काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले निकृष्ट कार्य गरेको आरोप लगाएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई अपराधीजस्तो गरेर रातारात पोखरा लगेको घटना आश्चर्यजनक, निकृष्ट र निन्दनीय भएको बताउनुभएको हो । चितवनमा बयान सकिएपछि लामिछानेलाई बुधबार राति पोखरा लगिएको थियो । उक्त कार्यलाई रास्वपाले गैरन्यायिक चाल भएको टिप्पणी गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्ने रास्वपाको माग छ ।
रास्वपाले उक्त विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानव अधिकारवादी संघसंस्थाहरूको पनि गम्भीर ध्यानाकर्षण गराएको छ । ‘सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानव अधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ,’ कार्यवाहक प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानव अधिकारवादी संघ संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
सरकारको कार्य संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवं यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत भएको रास्वपाको ठहर छ । ‘आज सांसद रवि लामिछानेका माध्यमबाट दुई तिहाइको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्धत रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
लामिछाने कसुरदार नभई एक आरोपित मात्र भएको भन्दै उहाँले सरकारको कानुनी प्रक्रियामा साथ दिएर नागरिक कर्तव्य निर्वाह गरिरहेको रास्वपाले जनाएको छ । सहारा चितवन सहकारी ठगीको आरोपमा मंगलबार र बुधबार बयान गराएर लामिछानेलाई बुधबार बेलुका नै पोखरा लगिएको थियो । दिनभर बयान चलिरहँदा रास्वपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीसँग झडप पनि भएको थियो । दिउँसो लैजाँदा रास्वपाका कार्यकर्ताले अवरोध गर्न खोज्ने र सम्भावित मानवीय क्षतिलाई रोक्न राति नै लगिएको चितवन प्रशासनको भनाइ छ ।
गोर्खा मिडियाका तत्कालीन महाप्रबन्धकसमेत रहनुभएका लामिछानेलाई पोखरा प्रहरीको हिरासतमा राखिएको छ । उहाँमाथि सूर्यदर्शन सहकारी ठगीसँगै सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुरमा अनुसन्धान चलिरहेको छ । पोखरामा अनुसन्धान चलिरहँदा अरू चारवटा सहकारी ठगीको आरोपमा पनि साथसाथै अनुसन्धान भइरहेको छ । बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र पर्साको सानोपाइला सहकारी ठगीको आरोपमा पनि रास्वपा सभापतिमाथि अनुसन्धान भइरहेको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएका लामिछानेलाई स्थलमार्गबाट रातारात कास्की पुर्याइएको थियो । पोखराबाट उहाँलाई जहाजमा रुपन्देही लगेरसमेत बयान लिइएको थियो । रुपन्देहीबाट पोखरा पुर्याएर फेरि काठमाडौं ल्याइएर बयान लिइएको थियो । काठमाडौंमा बयान सकेर उहाँलाई फेरि राति नै चितवन पुर्याइएको थियो । चितवनमा बयान सकेर उहाँले अहिले फेरि कास्की प्रहरीको हिरासतमा राखिएको छ । आइतबार कास्की जिल्ला अदालतबाट थप म्याद लिएर लामिछानेलाई पर्सा लैजाने प्रहरीको तयारी छ ।
डायरी खोसिएको दाबी
कास्की प्रहरीले सभापति लामिछानेको ‘हिरासत डायरी’समेत जफत गरेको रास्वपाले दाबी गरेको छ । चितवनबाट पोखरा ल्याइएपछि ब्याग खानतलासीका क्रममा प्रहरीले डायरी लिएको रास्वपाको दाबी छ । यसअघि लामिछानेलाई हिरासतमा भेट्नुभएका रास्वपा नेता दीपक बोहराले पनि प्रहरीले सभापति लामिछानेको डायरी लगेको बताउनुभएको थियो । ‘उहाँले हिरासतमा बस्दा आफ्ना अनुभव र भोगाइहरू डायरीमा उतारिरहनु भएको छ । काठमाडौं र चितवन जाँदा त्यो डायरी उहाँको ब्यागमै थियो । तर, चितवनबाट कास्की पुगेपछि ब्यागमा डायरी नभएको बताउनुभएको छ,’ उहाँले भन्नुभएको थियो । प्रहरीले भने रविको डायरी नखोसेको दाबी गर्दै आएको छ ।
मानव अधिकार आयोगसँग रविको माग : अमानवीय व्यवहारको छानविन होस्
प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिले भेटेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर आयोगको पोखरा क्षेत्रीय कार्यालयकी निर्देशक नीतु गड्तौला सहितको टोलीले लामिछानेसँग भेटेको हो । आयोग प्रतिनिधिसँगको भेटमा रविले आफूलाई अमानवीय रूपमा मध्यरातमा उठाएर चितवनबाट कास्की ल्याइएको गुनासो पोख्नुभएको थियो । यस विषयमा आयोगले छानविन गर्नुपर्ने माग पनि उहाँले राख्नुभएको छ । ‘मलाई सान्त्वना चाहिएको होइन, घटनाको छानविन हुनुपर्छ । मलाई चितवनबाट कास्की ल्याउने क्रममा जुन हर्कत गरियो, त्यसको सत्यतथ्य आयोगले छानविन गराओस्,’ मानव अधिकार आयोगका प्रतिनिधिसँग रविको भनाइ थियो । रविले आफ्नो स्वास्थ्य स्थिति ठीक नरहेको बताउँदा बताउँदै मध्यरातमा जबरजस्ती उठाइएको बताउनुभयो । आफूलाई उठाउन आएका प्रहरीमध्ये एक जनाले मादक पदार्थ सेवन गरेको उहाँको दाबी थियो । आयोगकी निर्देशक गड्तौलाले लामिछानेको अवस्था बुझ्नका लागि हिरासतमा आएर भेटेको बताउनुभयो । ‘हामी अनुगमनका लागि आएका हौँ । सबै सूचनाहरू संकलन गरेका छौँ । यसै आधारमा अब केन्द्रीय कार्यालयमा रिपोर्टिङ गर्नेछु,’ उहाँले भन्नुभयो ।
रविलाई दुःख दिने काम अस्वाभाविक र अन्यायपूर्ण : डा. भट्टराई
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई शुक्रबार भेट गरेपछि उहाँले राज्यबाट एकपछि अर्को ढंगमा रविलाई दुःख दिने काम भइरहेको बताउनुभयो । साथै, उहाँले राज्यबाट अस्वाभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाउनुभएको छ । ‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रूपमा म उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैँ सद्भाव पनि छ,’ रविलाई भेटेपछि सञ्चारकर्मीसँग भट्टराईले भन्नुभयो, ‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वाभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यबद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।’ सहकारी समस्या समाधान नहुँदा पचासौँ लाख साना बचतकर्ताहरू मर्कामा परेको उहाँको भनाइ थियो । ‘सहकारीसम्बन्धी समस्याको जरो धेरै फैलिएको छ । ३० वर्षदेखि पालैपालो सत्तामा बसेका नेताहरूकै वरिपरिबाट अपचलन भइराखेको छ,’ उहाँले भन्नुभयो, ‘पचासौँ लाख साना बचतकर्ताहरू मर्कामा परेका छन् । तीनको समाधान हुनुपर्यो । अहिले यो कुरालाई अल्झाइराख्ने र त्यो विषयान्तर गर्ने विषय होइन । कानुनले आफ्नो बाटो लियोस् ।’ भेटका क्रममा सभापति लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र उक्त सन्देश बाहिर लैजान आफूलाई आग्रह गरेको भट्टराईले बताउनुभयो । ‘उहाँ (रवि)ले ममाथि राजनीतिक प्रतिशोध हो । मैले सबै गरिरहेको छु, गर्छु भन्नुभयो । यो सन्देश बाहिर पुगोस् भन्नुभएको छ । मैले चाहिँ सधैँ सत्य र न्यायको पक्षमा लडेको मान्छे भएकाले सधैँ लड्छु र बोल्छु भनेको छु,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच