बाटो निरन्तर हिँड्ने व्यक्ति टुङ्गोमा पुग्छ । एक सोच, एक दर्शन, एक दृश्य हुनु गहिराइको सच्चा उदाहरण हो । हो, व्यावहारिक जीवनका वरिपरि प्रशस्त विविध विषयमा झुम्मिनु/होमिनु पर्छ । सबैका बीचमा जीवन होमिएर पनि अन्तर मनको आत्मविश्वासले जुन क्षेत्रलाई बढी स्थान दिन्छ त्यसमा चाहिँ सोच अनुसार नभए केही प्रश्न पनि रहन सक्लान्, सक्छन् स्वभाविक हो । मनको बढी मात्रा सांसारिक सोचमा डुबाउने अनि अस्तित्वको आशा चाहिँ सिर्जनाबाट गर्यौँ भने अस्वाभाविक सोचको उपज हुन जान्छ । यसबाट नै जीवनमा अलिकति छट्पटी, अलिकति बेचैनी, अलिकति उदासिनता जन्मन पुग्ने हुन्छन् ।
केही गरौँको मन, यो कि त्योको छट्पटी, अस्थिर मनोद्वेग, एकल विश्वस्त विषयमा समर्पणविनाका जीवन अशान्त हुन्छन् । आफैँमा अविश्वस्त । के गरौँ ? के नगरौँका अटेसमटेस खुल्दुलीभित्र पनि केही गरिरहेका अशान्त अवस्थाका समालोचक हस्ती हुन् मेरा लामा समयका कतै विरोधाभास, कतै अन्तर मिलनको लगाव, कतै बाजाबाज, चर्काचर्की तैपनि सँगैको सूत्र, छक्क पर्नु होला तर यस्तै हुन् उनको दुश्मन म, मेरा दुश्मन मित्र समालोचक युवराज मैनाली ।
समालोचक युवराज मैनाली निकै लहडी साहित्यकारका रूपमा देख्छु म । कसैले ओठे शब्दले प्रशंसा गर्दैमा फुरुक्क फुर्किने स्वभाव उनकै जीवनमा उनैलाई घातक बनेको छ । कतिलाई चढाए उनले कतिलाई साहित्यिक ऊर्जाले बढाए पनि । कतिलाई रेष्टुराका छानिएका खानाले मोटाउने पनि बनाए ।
बागबजारको छिँडी, सामुन्ने चर्पी थियो छर्लङ्ग देखिने । कुर्सीको उच्च शिखर चढेर भर्खरै ओर्लिएका त्यस छिँडीको तत्कालीन बासमा भविष्यको आस चेपेर छ्याङ्ग देखिने गनाउने चर्पी हेर्दै भातका गाँस टिप्न विवश थियौँ म र मेरा भञ्जा प्राडा.कुलप्रसाद कोइराला । त्यसैले युवराजलाई त्यस बेला म त्यस कोठामा जाऊँ भन्न अप्ठेरो मान्थेँ, भनिन पनि । यदाकदा ज्ञानेश्वरको घर जहाँ युवराजका दाजुभाइ सबैको भाडामै बसाइ थियो, लैजान्थे । कैयौँ पटक उनले सायद अम्लेट भन्छन् क्यारे तारेका अण्डा र चिउरा खुवाउँथे । लाग्थ्यो यिनी निकै धनी रहेछन्, हो पनि रहेछन् अभावभन्दा माथिकै ।
प्रायः हामी बागबजारको नरेन्द्र कार्कीको कोठामा जम्मा हुन्थ्यौँ । नरेन्द्र, केशव प्रधान र युवराजको मैत्री रसायन मिलेको थियो निकै मजाले । उनीहरू गफ चुटिरहन्थे आकर्षक ढङ्गले । बिचरो म सुनिरहन्थेँ एकतमास । एक झोला हस्तलिखित कपीका ठेली बोकेर युवराज पुग्थे त्यहाँ । मच्चीमच्ची घनघच्चीले सुनाउँथे, अरूका पनि सुनाउन लगाउँथे । यहाँसम्म युवराजको यो पन, अर्कालाई हौस्याउने उत्साह र उत्सुकता अत्यन्त प्रशंसायोग्य हुन्थ्यो त्यस बेला ।
त्यस शून्यावस्थामा जीवन कता लैजाने ? के गर्ने ? कसरी समाजको एक छेउमा विशाल समुद्रका किनारास्थित बालुवाका थुप्राभित्र एउटा कण जतिको स्पेस वा आयतन लिने ? जस्ता प्रश्नले सताइरहेका मेरासामु मैले थाहा नै नपाई तिनै टुटेफुटेका आँसु र हाँसोका, वेदना र झिल्काका कहाँ भेटे, कसरी जम्मा गरे शब्दलाई समेट्दै प्रकाशित कृति मेरै अगाडि फालिदिए विनाप्राप्तिका आशामा मेरो पहिलो कविताकृति । त्यो व्यक्तित्व हो युवराज मैनाली । सायद त्यसैताक उनले-‘मुर्दा बोल्छ’ शीर्षक आफ्नो पहिलो प्रकाशित कथासङ्ग्रहको कृति यसपछि ल्याए जनसमक्ष । नयाँ शब्दसञ्जाल सजाइएका गनिसाध्य नहुने समालोचनात्मक कृतिलेखनमा निमग्न थिए उनी । यो क्रम निरन्तर खारिएर अगाडि बढेको भए अहिले नेपाली साहित्यको समालोचनात्मक शिखरको कुन कुर्सीमा उनी हुन्थे ? सम्झँदा कहाली लाग्छ ।
यस क्षेत्रमा अवरोध खडा गर्ने अर्को विषय वा व्यक्ति नभएर उनीभित्रकै द्वैध मानसिकताकै उपज हो । त्यसबेला नै खारिएको समालोचनात्मक दृष्टिमा, साहित्यलेखनको जन्मजात पहिलो प्रकृतिलाई नचिनेर उनी लामो समय कृत्रिम त्यो पनि दिलदिमाख, रातदिन, साँझबिहान त्यसमै खर्चनु पर्ने कर्मचारीको कुर्सीप्राप्तिका लागि दौडे । कृत्रिम प्रकृतितिर गएकाले नै उनी यसको सफल आरोहण उकालो उक्लन सकेनन् । मनमा साहित्यतिरको हुट्हुटी समय जति पेशाका छट्पटीमा खर्चनुको अर्थ हो दुवैतिरको असन्तुष्टि । यसै असन्तुष्टिको वास्तविक यथार्थ अनुभवको निकै चर्चित त्यस क्षेत्रको जन्मजात प्रकृतिको सुन्दर अनुहार-‘भ्रष्टाचारको भाङ्’ शीर्षक कृति लिएर निस्के नेपाली साहित्यभण्डारमा ।
समालोचक युवराज मैनाली निकै लहडी साहित्यकारका रूपमा देख्छु म । कसैले ओठे शब्दले प्रशंसा गर्दैमा फुरुक्क फुर्किने स्वभाव उनकै जीवनमा उनैलाई घातक बनेको छ । कतिलाई चढाए उनले कतिलाई साहित्यिक ऊर्जाले बढाए पनि । कतिलाई रेष्टुराका छानिएका खानाले मोटाउने पनि बनाए । त्यसबाट प्राप्ति के त ? आशा नराख्नु विचारको निर्दिष्ट निर्णायक बिन्दु हो तर राखेर पनि उनलाई थाहा छैन ।
साहित्य र समालोचना आशा/खानाका विषय होइनन् । निर्वाध अन्तर तरङ्गको उपल्लो श्रेणीमा निर्णयको साँध लगाएर गरिने आत्म अठोटको साधना हो । गरेका कामका जस् स्वतः पाइनु स्वभाविक हो । आफ्नै मुखले खोजिनु, भएको जस् पनि मेटिनु नै हो । यस कुराप्रति धेरै लेखक÷साहित्यकार÷समालोचकहरू या त बुझ्ने चासो नै राख्दैनन् या त बुझेर पनि बुझ पचाउँछन् । गरेका काममा श्रेयको आशा राख्नु नगरे बराबर हो । युवराज मैनालीको अवगुण भनेको नै प्रशंसामा सतर्क नरहनु हो वा फुरुक्क परेर नभएका पगरी उसलाई गुताउँदै नाजायज तर्कले त्यसलाई सिद्ध गर्ने बक्बासमा समय खेर फाल्नु हो ।
यिनी बढी बोलीको चर्कोपनमा विश्वास राख्छन् मन छाम्न खोज्दै खोज्दैनन् । यो उनको लेखकीय मात्र नभएर मान्छेकै रूपमा घातक गुण हो । यस प्रवृत्तिले गरेका असल कार्यलाई पनि ओझेलमा पार्छ, उल्टो बनाइदिन्छ । सम्भवतः वचनले विश्वास नगरे पनि यसको भारी उनले प्रशस्त बोकेका छन् । अहिलेसम्म यिनले चार समालोचनात्मक र तीन सिर्जनात्मक कृति नेपाली साहित्यभण्डारलाई सुम्पेको देखिन्छ । यीमध्ये सिर्जनात्मक क्षेत्रमा भ्रष्टाचारको भाङ नामक हास्यव्यङ्ग्यात्मक कृति उनको लेखनजीवनको निकै माथिल्लो कृति हो । यो चाहिँ आफ्नै घरमा बसेर फोहोर भएको रिसले जुर्मुरिँदै आगो लगाउँदा जन्मेको यथार्थपरक कृति हो । यसर्थमा निकै माथिल्लो पनि छ । यो विशेषता सर्वत्र बोली, व्यवहार र लेखनसमेतमा भइदिएको भए युवराजलाई म साहित्यिक क्षेत्रका युवराज नै भन्थेँ तर हुनुपथ्र्यो हुन सकेनन् मेरो लेखनमा दुःखद् पक्ष हो यो ।
कुन् लहडमा हो कुन्नि युवराजले लघुकथा सङ्ग्रह भनेर प्रकाशित गरे-‘पृथक बाटो ।’ यसबाट अन्तराष्ट्रिय पुरस्कार पनि प्राप्त गरे । यसमा युवराज मख्ख र सन्तुष्ट पनि छन्, बधाई मैले पनि दिएकै हो तर म यसमा सहमत छैन । यो कृति लघुकथासङ्ग्रह नभएर जीवन दृष्टिकोणका दार्शनिक टुक्राहरूको सङ्ग्रह हो । प्रभावपरक समालोचनाका क्षेत्रमा युवराजको निकै मीठो दख्खल छ । प्रभाव व्यक्तिपरक पनि हुन सक्छ कृतिपरक पनि । यसमा यसै भन्ने ठाउँ रहन्न । समालोचकका तत्कालका आँखामा जे देखियो, उसले आफ्ना समालोचकीय दृष्टि जसरी फिजाउन, फैलाउन, व्यक्त गर्न चाहृयो त्यसैगरी गर्ने छुट् छ ।
सच्चाइ नस्वीकार्नु उनको अर्को गजब विशेषता हो । हरेक क्षेत्रमा गफमा होस् वा कुरामा, गम्भीर वार्तालापमा होस् वा सामान्य सन्दर्भमा तथ्यको विरोध गर्नु र अतथ्यलाई सच्चाइ ठानेर बहकाउनेको मुखपात्र भई भाँडभैलो मच्चाउनुमा क्षणिक विजयको गर्व ठान्नु घातक विशेषता हो मेरा दुश्मन मित्र युवराज मैनालीको ।
तलमाथि भयो भने, भावकले अस्वाभाविक जस्तो ठाने भने चाहिँ समालोचक आफैँ यस क्षेत्रमा आफ्नो कुर्सी निर्णय गर्न सक्दैन । यो उसकै दायित्वको कुरा हो । यसर्थ यसमा पनि निकै सतर्क/सजग भएर समालोचकले शब्द खिप्नुपर्छ । मेरा दुश्मन मित्र युवराज मैनालीमा यो पक्ष निकै सबल छ तर पनि केही क्षण अघि मात्र कसैले प्रशंसाका फुलबुट्टा भरिदियो भने तीललाई पहाड र पहाडलाई तील बनाउन बाँकी राख्दैनन् । यो उनको ऋणात्मक हुँदाहुँदै पनि दृष्टि-दृष्टिकोण शीर्षक हालसालै साझाबाट प्रकाशित भएको समालोचनात्मक कृति उनको अहिलेसम्मको कोसेढुङ्गो हो ।
अहं, इष्र्या, प्रशंसा प्राप्तिका खोज व्यक्तिजीवनकै घातक चिजहरू हुन् । साहित्य/समालोचनाका क्षेत्रमा सरिक व्यक्तिहरूका लागि त यी अझ क्यान्सरका किटाणु बराबर पीडादायक बन्दछन् । यिनीहरूभित्र दबेर बसेका खण्डमा मानिसलाई अस्मितामा माथि उकास्ने होइन अनस्मितामा तल खसाल्दछन् । युवराजको दुश्मन म, मेरा दुश्मन युवराज सच्चा अर्थमा कवि हुन् । उनका प्रकाशित/अप्रकाशित निकै कविता मैले राम्ररी पढेको छु । उनीसँग जन्मजात आएको, प्रकृतिले अझ उनकै मान्यताका आधारमा भन्ने हो भने ईश्वरले वरदान दिएको पहिलो व्यक्तित्व चाहिँ कवि व्यक्तित्व हो तर यो कुरा उनी कहिल्यै स्वीकार्दैनन् ।
सच्चाइ नस्वीकार्नु उनको अर्को गजब विशेषता हो । हरेक क्षेत्रमा गफमा होस् वा कुरामा, गम्भीर वार्तालापमा होस् वा सामान्य सन्दर्भमा तथ्यको विरोध गर्नु र अतथ्यलाई सच्चाइ ठानेर बहकाउनेको मुखपात्र भई भाँडभैलो मच्चाउनुमा क्षणिक विजयको गर्व ठान्नु घातक विशेषता हो मेरा दुश्मन मित्र युवराज मैनालीको । समालोचकीय दृष्टि उनको दोस्रो सिर्जनात्मक व्यक्तित्व हो । यसमा चाहिँ उनको लामो समय निजामती कर्मचारीको कुर्सीलाई सर्वस्व हो भन्ने ठानेर अनुपस्थित रहे पनि निरन्तरता रहेकै मान्नु पर्दछ । यो सकारात्मक पक्ष हो । उनको अहिलेसम्मको मानक कृति- दृष्टिः दृष्टिकोणमा उनान्तिस जना व्यक्ति/व्यक्तित्वलाई समेटेर तीनसय बाह्र पृष्ठको लग्भग भीमकायजस्तै कृति प्रकाशित छ । यसमा सबभन्दा बढी समालोचकीय पृष्ठ म दुश्मनकै नाममा खर्चेर आन्द्राभुँडी नै चिरफार गरेका छन् तर पूरै सकारात्मक सन्दर्भमा, क्रमशः अन्यका पनि ।
आफ्ना कुरा खरादरा किसिमले प्रस्तुत गर्ने उनको दुश्मन म र मेरा दुश्मन युवराज मैनाली अहिले केही हदसम्म अरूका कुरा पनि सुन्छन् । पहिले अर्थात लेखनका सुरुतिर त एक बोरा आफ्ना सामलखाजा बनाउने, दौडेर आउने र हर्हर्ती गोजेराबाट एकतमासले जम्मै खन्याउने, अर्कोले एक वाक्य मात्र ओठबाट निकाल्न खोज्नासाथ जुरुक्क उठेर हिँड्ने । यो धम्कीको शैली र दवावको भारी बोक्नु बाहककै निम्ति हानिकारक कुरा हो । आफ्ना कुरा कम, अरूका कुरा ज्यादा सुनेर समस्याका गहिराइमा कहिल्यै नबिर्सिने गरी पुग्नुले चाहिँ सच्चा व्यक्तित्वको विकास हुन्छ । मेरो सन्दर्भमा यो सद्बुद्धि उनका सन्दर्भमा यो कुबुद्धि उनमा पलावस्, मेरो कामना उनकै लागि ।
उपदेशका अँगाला बोक्नु अर्कालाई निषेध गर्नु हो । अर्काको व्यक्तित्व अस्वीकार्दै धावा बोल्नु हो । यो एकालापे उन्मादको आँखो मिल्काएर सांसारिक भौतिक माँखेजालमा नघुमी सङ्कल्पित मनस्थितिले कविता, समालोचना र अन्य जुन्सुकै साहित्यविधामा समाधि कस्ने हो भने मेरा दुश्मन मित्र भए पनि युवराज मैनालीसँग अनौठो क्षमता छ तर सही क्षमता चिनेरसमाधि कस्न उनलाई आफैँभित्रका अहंबोध, विजयात्मक तृष्णा, अलिकति बोलीभित्रबाटै तुरुन्त उत्पन्न हुने डाह तगारा बनेर बसेका छन् । यस लेखमा दिएका ताली जति बिर्सेर गालीका खेतमा अक्षरात्मक हल्हलाउँदा ब्याड गोड्न समाधि कसून् मेरा दुश्मन युवराज, अन्तर दिलको शुभेच्छा भन्दै कलम बन्द गर्छु म ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच