![वर्तमान सरकार स्थिरता र सुशासनका निम्ति : सभापति देउवा](https://ehimalayatimes.com/wp-content/uploads/2024/12/nepali-congress-2.jpg)
काठमाडौं । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको फ्रेमवर्कमा नेपाल र चीनबीच हस्ताक्षर भएपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् । खासगरी सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका केही नेताले ऋण लिने बाटो खुला राखी गरिएको सम्झौता पार्टी नीतिविपरीत भनी सरकारको आलोचना गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने औपचारिक भ्रमणका क्रममा बिआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । कांग्रेस सुरुदेखि नै बिआरआई परियोजनाअन्तर्गत ऋण लिन नहुने पक्षमा थियो । कुनै पनि देशसँग अनुदान स्वीकार्ने तर ऋण लिन नहुने अडान कांग्रेसको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुवै तरिकाको व्याख्या र अर्थ लाग्ने गरी बिआरआईको फ्रेमवर्कको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसैलाई लिएर सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केही नेताहरूबाट असन्तुष्टि प्रकट भएको हो । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले बिआरआईको फ्रेमवर्कको सम्झौता पत्रका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यसअघि बिआरआई अन्तर्गतका परियोजना ऋणमा भए पनि स्वीकार्नुपर्ने बताउँदै आएको माओवादी केन्द्रले अब समीक्षा गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । तर, अहिलेको सम्झौता अपूरो र अस्पष्ट खालको देखिएको उसको प्रतिक्रिया छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा पार्टीको निर्णयविपरीत सम्झौता भएको भन्दै कांग्रेस नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाए पनि प्रधानमन्त्री ओलीले पनि भ्रमणबाट फर्किएपछि चीनसँग ऋणसँग सम्बन्धित कुनै सम्झौता नभएको दाबी गर्नुभएको छ । तर, दुईपक्षीय सम्झौतामा ऋण र अनुदान दुवै विषय समेटिएकाले यसप्रति केही आलोचना पनि भइरहेको छ ।
आलोचना गर्नु बचपना : राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे)को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन नेदरल्याण्डसको हेग प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरेको आरोप पनि लगाउनुभयो । परराष्ट्रमन्त्री राणाले चीन भ्रमणबाट फर्किएपछि यसबारे पहिलो सार्वजनिक प्रतिक्रिया दिनुभएको हो । उहाँले ऋण लिनेदिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौतामा हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाउनुभयो ।
नेपालले चीनसँग बिआरआईबाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो । चीनले अघि सारेका विकास पहलमा मात्रै नेपालको चासो रहेको उहाँको भनाइ थियो । बिआरआई सम्झौता आफैँ विकास सहायता भएको र नेपालले चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्समा मात्र सहभागिता जनाएको उहाँको प्रष्टोक्ति थियो ।
कांग्रेससँगको सहमतिमै भएको हो : गृहमन्त्री लेखक
गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले चीनसँग बिआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कांग्रेससँगको सहमतिमा भएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २० गतेसम्मको चारदिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बिआरआई सहकार्य फ्रेमवर्क’मा सहमति भएको थियो । कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै गृहमन्त्री लेखकले ‘बिआरआई सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर सत्तारूढ दलहरू बीचको सहमतिमै भएको बताउनुभयो । ‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआईसम्बन्धी थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारणा, सल्लाह र सहमतिअनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन,’ उहाँले भन्नुभयोे ।
गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिन आवश्यक रहेको भन्दै बिआरआईमा ऋण लिने कुरा नभएको बताउनुभयो । ‘कांग्रेसले ऋण लिन्नँ भनेर भनिसकेको छ । प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ । अब यसको ठीक कार्यान्वयनमा लाग्नुपर्छ,’ उहाँले भन्नुभयोे । बिआरआईमा ऋण लिने बाटो खुला राखेर सहमति गरेको भन्दै कांग्रेसभित्र आवाज उठिरहेको बेला गृहमन्त्री लेखकको यस्तो अभिव्यक्ति आएको हो ।
त्यस्तै, कांग्रेस र एमाले मिलेर बनेको सत्तारूढ गठबन्धनको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको लेखकको भनाइ थियो । संविधान संशोधनको विषय उठेको भन्दै मन्त्री लेखकले संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने बताउनुभयो ।
परियोजनामा सम्झौता गर्नु सुखद : खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बिआरआई) सम्झौता गर्नु नै थियो भने यति धेरै नाटक किन गरेको ? भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ । चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारलाई प्रश्न गर्नुभयो, ‘बिआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको ? छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँग सम्बन्ध राम्रो बनाउन सक्छ ?’ छिमेकीसँग यो प्रकारको लापरबाही गर्न नहुने उहाँको धारणा थियो । ‘तर जे होस् धेरैपटक घुमाउरो गरेर भए पनि बिआरआई सम्झौता भएको छ’ उहाँले भन्नुभयोे, ‘त्यो राम्रो कुरा हो । मैले खुसी प्रकट गर्नुपर्छ ।’ खनालले नेपालको तयारी नपुगे पनि अन्तिममा बिआरआई परियोजनामा सम्झौता गर्नु सुखद रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच