हालका दिनहरूमा सचेत लेखकहरूबाट विभिन्न जिल्लाको साहित्य, संस्कृति तथा राजनीतिक इतिहास लेख्ने प्रवृत्ति बढिरहेको छ र धेरै जिल्लाको इतिहास लेखिएको पनि छ । यही क्रममा सोलु जिल्लाको इतिहासको पुस्तक पनि आएको छ ‘सगरमाथाको काखबाट इतिहास नियाल्दा’ शीर्षकमा । शीर्षकलाई हेर्दा यो सोलु जिल्लाको इतिहास हो कि अन्यत्रको भने जस्तो देखिन्छ तर यसभित्रको पाठ्यअंशबाट यो सोलुको इतिहास हो भन्ने थाहा हुन्छ । छन्दविज्ञान निरौलाद्वारा लेखिएको यस पुस्कबाट सोलुका धेरै पक्ष उजागर भएका छन् । यसको सम्पादन लेखकबाटै भएको छ ।
समग्र अध्ययन अनुसन्धान केन्द्र नेपाल प्रकाशक रहेको यस पुस्तकको सर्वाधिकार लेखकमै छ । पुस्तकको पहिलो संस्करण हो जुन २०८१ सालमा सार्वजनिक भएको छ । २००० को सङ्ख्यामा छापिएको यस पुस्तकमा भूमिका खण्डमा १२ र पाठ्यखण्डमा २८२ गरी २९४ पृष्ठ छन् भने पुस्तकको मूल्य व्यक्तिगत ५५० र संस्थागत १००० रुपैयाँ रहेको छ । डिएमआई साइजको पुस्तकको छपाइ स्तरीय छ तर अशुद्धि भने भेटिन्छन् । पहेँलो तौलयुक्त कागज यस पुस्तकमा प्रयोग भएको छ । अजिमा अपसेट प्रेस प्रा.लि.बागबजार काठमाडौं मुद्रक रहेको पुस्तकको आवरण मेनुका पौडेल (निरौला) द्वारा तयार पारिएको छ ।
एकजना लेखकले यसरी आफ्नो जिल्लाको इतिहास केलाउन खोज्नु प्रशंसनीय कार्य हो तर यसमा धेरै भाषिक तथा लेखकीय त्रुटि रहेका छन् । लेखकको विश्लेषण र मौलिकता कम छ, संकलन र त्यसको प्रस्तुति बढी पाइन्छ ।
आवरण कलेजी रङको पृष्ठभूमिका बीचमा सगरमाथाको द्वार भनेर चिनिने प्रसिद्ध नाम्चे बजारको तस्वीर राखिएको छ । माथि ठूला पहेँला अक्षरमा पुस्तको शीर्षक राखिएको छ ‘सगरमाथाको काखबाट इतिहास नियान्दा’ भनेर र तल साना सेता अक्षरमा लेखक छन्दविज्ञान निरौलाको नाम दिइएको छ । पृष्ठ आवरणको भित्रपट्टि लेखकको घर पितामाता, लेखक र उहाँकी श्रीमतीका फोटा राखिएका छन् भने पृष्ठ आवरणमा फोटोसहित लेखकको नाम र अन्य परिचयात्मक विवरण दिइएको छ । यही पृष्ठको भित्रपट्टि नेपालको नक्साका साथै सोलुखुम्बु जिल्लाको नक्सा दिएको छ ।
भूमिका खण्डको सुरुमा ‘समर्पण’ छ र त्यहाँ चार पाउको एक श्लोक कवितामा लेखकले यो पुस्तक अग्रजहरूमा समर्पण गर्नुभएको छ । त्यसपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री बलबहादुर केसी, संघीय सांसद दुर्लभ थापाका ‘शुभकामना’ रहेका छन् । डा.पुस्करराज भट्टको ‘भूमिका’ र ‘लेखकको शब्द’ छन् । यसपछि विषयसूची रहेको छ । यो पुस्तक तीन अध्यायमा विभाजित छ । पहिलो अध्यायमा पृष्ठभूमिदेखि २००७ सालको क्रान्ति, त्यसको परिणाम र प्रजतान्त्रिक सरकारको गठनसम्म समेटिएको ।
दोस्रो अध्यायमा सोलुखुम्बुको परिचय, इतिहास, सामाजिक, धार्मिक, प्रशासनिक, ऐतिहासिक, साहित्यिक, आर्थिक, राजनीतिक विषय केन्द्रित भएर त्यससम्बन्धी खोज तथा संकलनका कार्य समावेश गरिएको पाइन्छ । तेस्रो अध्याय पनि सोलुकै सन्दर्भमा केन्द्रित छ । यो पुस्तक समग्रमा इतिहासको पुस्तक भएका कारण यसमा सोलुकै तथ्यतथ्याङ्, विवरण र विश्लेषण हुनु स्वाभाविक हो । सुरुदेखि माओवादीको सशस्त्र विद्रोह र त्यसपछिको हालसम्मका सन्दर्भ समेटेर यो पुस्तक लेखिएको छ ।
ओखलढुङ्गा, झापा, भोजपुरलगायत जिल्लाले आ-आफ्नो जिल्लाको इतिहास लेखिसकेका सन्दर्भमा सोलुखुम्बुका एकजना लेखकले यसरी आफ्नो जिल्लाको इतिहास केलाउन खोज्नु प्रशंसनीय कार्य हो तर यसमा धेरै भाषिक तथा लेखकीय त्रुटि भने छन् । यसमा लेखकको विश्लेषण र मौलिकता कम छ, संकलन र त्यसको प्रस्तुति जस्तो बढी पाइन्छ । यसभन्दा पनि अर्को कमजोरी भनेको अरू-अरू लेखकका विभिन्न पुस्तकबाट सामग्रीहरू उद्धरण भएका छन् । यसो हुनु लेखकीय रूपमा अक्षम्य मानिन्छ ।
भोलिका दिनहरूमा यस्ता कुराहरूमा सुधार गर्दै लैजानुपर्ने आवश्यकता देखिन्छ । यति मिहिनेत गरिसकेपछि पुस्तकलाई प्रकाशन गर्न हतार नगरी एक पटक राम्ररी सम्पादन गर्न सकेको भए अझै राम्रो हुनसक्थ्यो । यति मिहिनेत गरेर पुस्तक प्रकाशन गरेकोमा लेखक निरौलालाई बधाई छ र सफलताको कामना । उहाँबाट अन्यान्य पुस्तक अझै खारिएर, माझिएर र परिपक्व भएर आउन सकून् शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच