हेटौंडा । हेटौंडा-१९ स्थित लेखपानीमा रहेको जीवनज्योति आधारभुत विद्यालयका बालबालिकालाई खाजामा मासुभात, जाउलो र रोटी मिलाएर खुवाउने गरिएको छ ।
शुक्रबार धेरै बालबालिका विद्यालय आउने कारण मासुभात राखिएको र मासुभात खानका लागि सबै बालबालिका विद्यालय आउने गरेका छन् । भात खान पाएपछि बच्चाहरु धेरै खुशी हुँदै मासुभात खाएको खुशी हप्ता दिनसम्म व्यक्त गर्ने गर्छन् । उक्त विद्यालय जहाँ शिक्षा लिनु भन्दा भोको पेट भर्ने आशमै बालबालिका एक घण्टा हिँडेर विद्यालय आउने गर्छन् ।
जीवनज्योति विद्यालयमा ५ कक्षासम्ममात्र पढाइ हुन्छ । साना बालबालिका भोको पेट भर्नकै लागि दिनहुँ विद्यालय आउने गर्छन् । उक्त वडा बालमैत्री घोषणा भइसकेको छ । वडा बालमैत्री घोषणा भए पनि कार्यान्वयनको पक्षमा भने नभएको र कागजमा सीमित बालमैत्री घोषणालाई कार्यान्वयनमा ल्याउने गरी काम गर्नु आवश्यक रहेको प्रधानाध्यापक कुमारसिं गोलेको भनाइ छ । केही हदसम्म भने सुधार भएको उनले बताएका छन् ।
तामाङ समुदाय रहेको लेखपानीमा एउटामात्र विद्यालय छ । २०५९ सालमा स्थापना भएको विद्यालयमा हाल ४१ बालबालिकाले अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक गोलेले बताए । अभिभावक विहान मेलापात हिंडने कारण बालबालिकाहरु भोकै विद्यालय आउँछन् । उक्त ठाउँमा १२ बजेसम्म कसैको घरमा खाना नपाक्ने कारण बालबालिकाहरु भोकै विद्यालय आउने गरेको प्रधानाध्यापक गोलेको भनाइ छ । बालबालिका विद्यालय आएपछि भोको पेटका कारण कोही झोक्राएर बस्छन् त कोही रुन थाल्छन् । 'आर्थिक अवस्था कमजोर भएको र भोको पेट विद्यालय पढ्न विद्यार्थी आउने गरेका कारण राम्रो शिक्षा लिन र दिनसमेत सकिएको छैन । बालबालिकालाई पेटभर खुवाउन महिनाको ३ बोरा चामलको व्यवस्था भइदिए बच्चा भोको पेट पढ्नुपर्दैन थियो,’ उहाँले भन्नुभयो ।
प्रधानाध्यापक भन्नुहुन्छ-'बच्चाहरुका लागि छुट्याएको खाजाखर्चले पुर्याउन मुस्किल पर्छ । तर, भोको पेटमा बालबालिकालाई राम्रो शिक्षा दिन नसक्ने कारण विद्यालय आउनेबित्तिकै खाना खान दिएरमात्र पढाउन सुरु गर्ने गरेका छौं । अरु विद्यालयमा जस्तो टन्न पेट भरिएर विद्यालयमा कहिले बालबालिका आउँदैनन् । अभिभावकको आयस्रोत नभएका कारण बालबालिकाहरुले पेटभरि खान समस्या छ ।'
विद्यालयमात्र नभइ गाउँमै खानेपानीको निकै ठूलो समस्या छ । ठाउँको नाम लेखपानी भए पनि पानीको निकै अभाव छ । विद्यालयका लागि खानेपानीको पनि निकै समस्या छ । ५ किलोमिटर पर एउटा इनार छ, त्यही इनारबाट गाग्रोमा भरेर पानी ल्याउनुपर्छ । बाटोमा अलिकति खुट्टा खुस्कियो भने ज्यान जोगाउन मुस्किल पर्छ ।
जीवनज्योति विद्यालयमा ५ सम्म पढाइ हुने कारण ५ पछि लगभग ७० प्रतिशत् बच्चाले पढाइ छाड्ने गरेका छन् । बालबालिकाको पढाइ राम्रो हुँदाहुँदै पनि कति बालबालिकाले घरको आर्थिक अवस्थाका कारण लेवट बजारसम्म आएर पढ्न सक्दैनन् । ३० प्रतिशत् बालबालिका घरपरिवार अलि शिक्षित भएका कारण लेवट बजारसम्म ल्याइ पढाउने गरेका छन् । बाँकी बालबालिकाले १५/१६ वर्ष उमेरमा भागेर विवाह गर्ने गरेका छन् भने अभिभावकले पनि सहमति जनाउने गरेका छन् । कति अभिभावकले ५ सम्म पढेर अक्षर चिने पुग्छसमेत भन्ने गरेका छन् ।
विद्यालयमा पर्खाल लगाउने काम सुरु भएको छ । विद्यालयनजिक चारैतिर जंगल र ठूलो भिर भएका कारण बालबालिका लडेर हात भाँच्चिने र घाइते हुने गरेको समाचार प्रकाशन भएपछि वागमती प्रदेश सरकारले ८ लाख बजेट बिनियोजन गरेसँगै पर्खाल लाउने काम अगाडि बढेको हो । नगरपालिकाभित्रकै विद्यालय भए पनि लेखपानी र उक्त स्थानमा रहेको विद्यालय सबैतिरबाट पिछडिएको प्रधानाध्यापक गोलेले बताउनुभयो ।
'प्रदेश सरकारले ८ लाख बजेट परेर विद्यालयवरिपरि पर्खाल लाउने काम भइरहेको छ भने अझै मुलगेट बनाउन र विद्यालयदेखि १५ मिटर पूर्व १५ मिटर घेराबारको काममा बजेट अपुग भनेको भन्दै सम्बन्धित निकायबाट त्यसतर्फसमेत ध्यानाकर्षण भइदिए सहज हुने थियो,’ उहाँले भन्नुभयो, 'केही महिनाअघि विभिन्न संघसंस्था तथा सञ्चारकर्मीको समाचार सम्प्रेषण तथा पहलमा उक्त बजेट परेर पर्खाल लगाउने काम केही दिनदेखि सुरु भइरहेको छ ।'
शौचालयका लागि पानी अभाव भएको मिडियामै आएपश्चात् हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको पहलमा ५ हजार लिटरका २ ट्यांकी उपलब्ध भएको उहाँले बताउनुभयो । उक्त ट्यांकीमा बर्खामा परेको पानी थापेर जम्मा गरी हिउँदमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । बालबालिकालाई भन्दा पनि लेखपानीका अभिभावकमा चेतनाको विकास गर्नुपर्ने अवस्था रहेको बताउँदै चेतनामूलक कार्यक्रम ल्याउन पाए केही परिवर्तन हुन्थ्यो कि भन्ने लागेको प्रधानाध्यापक गोले बताउनुहुन्छ । विद्यार्थीका लागि जाडोमा न्यानो कपडाका साथै विद्यालय पोशाकको समेत अभाव रहेको उहाँले बताउनुभयाे । वडामा बालमत्री सहजकर्ता खटाइएको छ । ती सहजकर्ता बजारमा मात्र सीमित छन् । हेटौंडा उपमहानगरपालिका-१९ नम्बर वडा अध्यक्ष नवराज सुबेदी भन्नुहुन्छ- 'बजेट नपुगेको भए खबर आउला । खबर आइपुगेको छैन । बाँकी काम अरु केही हुुदैन, अहिले भएको पनि छैन ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच