पोखरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताउनुभएको छ । पोखरा रंगशालामा बुधबार खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मंसिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको बताउनुभयो ।
उहाँले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रबार मिति घोषणा हुने जानकारी दिनुभयो । ‘खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मंसिरमा राष्ट्रिय खेलकुद हुन सकेन । अब फागुन अन्तिम साता गर्ने लक्ष्य राखेका छौँ,’ मन्त्री चौधरीले भन्नुभयो । पोखरामा खेलकुदका पूर्वाधार निर्माणका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नेपालमा सन् २०२७ मा हुने यू-१९ महिला विश्वकप क्रिकेटका लागि पोखरामा समेत खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि केही दिनअघि पोखराको क्रिकेट मैदान निरीक्षण गरेको थियो । आइसिसीले खेल पूर्वाधार निर्माण भएको खण्डमा यहाँ खेलाउन सम्भव हुने जनाएको थियो ।
पोखरामा खेलकुदको धेरै सम्भावना रहेको र खेल पूर्वाधारसमेत अन्यत्रभन्दा राम्रो रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सम्भव हुने मन्त्री चौधरीको भनाइ थियो ।
युवालक्षित कार्यक्रम सरकारको प्राथमिकतामा
युवा तथा खेलकुदमन्त्री चौधरीले युवालक्षित कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा बुधबार पोखरामा आयोजित भेटघाट कार्यक्रममा मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवालक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको बताउनुुभयो । साना–साना रोजगारी सिर्जनाका लागि युवालाई ऋण सहयोग गर्ने जस्ता कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उहाँले त्यसबाट अधिकतम युवा लाभान्वित हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरामा खेलप्रेमीको उत्साह देखिएको उल्लेख गर्दै मन्त्री मन्त्री चौधरीले यहाँको पूर्वाधार विकासलगायतमा सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । उपनिर्वाचनमा देखिएको नतिजा कांग्रेसका लागि सन्तोषजनक रहेको भन्दै उहाँले एकताबद्धरूपमा पार्टी संगठनलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिनुुभयो ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच