✍️ विमल भौकाजी
‘व्यक्तित्व एक आयाम अनेक’ भने जस्तो एकै व्यक्तिभित्र अन्तरनिहित भिन्न-भिन्न व्यक्तित्व पाइनु त्यति मुस्किल नभए पनि त्यस्तो व्यक्तित्वमा उच्च बौद्धिकता भने त्यति नभेटिन सक्छ । यस सन्दर्भमा, त्यस्तो तत्व रहेको व्यक्तिको नाम यहाँ प्रस्तुत गरिएको छ, ऋषि बस्ताकोटी । क्षमता र प्रतिभा एकसाथ लिएर अघि बढेका बस्ताकोटी व्यावसायिक रूपले हेर्दा वातावरणविद् देखिन्छन्, जो प्रकृति-संरक्षणको पक्षमा बलियो खम्बा भएर उभिएका छन् । यिनै बस्ताकोटी अर्कातर्फ सामान्यतः अलिक फरक हृदय बोकी हिँड्ने कवित्व लिएर यतिखेर एउटा पुस्तकका साथ नेपाली कविताको फाँटमा देखापरेका छन् । उनले ल्याएको पुस्तकको नाम हो-‘पानीको रङ’ ।
लामो पनि भन्न नसकिने र छोटा नै भनेर पनि भन्न नमिल्ने खालका ४० थान कविता यस सङ्ग्रहमा समाविष्ट छन् । निकै खारिएका पङ्क्तिहरू भेटिन्छन् यी कविताहरूभित्र । यसरी, कविताकृति प्रकाशित गरिनुको तात्पर्य खुलाउँदै उनी आफ्नो स्वीकारोक्तिमा लेख्छन्- ‘कविताले हँसाउन सक्छ, रुवाउन सक्छ, दुःखेको घाउमा मलम लगाउन सक्छ, चेतनाको राँको सल्काउन सक्छ, आशाको दियो जगाउन सक्छ ।... कविताको भाषा मस्तिष्कको भाषाभन्दा बिलकुल फरक हुन्छ ।’
त्यसो त उनी एक जमानामा गजल विधामा खुबै जमेका गजलकार थिए । तर, त्यो गजलसँगको सम्बन्धबाट अलिक टाढिँदै उनी बिस्तारै गीति-लेखनतिर लम्किए । कविता-लेखन त उनको सुरुवाती परिचय नै हो । संयोग, विसं २०५२ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठाद्वारा आयोजित कविता महोत्सवमा पुरस्कृत यो पङ्क्तिकारसमेत पाँचजना कविमध्ये उनी पनि एक थिए, यसबाटै पनि उनकोे कवि–क्षमताको प्रदर्शन भइसकेको थियो ।
यस सङ्ग्रहका कविताबाट कवि सन्देश बाँड्छन् यसरीमात्रै, यात्रा थालिएपछि चाहे जुत्तै फाटोस्, जस्तै विघ्न-बाधा आइपरे पनि रोकिनु हुन्न, साहसिलो पाइला चाल्दै गए गन्तव्यमा अवश्यै पुगिन्छ । समग्रमा, सङ्ग्रहका अधिकांश कविताहरूले पाठकको मन-मस्तिष्कलाई झङ्कृत पार्ने क्षमता बोकेका छन् ।
कवि बस्ताकोटीको कविता-लेखनको सुरुवाती समयमै पर्यावरण क्षेत्रसँग आबद्ध रहने सङ्केत देखिसकिएको थियो कि कुन्नि, पछिल्ला चरणमा लेखिएका उनका कविताहरूले प्रायः पर्यावरण–विषयलाई नै प्राथमिकतामा राखेको भेटिन्छ । र, ती कवितालाई समाज-राज्यसँग जोडेर लेख्नु कवि बस्ताकोटीको कलमको विशेषता देखिन्छ । यस क्रममा, ती कविताहरूमा सामाजिक विसङ्गतिको व्याख्या भेटिनु अर्को महत्वपूर्ण विशेषता हो । ‘झिँगा’ शीर्षकको कवितालाई यहाँ उदाहरणको रूपमा प्रस्तु गर्न सकिन्छ-
‘उनीहरू आखिर झिँगा न हुन्
बस्ने बेलामा कहिल्यै
सुग्घर-फोहोर छान्दैनन् झिँगाले
धस्ने बेलामा कहिल्यै
आफन्त-पराई भन्दैनन् झिँगाले
झिँगाहरूले जहाँ-जहाँ देखेका हुन्छन्
जहाँ–जहाँ टेकेका हुन्छन्
त्यहाँ सबै झिँगामय नै बनाउँछन् ।’
उपर्युक्त कविताको आधारमा भन्न सकिन्छ- कवितामार्फत व्यङ्ग्य गर्न खप्पिस छन् कवि । सङ्ग्रहका कवितामध्ये ‘भ्यागुताहरू’, ‘किर्नाहरू’, ‘साँढेहरू’ लाई प्रतीकात्मक रूपमा प्रयोग गरिएका कविताहरूले सामाजिक चरित्रलाई उदाङ्गो पारिदिएका छन् । उच्च चेतनाले भरपुर उनको शब्द-बिम्बहरूले कविताका पङ्क्तिहरूलाई झकिझकाउ पारिदिएका छन् । खास गरेर राजनीतिक व्यङ्ग्य-चेत ती पङ्क्तिहरूमा बडो शानदार तवरले प्रयोग गरेका छन् । जसमध्ये रोज्नै परे सङ्ग्रहभित्रका कविताहरू मध्ये ‘सूर्यबहादुर तामाङ’ शीर्षकको कविता सरल, सौम्य तर कडा व्यङ्ग्यात्मक ढङ्गले लेखिएको देखिन्छ-
‘सूर्यबहादुरले
गरिखानेहरूको सुदिन फिर्ला कि भनेर
‘सूर्य’ लाई आफ्नो ठम्यायो र
सूर्यकै सरकार बनायो
तर अपसोच
सूर्यकै सरकार भएका बेला
भ्रमको अँध्यारोले थिचेर
भोकको भुमरीमा परेर
राजधानीकै मुटुमा
सूर्यबहादुर तामाङ डङ्ग्रङ्गै ढल्यो ।’
यस खालका कविताहरूलाई अलिकति गहिरिएर अध्ययन गर्ने हो भने त्यहाँ घुमाउरा पाराको विद्रोह लुकेको स्पष्ट देखिन्छ । यस दृष्टिकोणले, ऊ बेला गजल लेख्दा नै आरबी फ्लेमको नामबाट आफ्नो अलग्गै पहिचान बनाएका कवि बस्ताकोटीमा विद्रोहको ज्वाला हुनु अस्वाभाविक होइन । विद्रोहका लागि कुनै नियम र सीमा नहुने भएकाले उनी आफ्ना कविताहरूलाई विद्रोहका झिल्का मान्छन् । तथापि, यस्तो विद्रोहलाई असन्तुष्टिको अर्थमा बुझ्न सकिन्छ । चन्द्रमामा दाग लागेको उनलाई मनपर्दैन, सफा/सुग्घर चन्द्रमाको उज्यालो सबैले पाउनुपर्छ भन्ने दाबी गर्छन् उनी । बाटो हिँड्दा विभाजित बन्ने मनहरूसँग उनको मत मिल्दैन, उनी खबरदारी गर्छन्-अन्ततः मूलबाटोमा सबैको बाटो जोडिनैपर्छ । एउटा कवितामा त झण्डै भूपीको ‘हामी’ कविताको शैलीलाई झल्को दिने खालका पङ्क्तिहरूमा नेपालीको परिचय पढ्न पाइन्छ ।
‘अर्काकै बाटोमा हिँड्दै छौँ हामी...
आफ्ना लागि भने
न अमरसिंह हामीहरू
न बलभद्र हामीहरू
इतिहास बिर्सेका...
बेनाम हामीहरू
फगत अर्काकै लागि जन्मेका
कोसोभोका बलराम हामीहरू ।’
वास्तवमा हाम्रो अवस्था यस्तो निरीह हुनुमा जिम्मेवार को ? घर-घरमा शोषित-पीडित, अन्यायग्रस्त आममानिस परिवारबाट अपहेलित छन्, राज्यको तर्फबाट उपेक्षित छन्–तिनीहरूको आवाजको सुनुवाइ भएको छैन । त्यो कसले गर्ने ? चित्तबुझ्दो जवाफ कविताहरूले मागेका छन् । एकातिर फूलमायाहरू, म्यादीमाइलाहरूको भोक, रोगको कुरो छँदै छ त्यसमाथि ती जस्ता पात्रहरूको सिधापनलाई ‘क्यास’ गराउनेहरूको हालिमुहालीले देशको माटोमाथि पल–पलमा घात÷प्रतिघात भइरहेको यथार्थबाट कोही नागरिक अनभिज्ञ छैनन् ।
बस्, कविका आँखा अलिक चनाखा हुन्छन् स्वभावैले यी कविताहरूमा चनाखा छन् । यहीँनिर, ‘बाका जुत्ता’ शीर्षकका कवितामार्फत- जीवनको यात्रा थालिएपछि गन्तव्य भेट्न गाह्रो छैन भन्ने मान्यता खडा गर्छन् उनी । यस कविताबाट कवि सन्देश बाँड्छन् यसरी-मात्रै, यात्रा थालिएपछि चाहे जुत्तै फाटोस्, जस्तै विघ्न-बाधा आइपरे पनि रोकिनु हुन्न, साहसिलो पाइला चाल्दै गए गन्तव्यमा अवश्यै पुगिन्छ । समग्रमा, सङ्ग्रहका अधिकांश कविताहरूले पाठकको मन-मस्तिष्कलाई झङ्कृत पार्ने क्षमता बोकेका छन् । पुस्तकको शीर्षक-कविता ‘पानीको रङ’को सानो अंश-
‘अचेल पानी पानी जस्तो छैन
खोला खोला जस्तो छैन
नदी नदी जस्तो छैन ।
बरु बिस्तारै मान्छे जस्तै भएको छ
मान्छेको मन जस्तै प्रदूषित भएको छ
मान्छेको विचार जस्तै कलुषित भएको छ ।’
धैरै ढिलो गरी आयो तर राम्रै आयो । यस्ता राम्रा कविता लिएर आउने कवि ऋषि बस्ताकोटीको ‘पानीको रङ’लाई नेपाली काव्यजगत्मा हार्दिक स्वागत !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच