![दबाबभन्दा जिम्मेवारी बढेको छ : सोमपाल](https://ehimalayatimes.com/wp-content/uploads/2024/12/Sompal-Kami.jpg)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएका खेलमा विराटनगर किंग्स र काठमाडौं गुर्खाजले जित निकालेका छन् । काठमाडौं गुर्खाजले पहिलो जित हात पारेको हो भने पहिलो दुई खेल हारेको विराटनगरले तेस्रो खेलमा आएर पहिलो विजय निकालेको हो । विराटनगरले रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई दुई विकेटले पराजित गर्यो भने काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाई १९१ रन बनाएको थियो । लोकेश बमले ४७ बलमा ७१ रन बनाएपछि विराटनगरले एक बल अगाडि लक्ष्य पूरा गरेको थियो । लुम्बिनीले जारी प्रतियोगितामा सर्वाधिक स्कोर बनाएको हो । लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।
विराटनगरलाई अन्तिम ओभरमा जितका निम्ति १६ रनको आवश्यकता थियो । लुम्बिनीबाट बलिङ गर्न आउनुभएका विवेक यादवले सुरुका दुई बल वाइड फ्याँक्नुभयो । त्यसपछि उहाँले पहिलो आधिकारिक बलमा विराटनगरका कप्तान सन्दीप लामिछानेलाई आउट गर्नुभयो ।
विराटनगरलाई जितका निम्ति अन्तिम पाँच बलमा १४ रन आवश्यक बन्यो । सन्दीपपछि ब्याटिङमा आउनुभएका क्रिस सोलले विवेकको दोस्रो बल डट खेल्नुभयो । तेस्रो बल छक्का प्रहार गरेपछि विराटनगरलाई अन्तिम तीन बलमा सात रन आवश्यक थियो । चौथो बलमा पनि बाउन्ड्री लगाउँदै सोलले चौका प्रहार गर्नुभयो । दुई बलमा तीन रन आवश्यक हुँदा पाँचौँ बलमा पनि सोलले चौका प्रहार गरेपछि विराटनगरले रोमाञ्चक जित निकालेको हो ।
विराटनगरको जितमा उत्कृष्ट ब्याटिङ गर्नुभएका लोकेश बमले ७१ रन बनाउनुभयो । उहाँले ४७ बलमा तीन चौका र ६ छक्का प्रहार गर्नुभयो । लोकेशलाई १७.४ ओभरमा लुम्बिनीका रेमन सिमोन्ड्सले सन्दीप जोराबाट क्याच गराउनुभयो । ७२-४ को स्थितिबाट लोकेशले पाँचौँ विकेटका निम्ति बसिर अहमदसँग ७८ रनको साझेदारी गर्दै विराटनगरलाई १५० रनसम्म पुर्याउनुभएको थियो । १६.२ ओभरमा आउट हुनुअघि बसिरले २३ बलमा चार चौका एक छक्कासहित ४० रन बनाउनुभयो । बसिरलाई दुर्गेश गुप्ताले बेन कटिङबाट क्याच गराउनुभएको थियो ।
अन्तिमसम्म अविजित रहनुभएका क्रिस सोलले चार बलमा दुई चौका र एक छक्कासहित १४ रन बनाउनुभयो । उहाँसँग अविजित रहनुभएका दीपक बोहराले आठ बलमा नौ रन बनाउनुभये । स्कोरबोर्डमा दुई रन हुँदा इस्मात आलमलाई गुमाएको थियो । इस्मात शून्यमै पभेलियन फर्किनुभएको थियो । यसपछि ब्याटिङमा आउनुभएका मार्टिन गप्टिल र ओपनर लोकेशले दोस्रो विकेटका निम्ति ६२ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हाल्नुभएको थियो । आठौंँ ओभरको पहिलो बलमा दुर्गेश गुप्ताबाट बोल्ड हुनुअघि गप्टिलले १७ बलमा ६ चौकासहित २८ रन बनाउनुभयो ।
यसबाहेक प्रतिश जिसीले तीन बलमा एक छक्कासहित ६ रन बनाउनुभयो । उहाँलाई १७.६ ओभरमा दुर्गेश गुप्ताले बोल्ड गर्नुभयो । राजेश पुलामीले १० बल खेल्दा चार रनमात्रै थप्न सक्नुभयो । उहाँ नवौँ ओभरको तेस्रो बलमा साद बिन जफरबाट ‘कट एण्ड बोल्ड’ हुनुभयो । लगत्तै अर्को बलमा जफरले विराटनगरका किर्टोनलाई ‘गोल्डेन डक’ पभेलियन फर्काउनुभयो । लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएका दुर्गेशले २१ रनमात्र खर्चिनुभयो । रेमन सिमोन्ड्स र साद बिन जफरको नाममा समान दुई विकेट रहृयो । विवेक यादवले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको योगफल बनाएको थियो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाउनुभयो । उहाँ अर्धशतकबाट चार रनले चुक्नुभयो । रोहितलाई १२.५ ओभरमा राजेश पुलामीले प्रतिश जिसीबाट क्याच गराउनुभएको थियो । रोहितले २९ बलमा चार चौका र दुई छक्का प्रहार गर्नुभएको थियो । ६४-२ को स्थितिबाट रोहितले टम मोरेससँग तेस्रो विकेटका निम्ति ३३ बलमा ६७ रनको आक्रामक साझेदारी गर्दै लुम्बिनीको इनिङ बढाउनुभएको थियो ।
१४औँ ओभरको चौथो बलमा रनआउट हुनुअघि मोरेसले १७ बलमा एक चौका र दुई छक्कासहित ३० रन जोड्नुभयो । १२ रन जोड्नुभएका सन्दीप जोरा १६.२ ओभरमा रनआउट हुनुभयो । साद बिन जफरले १३ बलमा एक छक्कासहित १५ रन बनाउनुभयो । सन्दीप लामिछानेले गरेको १९औँ ओभरको दोस्रो बलमा जफर मार्टिन गप्टिलबाट क्याच हुनुभएको थियो । सोही ओभरको चौथो बलमा बेन कटिङ पनि रनआउट हुनुभयो । कटिङले ६ बलमा एक चौकासहित ६ रन बनाउनुभयो ।
त्यसअघि लुम्बिनीले चौथो ओभरको पहिलो बलमा ओपनर आशुतोष घिरैयालाई रनआउटका रूपमा गुमाएको थियो । ननस्ट्राइकमा रहनुभएका आशुतोष रन लिन अघि बढेको स्थितिको फाइदा उठाउँदै विराटनगरका निकोलस किर्टोनले उत्कृष्ट ‘थ्रो’ गर्दै रनआउट गर्नुभएको थियो । आशुतोषले १५ रन बनाउनुभयो ।
दोस्रो विकेट लुम्बिनीले आठौँ ओभरको दोस्रो बलमा अर्का ओपनर अर्जुन साउदलाई गुमाएको थियो । साउदलाई विराटनगरका इस्मात आलमले बोल्ड गर्नुभएको थियो । उहाँले १७ रन जोड्नुभएको थियो । अविजित रहनुभएका विवेक यादवले १९ रन बनाउनुभयो भने रोमन सिमोन्ड्सले दुई रन जोड्नुभयो ।
विराटनगरका कप्तान सन्दीप, इस्मात आलम र राजेश पुलामीले समान एक विकेट लिनुभयो । प्रतियोगितामा तेस्रो खेल खेलिरहेको विराटनगरबाट सन्दीपको यो पहिलो विकेट हो ।
काठमाडौं गुर्खाजको सनसनीपूर्ण जित, दोस्रोपटक हार्यो कर्णाली
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाजले पहिलो जित हात पारेको छ । बुधबार भएको पहिलो खेलमा कर्णाली याक्सलाई तीन विकेटले हराउँदै काठमाडौंले पहिलो जित हात पारेको हो ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो । काठमाडौंका कप्तान करण केसीले १० बलमा २८ रन बनाउनुभयो । उहाँले दुई चौका र दुई छक्का प्रहार गर्नुभयो । यसैगरी सुमित महर्जनले ४० रन बनाउनुभयो । उहाँले दुई चौका र दुई छक्का प्रहार गर्दा काठमाडौंलाई राहत भएको थियो । उहाँ १९औँ ओभरको अन्तिम बलमा आउट हुनुभयो । सोमपाल कामीको बलमा उहाँलाई देव खनालले बाउन्ड्रीमा उत्कृष्ट क्याच गर्नुभएको थियो ।
यसैगरी सुमित महर्जनले ४० रन बनाउँदा गेह्राल्ण्ड इरास्मसले २८ बलमा ३८ रन बनाउनुभयो । उहाँले तीन चौका र दुई छक्का प्रहार गर्नुभयो । काठमाडौंका लागि ओपनिङ ब्याटर माइकल लेभिटले १९ बलमा २२ रन जोड्ने क्रममा २ चौका र १ छक्का प्रहार गर्नुभयो । अर्का ओपनर शंकर राना भने ६ रनमा रनआउट हुनुभयो । स्टेफन इस्कानाजी ३ रन र भीम सार्की ९ रन जोडेर आउट हुनुभयो । बलिङमा कर्णालीका सोमपाल, नन्दन यादव, गुलशन झा, जिसम मक्सुद र विपिन शर्माले एक/एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । कर्णालीका लागि शिखर धवनले नटआउट ७२ रन बनाउनुभयो । सुरुदेखि अन्तिमसम्म खेल्नुभएका उहाँले ५१ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ७२ रन जोड्नुभएको हो ।
एक छेउबाट सुरुदेखि नै विकेट गए पनि धवनले अर्को छेउबाट टिकेर इनिङ्स सम्हाल्नुभएको थियो । धवनले छैटौँ विकेटका लागि जिसम मक्सुदसँग अविजित ६५ रनको साझेदारी गर्नुभयो । कर्णालीका चाडविक वाल्टनले २१ रन बनाउनुभयो । १५ बल खेल्नुभएका उहाँले पाँच चौका प्रहार गर्नुभएको थियो ।
त्यसैगरी जिसम मक्सुद १४, बाबर हायात १३, गुलशन झा १२ रन बनाएर आउट हुनुभयो । अर्जुन घर्तीले ४ रन बनाएर आउट हुँदा देव खनाल शून्यमै पभेलियन फर्किनुभएको थियो । काठमाडौंका कप्तान करण केसीले पहिलो ओभरमै खनाललाई आउट गर्नुभएको थियो ।
काठमाडौंका लागि गेह्रालण्ड इरास्मसले दुई विकेट लिनुभयो । पूरै चार ओभर बलिङ गर्नुभएका उहाँले २९ रन खर्चिएर दुई विकेट लिनुभएको हो ।
त्यसैगरी करण केसी, नाथन स्वटर र दीपेश कँडेलले समान एक/एक विकेट लिनुभयो । कर्णाली याक्स पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो भने काठमाडौं चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । धवनले १८औँ ओभरमा करणको लगातार बलमा छक्का र चौका प्रहार गरी ४२ बलमा आफ्नो अर्धशतक पूरा गर्नुभएको थियो । धवनले १९औँ ओभरको पहिलो दुई बलमा नथान साउटरलाई लगातार छक्का प्रहार गर्नुभएको थियो ।
आज (बिहीबार) पोखरा एभेन्जर्स एवं जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौं एवं सुदूरपश्चिमबीच खेल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच