
काठमाडौं । अन्ततः बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सहकार्य फ्रेमवर्कमा सम्झौता भएको छ । नेपाल र चीनका उच्च अधिकारीबीच दुई दिन चलेको अनौपचारिक वार्तापछि बुधबार दिउँसो ‘बिआरआई सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर भएको हो । यसअघि फ्रेमवर्कमा ‘अनुदान’ शब्द राख्ने कि नराख्ने ? भन्ने विषयमा मत नमिलेपछि मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली छ्याङबीचको द्विपक्षीय वार्तालगत्तै अरू विषयमा समझदारी भएपछि बिआरआई सम्झौता हुन सकेको थिएन । सुरुआतमा नेपाली पक्षले ‘ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी’ भन्ने फ्रेमवर्कको मस्यौदामा राखेको थियो । त्यसपछि चिनियाँ पक्षले ग्रान्ट शब्द हटाएर ‘असिन्टेन्ट फाइनासिङ मोडालिटी’ मात्रै राखेर मस्यौदा नेपाललाई फर्काएको थियो । तर, अन्त्यमा नेपाली पक्षले ग्रान्ट वा असिन्टेन्टभन्दा पनि ‘एड असिन्टेन्स फाइनासिङ’ राखेर प्रस्ताव गरेको थियो । त्यसैमा आएर सहमति भएको हो ।
बेइजिङमा भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट चीनका नेसनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पेकिङ विश्वविद्यालयमा बोल्ने क्रममा बिआरआईमार्फत चीनले लिएको विकास र समृद्धिको मार्गको प्रशंसा गर्दै नेपालले पनि त्यसबाट लाभ लिने बताउनुभएको थियो । भेटवार्तापछि जारी नौबुँदे सहमति र समझदारी पत्रमा बिआरआई फ्रेमवर्कबारे केही उल्लेख थिएन ।
बिआरआईअन्तर्गत ऋण नलिने नेपाली कांग्रेसको अडानकै कारण अनुदान मात्रै लिनेगरी फ्रेमवर्क र परियोजनाहरूको सूची तयार पारेर सरकारले चीनको विदेश मन्त्रालयमा गत शुक्रबार पठाएको थियो । प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको भेटमा ती समझदारी पत्रमा हस्ताक्षर हुन नसकेपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिहरूसँग भेट्नुभएको थियो ।
सम्झौताअघि प्रधानमन्त्री ओलीले बिआरआईबाट नेपालले लाभ लिने बताउनुभएको थियो । ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दूरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गर्नुभएको थियो । यसअघि मंगलबार दुई देशबीच नौ समझदारीमा हस्ताक्षर भएको थियो । विभिन्न समझदारीमा हस्ताक्षरसँगै चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको थियो ।
समेटिए १० परियोजना
बिआरआई फ्रेमवर्क परियोजनामा विभिन्न १० परियोजना समेटिएका छन् । ‘बिआरआई सहकार्य फ्रेमवर्क’मा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग-व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क राखिएको हो । जसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अमरगढी सिटी हल र प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एण्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना पनि परेका छन् । नेपालले प्रस्ताव गरेको काठमाडौं-हेटौँडा पोडवे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति भने सहमतिको सूचीमा अटाएनन् ।
१. टोखा-छहरे सुरुङमार्ग
२. हिल्सा-सिमकोट सडक परियोजना
३. किमाथांका-खाँदबारी सडक र पुल
४. जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्ग
५. डडेल्धुरास्थित अमरगढी सिटी हल
६.जिलोङ-केरुङ-रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
७. मदन भण्डारी विश्वविद्यालय
८. काठमाडौं साइन्टिफिक सेन्टर एण्ड साइन्स म्युजियम
९. दमकस्थित चीन-नेपाल औद्योगिक मित्रपार्क
१०. झापा स्पोर्ट्स एण्ड एथलेक्टिस कम्प्लेक्स
चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको बताउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी लगानीका लागि सहजीकरण गर्छौं, लगानीको सुरक्षा गर्न प्रतिबद्ध छौँ,’ उहाँले भन्नुभयो । चिनियाँ लगानीकर्तालाई प्राकृतिक रूपमा सुन्दर मुलुक नेपालको भ्रमण गर्न आग्रह गर्दै उहाँले विभिन्न क्षेत्रमा लगानी गर्न आहृवान गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताउनुभयो । पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो । ‘विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्व हाम्रो समाजको अडिग आधार हुन्,’ उहाँले भन्नुभयो, ‘ती सभ्यताहरू अझै पनि हाम्रो आधुनिकताका यात्रामा गुञ्जिएका छन् ।’ प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक रूपान्तरणको यात्रा विश्व इतिहासमा एक अद्वितीय मोडलका रूपमा रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको जनताको लोकतान्त्रिक दृष्टिकोण चीनको ऐतिहासिक परम्परा, संस्कृति, र सामाजिक-आर्थिक विकासका आधार भएको आफूले पाएको बताउनुभयो ।
नाडा र सिसिपिआइटी-अटोबीच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चाइनिज काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड अटोमोबाइल (सिसिपिआइटी-अटो)बीच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवद्र्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधि मण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ । नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ । सिसिपिआइटी-अटोले नेपालमा चिनियाँ लगानी प्रवद्र्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ । साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ । जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिनेछ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री आज स्वदेश फर्किँदै
चीनको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली आज (बिहीबार) स्वदेश फर्किँदै हुनुहुन्छ । गत सोमबार चीन प्रस्थान गर्नुभएका उहाँ आज दिउँसो नेपाल आउन लाग्नुभएको हो । चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएको साढे चार महिनापछि ओली पहिलो औपचारिक विदेश भ्रमणमा चीन जानुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ कंग्रेसका अध्यक्षसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारी र निजी क्षेत्रका गरी झण्डै ९० जना सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच