण संरक्षण, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । लु अमेरिकी विदेश मन्त्रालयका प्रभावशाली सहायकमन्त्री मध्येका हुनुहुन्छ । उहाँले यसअघि पनि तीनपटक नेपालको भ्रमण गरिसक्नु भएको छ । पछिल्लोपटक उहाँ गत वर्ष असार २९ गते पनि नेपाल आउनुभएको थियो । त्यसअघि नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारितको चरणमा रहेको अवस्थामा उहाँ अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आउनुभएको थियो । अमेरिकी विदेश मन्त्रालयमा ३० वर्षभन्दा बढी समय सेवा गर्नुभएका लु सन् २०२१ को १५ सेप्टेम्बरमा अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिलाको ब्युरोमा सहायक विदेशमन्त्री नियुक्त हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच