✍️ डा. शोभा श्रेष्ठ/सुजन महर्जन
२०१४ सालदेखि प्रत्येक वर्ष डिसेम्बर ५ तारिखको दिन माटोसँगको मानव र अन्य जीव जन्तुहरूको आनोन्याश्रित सम्बन्ध र यस पृथ्वीमा प्राणीहरूको अस्तित्व रक्षाका लागि माटोको संरक्षण र दिगो व्यवस्थापनको महत्वका वारेमा आम जनमानसमा सचेतना जगाउने र यो प्रक्रियामा सहभागीताको लागि आहृवान गर्ने उद्देश्य लिई यो दिवश मनाउंदै आइरहेको छ । यसबर्ष ‘२०२४’ का लागि ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नारासहित दिवस मनाउने घोषणा गरेको छ । यो नाराले विशेष गरी विभिन्न कारणहरूले गर्दा माटोको स्वास्थ्यमा भैरहेको क्षयीकरण र उर्वराशक्तिको गिरावटलाई उजागर गर्दै विद्यमान क्षयीकरणको अवस्थामा सुधार गर्न अपनाउनुपर्ने आयामहरू मध्ये माटोको परिक्षण, माटोको रेखदेख अनि दिगो व्यवस्थापनका पद्दतीहरू मुख्य हुन् भनेर प्रष्ट्याउन खोजेको देखिन्छ ।
यथार्थमापनि कुनै स्थानको माटोको बारेमा चाहिने तथ्यांक र विवरणहरू उपलब्ध भएमा सोको विश्लेषणमार्फत उक्त स्थानको माटोको स्वास्थ्यको वास्तविक परिस्थिति पत्ता लगाउन सकिन्छ र माटोको उचीत व्यवस्थापनमार्फत माटोको स्वास्थ्यमा सुधार ल्याउने खालका उपयुक्त उपायहरू किसानहरूलाई सुझाउन सकिन्छ । साथै पर्याप्त मात्रामा तथ्यांकहरू र सूचनाहरू उपलब्ध भएमा त्यसले निर्णयकर्ताहरूलाई माटोको स्वास्थ्यको अवस्थाको बारेमा समयमै जानकारी प्राप्त हुने र माटोको दिगो व्यवथापन गर्नकालागी आवश्यक निर्णयहरू लिनपनि मद्दत पुग्ने देखिन्छ ।
अहिलेको विग्रंदो वातावारणीय परिस्थितिमा उत्पादन क्षेत्रमा देखा परेको ह्रास उन्मुख प्रवित्तिमा सुधार ल्याउन अपनाउन सकिने उपयुक्त उपाय भनेकै नियमित माटोको परिक्षणगरी देखा परेका कमीकमजोरीहरूलाई सही पद्धति अवलम्बन गरि माटोको उपचार र स्याहार संहार गर्नु हो । यो रणनीतिलाई सम्बन्धित निकायहरू र सरोकारवालाहरूले आत्मसाथ गर्दै वर्तमानमा र आउँदा बर्षहरूमा सोही बमोजिमका नीति तथा कार्यक्रमहरू विकास गरि कार्यान्वयनमा लगि बढी भन्दा बढी किसानहरूलाई सचेत बनाउनेतर्फ लागेको खण्डमा यस बर्षको ‘विश्व माटो दिवस’ को नारा सान्दर्भिक रहेको र आफ्नो उद्देश्य प्राप्तिमा सफल भएको मान्न सकिने छ ।
साधारण भाषामा भन्नुपर्दा माटो भन्नाले पृथ्वीको माथिल्लो सतह जुन विभिन्न खालका खनिज तत्वहरू, खाद्यतत्वहरू, ग्याँसलगायत तरल पदार्थहरू, र सुक्ष्म जीवहरूको मिश्रणवाट बनेको हुन्छ र माटोले बोट विरुवा तथा जीवजन्तुका जीवनचक्र संचालनका लागि आवश्यक पर्ने प्राकृतिक वातावरण उपलब्ध गराउँछ । पृथ्वीमा मानवलगायत सम्पूर्ण प्राणी जगतको अस्तित्वको लागि माटोको अवस्था स्वस्थ हुनु अपरिहार्य छ । स्वस्थ माटो भन्नाले बोट विरुवाहरू उम्रन र हुर्कन उपयुक्त वातावरण भएको, पर्याप्त मात्रामा प्रांगारिक पदार्थहरू र खाद्यतत्वहरू रहेको, सुक्ष्म जिवहरूको प्रचूरता, र पानी प्रतिधारण क्षमता राम्रो रहेको माटोलाई मानिन्छ । साधारणतया स्वस्थ माटोमा ५० प्रतिशत खाली भाग, ५ प्रतिशत प्रांगारिक पदार्थ र ४५ प्रतिशत खनिज तत्वको समिश्रण हुन्छ । माटोको यी अवस्थाहरू कायम हुन नसकेको खण्डमा मात्र माटोको क्षयीकरण भइ उत्पादकत्वमा कमि आई खाद्य सुरक्षामा समेत प्रश्न चिहृन खडा हुन्छ । तसर्थ स्वस्थ माटोको संरक्षण र दिगो व्यवस्थापन गर्न अति जरुरी छ । तर, प्राकृतिक र मानवीय क्रियाकलापहरूका कारणले गर्दा उर्वर माटोको क्षयीकरण दिनप्रतिदिन बढ्दो छ र बाली उत्पादन व्यापक घट्दो क्रममा छ ।
त्यसमाथि जलवायु परिवर्तन र त्यसको असरहरूले गर्दा खाद्य सुरक्षामा एउटा ठुलो चुनौति खडा गरि दिएको छ । नयाँ अध्ययनहरूले उपलब्ध गराएको सूचनाहरुलाई आधार मान्ने हो भने विश्व भरीको वार्षिक उत्पादनमा कमि आउनुमा २१ प्रतिशत जतिको लागि जलवायु परिवर्तन एकमात्र जिम्मेवार छ । यस्तो अवस्थामा माटोको उत्पादकत्व कायम राख्न र बढाउन जलवायु परिवर्तनको विद्यमान र भविष्यको सम्भावित परिस्थितिहरूको सही आंकलन गरी, माटोको भौतिक, रासायनिक र जैविक गुणहरूको मापन र विश्लेषण गरी सही र उचित प्रविधि विकास गरी सोही अनुसार माटो व्यवस्थापन गर्नु अपरिहार्य देखिन्छ । यसका लागि एउटा यस्तो बलियो संयन्त्र हुन जरुरि छ जसले नियमित रुपमा माटोको परिक्षण गर्ने, तथ्यांक संकलन तथा विश्लेषण गर्ने, र आएका निचोडहरूको बारेमा सम्बन्धित निकायलाई समयमै जानकारी गराउने काम गरोस् । किनभने माटोसँग सम्बन्धित तथ्यांक र भरपर्दो सूचनाहरूका आधारमा समय छंदै कुनैपनि ठाउँको माटोको व्यवस्थापनको बारेमा जानकारी प्राप्त भई समयमै निर्णयहरू लिन सकिने र किसानहरूलाई उचित सल्लाह, सुझाव र प्रविधिहरू उपलब्ध गराउन सकिन्छ । जसबाट सिमित समयमै धेरै भन्दा धेरै संख्यामा मानिसहरू लाभान्वित हुन्छन् ।
विकसित देशहरूमा स्वस्थ माटोको महत्वलाई बुझेर यसको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन अनुसन्धानको आवश्यकतालाई मध्यनजर गर्दै माटोको अवस्थाको नियमित सर्वेक्षण गर्न, तथ्यांक संकलन गरि विश्लेषण गर्न पर्याप्त संख्यामा सरकारी, गैर सरकारी तथा निजि संघसंस्थाहरु क्रियाशील रहेको देखिन्छ । त्यस्ता संघसंस्थाहरूसँग आघुनिक प्रविधिहरू र दक्ष जनशक्तिहरू पनि चाहिने संख्यामा उपलब्ध रहेको देखिन्छ । तर, हाम्रो जस्तो कम विकसित देशमा तथ्यांक संकलनलाई त्यति प्राथमिकतामा राखेको पाइंदैन र अध्ययन अनुसन्धानबाट प्राप्त सूचनाको आधारमा निर्णयहरू लिने चलनपनि कमै भएको देखिन्छ । यस्तो अवस्थामा माटोको क्षयीकरण हुनेक्रम नरोकी, माटोको दिगो व्यवस्थापनमा चूनौती यथावत नै रहेको तथ्यपनि हामी सामु छ । यसमाथि नेपालको सन्दर्भमा सायद माटोको नियमित परिक्षण गर्नुपर्ने, परीक्षणको नतिजाको आधारमा मात्र माटोको व्यवस्थापनमा के कस्ता प्रविधिहरू अवलम्बन गर्ने, मलजलहरू के कति मात्रामा र कसरी कहाँ प्रयोग गर्ने भन्ने ज्ञानको बारेमा थोरै किसानहरूलाई मात्र जानकारी होला । धेरै संख्यामा किसानहरू यो विषयमा जानकार छैनन् । यो पक्षमा सुधार ल्याउन अत्यन्त जरुरी छ, यही पक्षहरूको महत्वलाई जोड दिन र बढी भन्दा बढी संख्यामा किसानहरू सामु यो सूचना पुर्याउने उद्देश्य लिएर यो बर्षको विश्व माटो दिवसले ‘माटोको सुधारः परिक्षण, रेखदेख र उपचार’ नारा तय गरेको देखिन्छ ।
नेपालले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरू जस्तै कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद (नार्क), खाद्य तथा कृषि संगठन, नेपाल माटो समाज, एनएसएफ-सिम्याट, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना, प्राक्टिकल एक्सन, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना तथा अन्य निकायहरूको साझेदारी र सहभागितामा विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गरि विश्व माटो दिवस मनाउने तयारी गरेको छ । नेपालको प्राकृतिक अवस्थिति र भौगोलिक अवस्था अनि उपलब्ध कृषियोग्य भूमि र त्यसबाट हुने औसत उत्पादनलाई मध्येनजर गरी नेपाललाई एउटा जोखिमयुक्त खाद्य सम्प्रभुता भएको देशको रुपमा सूचीकृत गरेको छ ।
साधारणतया स्वस्थ माटोमा ५० प्रतिशत खाली भाग, ५ प्रतिशत प्रांगारिक पदार्थ र ४५ प्रतिशत खनिज तत्वको समिश्रण हुन्छ । माटोको यी अवस्थाहरू कायम हुन नसकेको खण्डमा मात्र माटोको क्षयीकरण भइ उत्पादकत्वमा कमि आई खाद्य सुरक्षामा समेत प्रश्न चिहृन खडा हुन्छ । तसर्थ स्वस्थ माटोको संरक्षण र दिगो व्यवस्थापन गर्न अति जरुरी छ । तर, प्राकृतिक र मानवीय क्रियाकलापहरूका कारणले गर्दा उर्वर माटोको क्षयीकरण दिनप्रतिदिन बढ्दो छ र बाली उत्पादन व्यापक घट्दो क्रममा छ ।
नेपालको कुल भूभागको १६ प्रतिशत भू-भाग मात्र कृषिका लागि योग्य छन् । देशको ८० प्रतिशत भन्दा बढी भाग भिरालो पहाड र चट्टानयुक्त जमिनले ढाकेको छ । नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रलगायत अन्य संघसंस्थाहरूले गरेको अध्ययन अनुसन्धानहरूको प्रतिवेदन अनुसार नेपालको ६७ प्रतिशत माटोमा अम्लियपनको समस्या देखिएको छ भने २३ प्रतिशत माटोमा प्रांगारिक पदार्थको उपलब्धता धेरै न्युन रहेको पाइएको छ । त्यस्तै गरि माटोमा फस्फोरस (ए), पोटासियम (के) जस्ता मुख्य खाद्यतत्वहरूको पनि कमि रहेको देखिन्छ । साथै बोरन (बि) र जिंक जस्ता विरुवाको महत्वपूर्ण खाद्य तत्वहत्व अत्यधिक कम रहेको पनि विभिन्न अध्ययनहरूले देखाएको छ । त्यसमाथि पारम्परिक र निर्वाहमुखी खेती प्रणाली, कृषि भूमिको बढ्दो खण्डिकरण, जलवायु परिवर्तनले निम्त्याएका समस्याहरू, अवैज्ञानिक भूमी व्यवस्थापनका पद्दतिहरू आदि कारणहरूले गर्दा माटोको स्वास्थ्य क्षयीकरणलाई बढाउनमा अझ बढी योगदान पुगेको देखिन्छ । भौगोलिक विविधता, सोहि बमोजिमको जलवायु प्रणालीमा विविधता, माटोको गुण र गुणस्तरमा विविधता र माटोको व्यवस्थापनमा स्थान अनुसारको भिन्नता भएको नेपाल जस्तो देशमा एकै प्रकारको माटोको व्यवस्थापन पद्दति लागु गर्नु हुँदैन । स्थान विशेषको तथ्यांक संकलन र विश्लेषण गर्ने व्यवस्था मिलाउने र त्यसबाट प्राप्त हुने सूचनाहरू र अरु उपलब्ध सम्बन्धित जानकारीहरूसंग तुलना गरि उपयुक्त निक्र्यौलहरू निकाली माटोको गुणस्तर सुधारका क्रियाकलाप विकास र संचालन गर्ने गरेमा धेरैजना किसानहरू लाभान्वित हुन्छन् ।
माटोको उत्पादकत्व क्षमता कायम राख्नको लागि यसको दिगो व्यवस्थापनको महत्वलाई बुझेरै नेपाल सरकारले धेरै वर्ष अगाडी नै देशको विभिन्न स्थानहरूमा माटो परिक्षण गर्नका लागि आवश्यक पर्ने न्युनतम सुविधाहरू सहित कार्यालयहरू स्थापना गरि संचालनमा ल्याएको छ जस्तैः कृषि विभागका प्रादेशिक प्रयोगशालाहरू, नेपाल कृषि अनुसन्धान परिषद प्रयोगशालाहरू । अहिले अन्य गैर सरकारी तथा निजी प्रयोगशालाहरू पनि संचालनमा आएका छन् । जसले गर्दा माटो परिक्षणका प्रक्रियाहरूमा किसानहरूको पहुँचमा केहि हदसम्म सुधार भएको देखिन्छ । तर, यो नै पर्याप्त भने होइन र अझ सरकार र निजी क्षेत्रहरूको सहकार्य र साझेदारीमा उपलब्ध भएका सबैखाले माध्यमहरूको प्रयोग गरि प्रचारप्रसार गरि धेरै किसानहरू समक्ष माटोको नियमित परिक्षण, रेखदेख र उपयुक्त विधि मार्फत माटोको दिगो व्यवस्थापन गर्नु पर्ने सूचना पु¥याउनु पर्ने देखिन्छ ।
तसर्थ अहिलेको विग्रंदो वातावारणीय परिस्थितिमा उत्पादन क्षेत्रमा देखा परेको ह्रास उन्मुख प्रवित्तिमा सुधार ल्याउन अपनाउन सकिने उपयुक्त उपाय भनेकै नियमित माटोको परिक्षण गरी देखापरेका कमीकमजोरीहरूलाई सही पद्दति अवलम्बन गरि माटोको उपचार र स्याहार संहार गर्नुहो । यो रणनीतिलाई सम्बन्धित निकायहरू र सरोकारवालाहरूले आत्मसाथ गर्दै वर्तमानमा र आउँदा बर्षहरूमा सोही बमोजिमका नीति तथा कार्यक्रमहरू विकास गरि कार्यान्वयनमा लागि बढी भन्दा बढी किसानहरूलाई सचेत बनाउनेतर्फ लागेको खण्डमा यस बर्षको ‘विश्व माटो दिवस’ को नारा सान्दर्भिक रहेको र आफ्नो उद्देश्य प्राप्तिमा सफल भएको मान्न सकिने छ ।
(लेखक डा. श्रेष्ठ, माटो बैज्ञानिक, राष्ट्रिय माटो बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार, नेपाल कृषि अनुसन्धान परिषद र लेखक महर्जन, वरिष्ठ जलाधार ब्यबस्थापन अधिकृत (उपसचिव), चुरे उत्थानशील आयोजना, बबरमहलमा हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच