मैले त गरेँ है छाक्खल्को
सँगैजस्तो स्वतन्त्र भएका देश हुन् भारत, चीन र नेपाल तर चीन-भारतले आशातीत सफलता प्राप्त गरेर सुख र समृद्धिको शिखरका टुप्पामा पुग्दा पनि अविकास, अन्धविश्वास, दलीय झगडा, अनिकाल र भोकमरीका भुमरी जस्ता समस्या नेपालले आज पनि भोग्नुपरेको देख्दा आश्चर्य लाग्नु पनि स्वाभाविक नै हो भनेर एकजाना वाम मित्रले मलाई दाँत भाँच्चिने गरी मुड्कीले मुखमा हानेपछि मेरो गिदी सल्बलाउन थालो । त्यत्तिबेला म किरातेश्वरका स्तोत्र पढेर जम्लाहात गरी ढुंगालाई विनतशिर ढोग्दै थिएँ ।
ती वामका बाणले काम गरेको देखेर मैले पनि एकजाना काँगडीको पहिला सातो बोलाएँ र वामलाई ‘तिमीले ढुंगालाई ढोगेको देखेछौ, मैले त्यसमा यो विश्वब्रहृमाण्ड बनिँदै भत्कँदै गरेको देखेको छु र त्यो ढुंगो नभएर त्यो त ब्रहृमाण्ड नै शरीर भएको देवाधिदेव जगदीश्वर साक्षात् पशुपतिनाथ आफ्नो सोरै कलाको ज्योति विष्फारण गरेर कौतुक गरिरहेका थिए । तिमी र म जस्ता अनन्त प्राणी त उनका रोमरोममा रहेका अनन्त ब्रहृमाण्डमा अनन्तै कर्म गरिरहेको देखेर नै म विनतशीर करबद्ध बनेर तिनलाई शरणागतोद्रहं भन्दै थिएँ’ भनेर ओठे जवाफ त लाएँ तर गिदीका कीरा भने सल्बलाएको सल्बलायै गर्न लागे । बेलुका घुम्न त्यता गएका थियौं हामी ।
कहिल्यै पनि कान्लामुनिबाट माथिल्ला गरामा जान नसक्ने भ्यागुतो बनेर दुनियाँ रुवाउनुभन्दा डाँडेलधुरे, झापाली र चितवनेले प्रायश्चित्त गर्ने बाटो खोज्नु राम्रो हो । प्रचण्ड प्रतापीको ठगीलाई पनि अब जुन जिल्लामा गए पनि छेपारो भनेर चिनेपछि साँधनको मुडो गिँडेर ल्याइदेला र जाडामा मजाले आगो तापौंला भन्ने दिवास्वप्न देख्न हामीले छोड्नुपर्छ ।
घरमा आएर ओछयनमा पल्टेर गिदी घुमाउन लागेँ । वाम भनेका आफ्नो गिदी र बुद्धिले भन्दा परम्परामा आएका जडसूत्रका आधारमा माक्र्सगायत्रीलाई कन्धने पण्डितले जनाई, कन्धनी र टुप्पीमा परिसीमित गरे झैँ माक्र्स, लेलिन र माउचाउमा सीमाबद्ध गरेर गरिब उद्धारका श्लोगनको मखुन्डो लाएर गरिबीको खेती गर्ने हली न हुन् । यसरी गिदी घुमाउँदाघुमाउँदै विश्वका वामकाङ सबै नाम चलेका नेताका करनी, कथनी र आचरणका साथै क्रियाकलाप पनि मेरा गिदीभरि भएर लहलहाउन लागे ।
जब म नेपालमा फर्कें अनि भने मनमोहन र बीपीबाहेक कुनै पनि आधुनिक नेपालको स्वप्नदर्शी नेता मैले न काँगडीमा न त वामडीमा नै देखेँ । दुवैतिर फटाहा, लुच्चा, ज्यानमारा, भातमारा, निहित स्वार्थी र देश पोलाहाको लामो लाइन देखेँ । मलाई त वाकवाकी लागेर खपिसक्नु नै भएन र स्नानागारमा पसेर चोर औंलो र माझी औंलो घाँटीसम्म पुर्याएर काँगडी र वामडीका नाममा छाक खल्को गरेँ । यत्र युका (जुका) प्रपूज्यन्ते रोदन्ति तत्र मानवाः अर्थात् जहाँ जुका पुजिन्छन् त्यहाँ मान्छे नरोएर के गरुन् विचरा !!!
कान्लामुनिको भ्यागुतो कान्लामुनि नै रमाउँछ
एकातिर खानलाउन नपाए पनि वक्वक गर्ने छुटका नाममा झूट, जाल, फरेव, शोषण र ठगी धन्दा गर्नेको बोलवाला दिनप्रतिदिन बढेको बढेकै छ । अर्कातिर माक्र्स, लेलिन, चाउमाउ, जि.सिङ.पिङ, चाउचेस्कु, ट्राटस्की, चेग्वेभारा, होचिमिहृनको नाम जपाएर जनतालाई भेडा बनाएर भ्याभ्या गराएर सुकेका पत्करसम्म खान नदिइकन मुखमा म्वाला लाएर, हातगोडा बाँधेर, चौखुर्याएर पृथ्वीलाई भूःस्वर्ग बनाउने र सर्वहारालाई न्याय दिने नाममा सर्वहारा बढाउने काम भएको भयै छ । यो देखेर विकास निर्माण राजनीतिक दर्शनले गर्ने हो कि व्यक्तिका चिन्तन, आचरण र सद्व्यवहार तथा जनताको सहयोगमा देश र जनताकै लागि अहोरात्र चिन्तन गर्ने खालका मान्छेका नेतृत्वले गर्ने हो भन्ने प्रश्न मेरा गिदीभरि सल्बलाउन लाग्यो ।
सिंगापुरको विकासको कुरो सम्झेँ, दक्षिण कोरियाको शिक्षा र विकासको इतिहासचक्र मेरा दिमागमा तरोताजा भएर आयो । पश्चिम जर्मनी र पूर्वी जर्मनीका कथा पनि गिदीमा सल्बलाउन लागे । समग्र भारत र पश्चिम बंगालको पच्चीस वर्षे वामजग्जगी कति मिथ्या र वाक्क लाग्दो रूपमा प्रकट भयो भन्ने पनि सम्झेँ । अमेरिकामा पाँचवटा राष्ट्रपति बदलिँदा पनि नेपालमा एकै शेर एकै खड्गले धोती फेरेको फेरेकै गरेको देखेपछि नेपाली जनता भएर मैले जन्मनुपरेकामा त्यो पाषाणमा लहराउने ज्योतिलाई पनि सरापेँ । जहिले पनि मानव भक्षी शेरको पूजा किन ? जहिले पनि मानव गर्दन गिँड्न चाहने अर्धसिल्ली खड्गको पूजा किन ? थुक्क हामी नेपालीको बुद्धि ।
एउटा खैरे भन्थ्यो रे ‘नेफालीको फु...हुँदैन’ हो पो रहेछ । ढुंगामा चेतनाको कल्पना गरेर हामी ढुंगै बनेछौं न लाज न घिन न शर्म वाह रे नेपाली जनता देशका असली मालिक हाय रे बुद्धिको उभिन्डो भाँडो । अमेरिकासम्म ठगेर नेपाल ठग्न फर्केका माथि हिरक्क भएर मर्ने चितवनेली हो ¤ डाडुमा पानी तताउन लाग र चुनावका बेला त्यसैमा डुबेर मर । रवि नामका अन्धकारलाई पठाएर विचरा सोझा सरल अशिक्षित गरिब, मकै पोलेर बेच्ने, भारी बोकेर दुई पैसा सहकारीमा जम्मा गर्नेलाई धर्धरी रुवाउनुभन्दा आफैं अपहत्ते गरी मर र प्रायश्चित्त त गर चितवनेली मतदाता तिमीहरूका बुद्धि र विवेकका पछि लागे रविले हवि बनाउने भयो सिंगै देशलाई ।
कहिल्यै पनि कान्लामुनिबाट माथिल्ला गरामा जान नसक्ने भ्यागुतो बनेर दुनियाँ रुवाउनुभन्दा डाँडेलधुरे, झापाली र चितवनेले प्रायश्चित्त गर्ने बाटो खोज्नु राम्रो हो । प्रचण्ड प्रतापीको ठगीलाई पनि अब जुन जिल्लामा गए पनि छेपारो भनेर चिनेपछि साँधनको मुडो गिँडेर ल्याइदेला र जाडामा मजाले आगो तापौंला भन्ने दिवास्वप्न देख्न छाड है मतदाता हो । तिमीहरूले बाटो बिराउँदा सिंगो देश धर्धरी रुन बाध्य भयो ।
उत्पद्यन्ते विलीयन्ते दरिद्राणां मनोरथाः
यो नीतिश्लोक हो । एकजाना मेरा मित्र भन्छन् यी श्लोक दैवीशक्तिबाट प्राप्त शाश्वत् ज्ञानका आधारमा बनेका हुनाले यिनको महत्व र प्रभावकारिता पनि त्रिकालव्यापी नै हुन्छ । जसरी गरिबका घरमा जन्मेको प्रतिभाले उपयुक्त वातावरण र शिक्षादीक्षाका अभावमा साधारण मान्छेभन्दा अलिकति प्रतिभावान् मात्रै बनेर जीवन धान्नुपर्ने अवस्था आउँछ त्यसैगरी गरिब देशका जनता र राजनीति कर्मी पनि गफाडी र सुनौला स्वप्न बाँड्ने तर योजना प्रविधि र बजेटका अभावमा तिनका गुड्डी हास्यसामग्री भएर रहन विवश हुन्छन् ।
यो देशका प्रधानमन्त्रीले नेपाली झन्डासहितको पानीजहाज विदेशी समुद्रमा चलाउने गुड्डी हाँकेको, स्वीच थिच्नेबित्तिकै भान्सामा भर्रर ग्याँस बल्ने, नेपालको राजमार्गका दुवै पाश्र्वबाट रेलमार्ग बनाएर देशभरि रेलमार्ग बनाउन कार्यालय खोलेको, डाँकाँडामा पङ्खा जडेर हावाबाट बिजुली निकाल्ने बतासे गफ गरेको दशक अलि नपुग्दै अर्का युवानेताले दिउँसै सपना देखेर कीर्तिपुरका डाँडामा बसेर महिनाको लाखौंलाख रुपैयाँ कमाउन सकिने गुड्डी हाँकेछन् । मञ्चमा बोल्दा त तीन त्रिलोक चौध भुवन जोड्न सजिलो हुन्छ तर काम गर्न भने पहिला नीति, योजना, प्रविधि विकास र पर्याप्त बजेट दिन पनि सक्नुपर्छ भन्ने कुरोमात्रै बिर्सेने होइन कि समय कति लाग्छ भन्ने पनि बिर्सँदारहेछन् ।
एक बोट केरा पसायो भने न्यूनतम पनि चार महिना लाग्छ पकाएर खानलायक बन्न भने देशमा नवप्रवर्तनका लागि लाग्ने समय र लगानीको व्यवस्था अध्ययन आदिका अभावमा बतासे कुरा गरेर आफूलाई हास्यपात्र धेरै किड्नीका धनीले बनाए पनि सम्भावना भएका युवकलाई पनि सँगको रंग लागेको देख्दा भने नहुने छोराको गनाउने मुख भन्ने उखान स्मरण हुँदोरहेछ । राजनीति भनेको चरित्र, सद्संकल्प, दृढता र निर्णय क्षमता भएका मान्छेले गर्ने कुरा हो । यसका अभावमा गरिने राजनीति शैलजा साहनाका कोटिमा पुग्दैन भन्ने वृन्दार्जु झाँक्री र अरू पनि ३३ प्रतिशत खोज्नेले बुझे राम्रो हुन्छ । भविष्यमा दुःख मानेर मलीन अनुहार बोकेर हिँड्नु नपर्ला ।
यस देशमा एकजना गिरिजाप्रसाद कोइराला मात्रै जे बोल्छन् त्यो गर्छन् भन्ने कुरो उनले स्थापित गराएका थिए । उनको दृढता र कौशल डा.शेखरले अलिअलि देखाउलान् भन्ने आस नेपाली जनताले गरेका छन् तर डा.शेखरले पनि बाहिरको टिप्दा खल्तीको खस्ला कि भनेर सोच्नु आवश्यक छ ।
सबै विद्या र ओली जस्ता भाग्यशाली हुन्छन् भन्न सकिँदैन । हुन त केबल भाग्यले बारम्बार प्रधानमन्त्री बनेका नेता नेपाली कांग्रेसमा नै भएका हुनाले धेरै कांग्रेसलाई लाग्दो हो म पनि त्यस्तै बनूँ । विशाल कुलमा उत्पन्न भएका शालीन स्वभाव भएका पनि त किनारा लाग्न लागेको पनि नेपाली कांग्रेसमा नै देख्न पाइन्छ नि । आचरण, चलाखी, मौकाको मूल्यांकन गर्ने क्षमता, जनतासँगको निरन्तर संवाद जस्ता कुराका अभावमा कौलिक प्राप्ति पनि टरेर जाँदारहेछन् । प्रयास गर्ने, जनतासँगको निरन्तर संवाद र नवचिन्तनका साथै युवाजमातको साथ र सहयोग भयो भने एकै पटकमा नभए पनि प्रतीक्षा गर्दा सम्भावना उज्वल बन्दै आउँदोरहेछ भन्ने कुरो नेपाली कांग्रेसका डा.शेखर कोइरालामा देखिन थालेको छ ।
बीपी, सुवर्ण, सूर्यप्रसाद, गणेशमान, कृष्णप्रसाद आदिका तुलनामा गिरिजाप्रसादलाई कम मूल्य दिने गरेको यथार्थ पनि त हाम्रै अगाडि छ तर उनी छउन्जेल नेपाली राजनीतिमा अरू बामपुड्के देखिएका थिए भन्ने पनि त सत्य हो । ८६ वर्षका उमेरमा पनि उनी एक दिनमा १३ वटासम्म ठूलाठूला आमसभालाई सम्बोधन गर्न पुग्थे । सन्तति मोह र माओवादीको मोलाहिजामा परेपछि उनले पनि आफू छँदाछँदै पार्टी हारेको देख्नुपरेको थियो । उनको प्रथम राष्ट्रपति बन्ने र प्रचण्डको पहिलो राष्ट्रपति भएर देशमा साम्यवाद लाद्ने दुवैका स्वप्न दिवास्वप्नमा परिणत भएको पनि देखिएकै हो । समुद्रका छाल समुद्रका छातीमा उठ्छन् र त्यही बिलाउँछन् । लघु चिन्तनका चाहना योजना र कार्यक्रम पनि यस्तै हुन्छन् ।
करनी र कथनीमा एक रूपता
प्रायः कसैले फजुल, असम्भव कुरा ग¥यो भने राजनीतिक कुरा नगर भनिन्छ । यसरी हेर्दा जनतामा फटाहा भनेका राजनीतिकर्मी नै हुन् भन्ने स्थापित भएको यस देशमा एकजना गिरिजाप्रसाद कोइरालामात्रै जे बोल्छन् त्यो गर्छन् भन्ने कुरो उनले स्थापित गराएका थिए । उनले बोलेपछि कोही ढुक्क हुन्थे भने कोही छट्पटाउन थाल्थे । उनको दृढता, समयको परख गर्ने क्षमता र सबैलाई समेट्ने कौशल डा.शेखरले अलिअलि देखाउलान् भन्ने आस आज पनि नेपाली जनताले गरेका छन् तर पनि डा.शेखरले पनि बाहिरको टिप्दा खल्तीको खस्ला कि भनेर सोच्नु आवश्यक छ ।
राजनीतिमा नैतिकता, निर्लोभ, नवप्रवर्तनको हुट्हुटी, नवयुगलाई सम्बोधन गर्ने क्षमता र उदारताको आवश्यक्ता पर्दछ । यसका लागि घर बलियो बनाउन सक्नैपर्छ । मैथिलीमा एउटा उखान छ घर दही तँ बाहरो दही । कहिलेकाहिँ आफूभन्दा कनिष्ठसँग पनि सहकार्य गर्ने कौशलको आवश्यक्ता पर्दछ राजनीतिमा । खोलो, खोल्सो, खहरे, पँधेरो मात्रै होइन नलढल पनि समेटेर खोलो नदी बने जस्तै हो राजनीति पनि भन्ने कुरो बुझ्न ढिला भयो भने सपना अधुरै रहन पनि सक्छ । विशेषगरी जनताका अगाडि जे बोलिन्छ त्यो पूरा गराउनु अति नै आवश्यक हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच