काठमाडौं । नेपाली कांग्रेसभित्र पुनः आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । शनिबारदेखि सुरु कोशी प्रदेशको प्रथम सम्मेलन संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले बहिष्कार गरेसँगै कांग्रेसमा संस्थापन र इतर समूहबीचको विवाद सार्वजनिक रूपमै देखापरेको हो । पार्टीको १५औँ महाधिवेशनको तयारी थाल्नुभएका डा. कोइरालाले गृह प्रदेशकै प्रथम प्रदेश अधिवेशनलाई बहिष्कार गरेसँगै संस्थापन र इतर पक्षबीच थप टकराव हुने देखिएको छ । कोइरालाले विराटनगरमा जारी प्रदेश अधिवेशनलाई चुनौती दिनेगरी यसअघि बुधबार नै कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला सम्पन्न गरिसक्नु भएको छ । कोशी प्रदेशका १३७ पालिका सभापतिमध्ये ११३ र ६ वटा महानगरका सभापतिहरू इतर पक्षको भेलामा सहभागी भएका दाबी गरिएको छ । विराटनगरमा हुने सम्मेलनको पूर्व–सन्ध्यामा शेखर समूहले प्रदेशका पालिका सभापतिहरूको भेला राखेपछि संस्थापन पक्ष पनि आक्रोशित छ ।
स्थानीय तह उपनिवार्चनमा डा. कोइरालाको गृहजिल्ला मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको परिणामपछि सुरु भएको संस्थापन र इतर समूहको द्वन्द्व पार्टीको सम्मेलन बहिष्कारसम्मको अवस्थामा पुगेको छ । सम्मेलनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापासहित पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व-पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य सहभागी छन् । यस्तै, महाधिवेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी छन् । तर, काठमाडौंबाट केन्द्रीय नेताहरू विराटनगर पुग्दा विराटनगरमै रहनुभएका शेखर भने पूर्व–निर्धारित कार्यक्रम भन्दै चितवन पुग्नुभएको थियो । पार्टीको १४औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गर्नुभएका कोइरालाको अहिले कांग्रेसको आन्तरिक मर्यादाक्रममा २६औँ स्थान छ । कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा सभापति उठ्ने भन्दै गतिविधि तीव्र पार्नुभएको छ । प्रदेश सम्मेलनमा बन्द सत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्नेछ ।
सम्मेलनमा कांग्रेस उपसभापति एवं पूर्वमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखक लगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
प्रधानमन्त्रीले राम्रो काम गर्दै हुनुहुन्छ : सभापति देउवा
सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको नेतृत्वले राम्रो काम गरिरहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले आफूले झुट नबोल्ने स्पष्ट पार्दै भन्नुभयो, ‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ । कांग्रेस-एमालेको गठबन्धन स्थायित्वका लागि बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा निकै महत्वपूर्ण काम गरेर आउनुभएको छ । मित्रराष्ट्र चीनको भ्रमणका क्रममा निकै महत्वपूर्ण कुरा गरेर आउनुभएको छ ।’
‘बढी बोल्नेले आफूलाई सिध्याउँछ’
सभापति देउवाले पार्टी महामन्त्री गगन थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने टिप्पणी गर्नुभएको छ । सभापति अघि कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्नुभएका महामन्त्री थापाले आफूले सभापति कम बोल्ने भएको कारण उहाँको पनि समय लिएर लामो समय बोलेको बताउनुभएको थियो । त्यस विषयमा ठट्यौली शैलीमा मन्तव्य दिनुभएका देउवाले भन्नुभयो, ‘बढी बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई सिध्याउँछ ।’ देउवाले यसोभन्दा हलमा हाँसो गुञ्जिएको थियो । त्यसपछि देउवाले फेरि भन्नुभयो, ‘माफ गर्नुहोला मैले ठट्टा मात्रै गरेको ।’
सबैलाई ठाउँ चाहिन्छ, मान चाहिन्छ : थापा
नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले नेता डा.शेखर कोइरालाले कोशी सम्मेलन बहिष्कार गरेको प्रति लक्षित गर्दै सबैलाई ठाउँ र मान चाहिने बताउनुभएको छ । कोइरालाकै गृहनगर विराटनगरमा आयोजित सम्मेलनमा सहभागी हुन पुग्नुभएका महामन्त्री थापाले टेक्निकल कुरा गरेर पार्टीभित्र एकता हुन नसक्ने जिकिर गर्दै भन्नुभयो, ‘पार्टीभित्र एकता अनिवार्य छ, सबैलाई मिलाएर लैजाने कुरा अनिवार्य छ । पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनुपर्छ, सबैलाई मिलाउनुपर्छ ।’ कोइराला समूहले गत १८ मंसिरमा विराटनगरमा आयोजना गरेको भेलालाई लक्षित गरी महामन्त्री थापाले भन्नुभयो, ‘मोरङको एउटा पालिकाको एउटा वडाले सबै मोरङका मान्छे बोलाउँछु जिल्ला सभापति बोलाउँदिन र सुनसरीको सभापति ल्याएर गर्छु भन्यो भने त्यो गर्न पाइन्छ भन्ने कि पाइँदैन ? केन्द्रीय कार्यालयले भनेको त्यति मात्रै हो ।’ मिसन २०८४ को बहाना आवश्यक नरहेको उल्लेख गर्दै महामन्त्री थापाले सरकारमा भएकाले पनि अहिलेदेखि नै काम गर्नुपर्ने बताउनुभयो ।
यहीँ कुरा उठाइदिएको भए हुन्थ्यो : सिटौला
पूर्व-महामन्त्री नेता कृष्णप्रसाद सिटौलाले डा.शेखर कोइराला कांग्रेस कोशी प्रदेश सम्मेलनमा उपस्थित नहुँदा दुःख लागेको बताउनुभएको छ । शनिबार कोशी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै पूर्वमहामन्त्री सिटौलाले भन्नुभयो, ‘पार्टी एकताका नाममा हामीले हाम्रा कुरा राख्ने ठाउँमा नबसेर बाहिर गयो भने त्यसले झन् समस्या हुन्छ । आज म दुःखमा साथ एउटा कुरा भन्छु मेरा प्रिय साथी शेखरले यहीँ कुरा उठाइदिनु भएको भए हुन्थ्यो । उहाँले कारणले छाड्नुपर्ने हामीलाई थाहा हुन्थ्यो, हामी निर्णयमा पुग्न सक्थ्यौँ । केन्द्रीय समितिमा राखे पनि हुन्छ । त्यहाँ छलफलको विषय बन्छ, विधानले समाधान दिने हो, कुरा के हो प्रष्टसँग हामी सबैले थाहा पाउने गरी राख्नु उचित हुन्छ ।’
कोशी सम्मेलन बहिष्कार नगरेको डा. शेखरको दाबी
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले कोशी प्रदेशका पालिका सभापतिहरूको भेला राख्दा केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिप्रति आपत्ति जनाउनुभएको छ । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मी सँगको कुराकानीमा डा.कोइरालाले कोशी प्रदेश सम्मेलन आफूले बहिष्कार नगरेको दाबी गर्दै भन्नुभयो, ‘बहिष्कार भन्ने कुरा होइन । धेरै पहिले पालिका सभापतिहरूको कार्यक्रम गर्ने कुरा भएको थियो । पछि मिलेर गर्ने भनिएको थियो, तर पछि केन्द्रीय कार्यालयले एउटा विज्ञप्ति निकाल्यो, आधिकारिक होइन वैधानिक होइन भनेर । कांग्रेसमा वैधानिक र आधिकारिक भन्ने कुरा के हो ?’ कांग्रेसमा पनि नेकपा एमाले जस्तो अध्यक्ष केपी शर्मा ओलीले जे भन्यो, त्यही मान्नुपर्ने पार्टी जस्तै हो ? भन्ने प्रश्न गर्नुभएका डा. कोइरालाले भन्नुभयो, ‘मलाई त्यो वक्तव्यसँग चित्त दुःखेको हो, तर यहाँ आउने भन्ने कुरा त मेरो पूर्वनिर्धारित हो । हाम्रो भेलामा १३७ मध्ये ११३ आउनुभएको थियो । राम्रो कार्यक्रम भयो । त्यस्तो वक्तव्य आउन हुँदैनथ्यो ।’ आफू र महामन्त्री गगन थापाबीच कुनै खटपट नभएको जिकिर गर्दै कोइरालाले अगाडि भन्नुभयो, ‘म उठ्दै छु क्लियर छ । गगनजी उठ्नुहुन्छ हुन्न उहाँको कुरा हो । उहाँलाई सोध्नुहोस् । कुनै खटपट छैन । कुरा गरौँला नि, मिलिहाल्छ नि ।’
फरक प्रंसगमा डा. कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गरिनुपर्ने बताउनुभयो । ‘नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन’, उहँले भन्नुभयो ।
डा. कोइरालाले वर्तमान सरकार परिवर्तन नहुने पनि बताउनुभयो । सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिनुभयो । उहाँले बिआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताउनुभयो ।
हामी ठीक बाटोमा हिँडिरहेका छैनौँ : डा. शशांक कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका नेता गलत बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ । शनिबार नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व-महामन्त्रीसमेत रहनुभएका कोइरालाले भन्नुभयो, ‘हामी कता कुन बाटोमा गइरहेका छौ ?, एकचोटि आफँैलाई निरीक्षण गरेर भनौँ, हामी ठीक बाटोमा हिँडिरहेका छौँ कि छैनौँ ? मलाई त लाग्छ ठीक बाटोमा हिँडिरहेका छैनौँ, यति व्यक्तिगत स्वार्थबाट बाटो अघि बढेको छ, हाम्रो लक्ष्य नै धमिलो भइरहेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच