९. अन्तरविरोधको प्रयोग :
कक्षा नौको परीक्षा दिएपछि घर बिगुटार गएँ । बिगुटार गाउँ पञ्चायतमा प्रधानपञ्चको निर्वाचन हुँदै रहेछ । पण्डित फणीन्द्रमणि दाहाल, पीताम्बर दाहाल, हरिलाल दाहाल, चतुर्मान राई, तेजलाल राई, क्या.धनबहादुर गुरुङ (सैमल) सेतु कटवालहरूकै प्रभावमा थियो बिगुटार । यस बेलासम्म राँगादीप र बिगुटार एउटै गाउँ पञ्चायतभित्र थिए । मलाई स्थापित पुरानाहरूको वर्चस्व तोड्नुपर्छ भन्ने लाग्यो । गाउँमा नै रहेका कलानिधि दाइसँग सल्लाह गरेँ । छाप्राली तोयानाथ दाहाल, सीताराम दाहाल, नारद्मणि पौड्याल, घिमिरे गोपी, बाबुराम दाहाल, कलाधर दाहाल, टेकबहादुर भुजेल, कीर्ति दाहाल (गुन्थे), जुद्धबहादुर भुजेल जस्ता मेरा समकालीन साथीहरूसँग पनि सल्लाह भयो ।
हामीले गाउँको टाठाबाठाको वर्चस्व तोड्न उनीहरूबीच झगडा जरुरी भएको निष्कर्ष निकाल्यौं र पीताम्बर दाजुलाई उक्सायौं । उहाँ फणीन्द्र काकासँग विवाद गरिरहनुहुन्थ्यो पनि । खास गरी बिगुटारमा पुण्यप्रसाद गुरुले संस्कृत पढाउनु हुने, त्यसलाई फणीन्द्र काकाहरूले सहयोग गर्ने तर पीताम्बरलाई मन नपर्ने हुनाले पटक-पटक गुरुबालाई सरुवा गराउने काम पीताम्बर गरिरहनुहुन्थ्यो तर फणीन्द्र काका फेरि बिगुटारमै गुरुबालाई फर्काउनुहुन्थ्यो ।
राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन र बीपी कोइरालाहरूको स्वदेश आगमनले नेपालमा सशस्त्र हिंसा उचित हुँदैन, विदेशी भूमिमा बसेर राजनीति गर्नु घातक हुनेछ र देशबाहिर र भित्र विभाजित राजनीतिको अन्त्य गरी सबै पार्टी सदस्यहरूलाई देश भित्रिने अवसर चाहिन्छ भन्ने मान्यतालाई स्थापित गर्यो ।
हामी पनि गुरुबाका पक्षमा थियौं तर कमजोर कडी पीताम्बर नै हुन् भन्ने लागेर उहाँलाई राजनीतिको खेलमा उत्प्रेरित गर्यौं । पीताम्बर दाजु र मीनबहादुर कटवालले राँगादीप स्कुलमा निकै वर्ष पढाउनुभएको हुनाले त्यहाँको भोट पनि आउने सम्भावना थियो । तेजलाल राईका साला तर प्रजातन्त्रका पक्षका एक सक्रिय योद्धा फणीन्द्र राईको पनि हामीलाई समर्थन हुने सम्भावना थियो । फणीन्द्र राईका भाइ वीरबहादुर शिक्षक थिए र कट्टर कम्युनिष्ट भए पनि उनले पीताम्बरलाई सहयोग गर्ने स्थिति थियो ।
हाम्रो उमेर पुगेको थिएन मत खसाउन तर पीताम्बरका पक्षमा मत चिहृनको प्रचार खुब गरियो । निर्वाचनकालभरि भाउजूले भोजन गराउनुभयो । भाउजू असाध्य भलाद्मी । त्यसैबेला कटारीबाट बिगुटार पुग्नुभएका वेदनिधि दाहाललाई पञ्चहरूले नै सूचना दिएर ओखलढुंगा प्रशासनले पक्राउ गरी कटारीतिर नै पठाएछ । वेदनिधि दाइ पहिले कम्युनिष्ट जस्तो देखिए पनि कटारीमा बसाइँ सरेपछि कट्टर कांग्रेस हुनुभएको रहेछ । उहाँ पीताम्बरलाई सहयोग गर्न आउनुभएको थियो ।
उहाँ, चुनाव प्रचारमा लाग्नुभएको भए परिणाम फरक हुनसक्थ्यो । अन्ततः फणीन्द्र काका अत्यन्त भारी मतले विजयी हुनुभयो । पीताम्बरका सायद ७५ मतमात्रै आए । काकाको बाकसमा भने अटाई नअटाई मत परेका थिए । पाँच सयभन्दा बढी मत पाउनुभयो फणीन्द्र काकाले तर बिगुटारमा स्थापितहरूको चक्र भने भाँचियो र त्यसपछि विरोधको बलियो गठबन्धन सुरु भयो । हामी यसैमा रमायौं ।
१०. शहादत र सशस्त्र आन्दोलन :
२०३१ सालमा नेपाली कांग्रेसले सशस्त्र आन्दोलनको घोषणा गर्यो । यस क्रममा ओखलढुंगा राम्पुरका लीला दाहाल, ठगीराज दाहाल, गोकर्ण कार्की र खगेन्द्र दाहाललाई असोज १३ गते जेल सार्ने निहुँमा नख्खुनजिक लगेर निर्दलीय सत्ताले मार्यो । बिहानको दश पनि बजेको थिएन । म विद्यालय पुग्नासाथ थाक्ले घर भएका अग्रज तर विद्यालयमा शिक्षक दुर्गाप्रसाद दाहालले गोरखापत्र देखाउँदै भन्नुभयो : दाजुभाइहरूलाई निर्ममतापूर्वक मारेछ सत्ताले ।
लीला र ठगीराजलाई चिन्थेँ । हाम्रा छिमेकी दाजु लोकनाथ खतिवडाका मित थिए ठगीराज र बिगुटार आउने गर्थे । लीलालाई भने मैले बागबजारमा लीलाबल्लभ, बलभद्र, ढुण्डीराज काफ्लेहरूको डेरामा भेटेको थिएंँ । रामपुरका चारजनाको शहादतले मनमा हाहाकार भयो । यसअघि मटिहानीमा केशव कोइरालाको निर्मम हत्या भएको थियो । उनी ओखलढुंगाकै हुन् । कम्युनिष्टहरूका साहित्यको व्यापक प्रचार गर्न दिने तर कांग्रेस भनेपछि देखिनसहने निर्दलीय तन्त्र बुझिनसक्नुको थियो । यसको असर व्यापक भयो ।
क्या.यज्ञबहादुर थापाको नेतृत्वमा ओखलढुंगालाई मूल लक्ष्य बनाएर सशस्त्र आन्दोलनको योजना सार्वजनिक भयो । कतिपय नेताहरू योगेन्द्रमान शेरचन, सरोजप्रसाद कोइराला, दीवानसिंह राईहरूलाई निर्दलीय सत्ताले पहिले नै षड्यन्त्रपूर्वक मारेको थियो । झापाकाण्डपछि रामनाथ दाहालसहित पाँचजना कम्युनिष्ट नेताहरूलाई सुखानीको जंगलमा विभत्सतापूर्वक मारेको थियो सत्ताले । ओखलढुंगामा बाबुराम दाहाल (रामपुर) र भवनाथ पौडेल (साइटर) को नेतृत्वमा रामपुरमा धान लुटेर विपन्नलाई बाँड्ने अभियानले निकै माहौल तताएको थियो । चर्चित झोडाकाण्ड र तामागढी काण्डले पनि राजनीतिक माहौल तातेको थियो ।
ओखलढुंगाको मिसन कमजोर भएपछि लुक्दैछिप्दै नयाँ मिसन क्षेत्रमा लागेका क्या.थापा, राम, लक्ष्मण, महेश कोइरालासहित धेरैले टिम्बुरबोटेमा शहादत प्राप्त गरे । हाम्रै गाउँ बिगुटारमै पर्ने ठाडे र टोड्केको जंगलमा कतिपयलाई जिउँदै गाडेर मा¥यो निर्दलीय सत्ताले । रामपुरकै पेशल दाहाललाई पनि मानबहादुर सुनुवार भन्ने पञ्चको नेतृत्वमा प्राप्चाको सिरानमा मार्ने काम भयो । यी घटनाहरूले मलाई स्वतन्त्रताको आन्दोलनमा लाग्न थप ऊर्जा र साहस प्रदान गर्यो । (ओखलढुंगा र सोलुका बीचमा भएको त्यो काण्ड र त्यससँग जोडिएका सन्दर्भहरूको विवरण मेरै संयोजकत्वमा नेपाल सरकारबाट गठित टिम्बुरबोटे शहीद अभिलेख समितिले अनुसन्धान गरी प्रतिवेदनसमेत बुझाएको थियो । २०५२ मा संस्कृति तथा पर्यटनमन्त्री बलबहादुर केसीको अग्रसरतामा समिति गठन भएको थियो । त्यसमा विवरण पर्याप्त छ यसबारे)
११. पहिलो गिरफ्तारी :
२०३१ सालको वर्षाको समय थियो । हाम्रा केही मागहरू थिए तर कसैबाट सुनुवाइ नभएपछि केही साथीहरूले सल्लाह गरी रानीपोखरीको मोटरबाटो अवरुद्ध गर्यौं । भानुभक्तको स्मारक नजिक बाटो छेक्यौं । त्यस समयमा गाडीहरू पातलै चल्थे तर दोहोरो चल्ने हुनाले तमासा खडा भयो । इँटा थुपार्यौं र कसैले जबर्जस्ती गरेमा इँटाले हान्न पनि थाल्यौं । एकैछिनमा प्रहरीको भ्यान आयो र हामी सबैलाई पिट्तै कोच्दै ग¥यो । भाग्न सक्नेहरू भागेर जोगिए । अरू केही पर्यौं । प्रहरी कार्यालय हनुमान ढोकामा पुर्याएर कोठामा थुनेपछि टाउको उँधो र खुट्टा भित्तामा टेक्न लगाए प्रहरीले । साना केटा भएको हुनाले अब यस्तो नगर्न सचेत तुल्याएर छाडिदिए । पहिलो पटक हो त्यो प्रहरीठानाको यात्रा । त्यसपछि त हिसाब नै भएन ।
१२. प्रजातान्त्रिक प्रशिक्षणमा सहभागी :
२०३४ सालमा काठमाडौंमा कांग्रेसहरूले पिकनिकको आयोजना गरेछन् । वीरनाथ कर्माचार्यको नेतृत्वमा, राजेन्द्र खरेल, हरिबोल भट्टराई, तीर्थराम डंगोलहरू हुनुहुन्थ्यो । जेलबाट भरखर रिहा हुनुभएका, मार्शलजुलुम शाक्य, श्यामलाल श्रेष्ठ र श्रीकृष्ण वैद्य हो वा श्रेष्ठ, काभ्रे घर भए पनि काठमाडौं बानेश्वरमा सामाजिक र राजनीतिक अभियानमा सक्रिय राजेन्द्र खरेल, धादिङका भरत उप्रेती, शरद उप्रेती, जोरपाटीका सप्तलाल ताम्राकार पनि हुनुहुन्थ्यो । हामी छात्रावासबाट दश रुपैयाँ तिरेर ढुण्डीराज दाहाल, लक्ष्मीनारायण न्यौपाने (डोल्पा) व्रतराज आचार्य, गोविन्द भट्टराई (खोटाङ लामिडाँडा) श्याम न्यौपाने, इन्द्रमणि अधिकारी, गोविन्द मजगैंया (दाङ)हरू पनि सहभागी थियौं । म यसरी धेरै कांग्रेसजनसँग एकाठाउँ भेट र जम्मा भएको पहिलो पटक हो त्यो ।
भारतपाक युद्ध र बंगलादेशको उदय, भारतमा सिक्किमको विलय, भारतमा इन्दिरा गान्धीद्वारा लगाइएको संकटकाल, अफगानिस्तान, इरानका घटनाक्रम, आफूले सञ्चालन गरेको सशस्त्र आन्दोलनको विफलता र क्षति आदिको मिहिन समीक्षा गरी बीपी कोइराला गणेशमान सिंहसहित निर्वासन परित्याग गर्दै स्वदेश फर्किनुभएपछि राजनीतिले केही महत्वपूर्ण आयाम लिन थालेको थियो । राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन र बीपी कोइरालाहरूको स्वदेश आगमनले : नेपालमा सशस्त्र हिंसा उचित हुँदैन, विदेशी भूमिमा बसेर राजनीति गर्नु घातक हुने छ र देशबाहिर र भित्र विभाजित राजनीतिको अन्त्य गरी सबै पार्टी सदस्यलाई देश भित्रिने अवसर चाहिन्छ भन्ने मूल मान्यतालाई स्थापित गर्यो भन्ने देखिएको छ ।
(क) राजनीतिक पिकनिक :
बालाजुको जंगलमा पिकनिक भए पनि सबैजना निकै सतर्क थिए । हरिबोल भट्टराईले समसामयिक राजनीतिका कुरा राख्नुभयो । उहाँले बीपी कोइरालाले अघिल्लो साल २०३३ पुस १६ गते निर्वासन परित्याग गर्दै दिनुभएको वक्तव्य र राष्ट्रिय एकता तथा मेलमिलाप नीतिबारे गर्नुभएको भाष्यको चर्चा गर्नुभयो । उहाँले २०३२ मा निर्दलीय संविधानको संशोधनले पञ्चहरूलाई उत्साहित तुल्याएको, २०३१ को टिम्बुरबोटेसहितको घटनाले लोकतान्त्रिक आन्दोलन निराश भएको यस समयमा बीपीको स्वदेश आगमनले नयाँ दिशा दिने विश्वास प्रकट गर्नुभयो ।
यसबीचमा भारतमा सिक्किमको विलयको कथाले हामी सबैमा राष्ट्रियताप्रति सचेत गराएको र थप प्रतिबद्ध हुने बाटो खोलेको थियो । भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकाल र त्यसविरुद्ध जयप्रकाश नारायणको समग्र क्रान्तिको प्रभाव नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि पर्दै थियो ।
२०२८ मा पञ्चायतका जनक राजा महेन्द्रको पार्थिव अवसान भएर वीरेन्द्र सत्तारुढ हुँदा उदार राजनीतिको अपेक्षा गरिए पनि त्यस्तो नदेखिएको हुनाले अब कांग्रेसजनले प्रजातन्त्रका लागि देशभित्रै संघर्ष सशक्त गराउनुपर्ने धारणा राख्नुभयो । वीरनाथ कर्माचार्य र राजेन्द्र खरेलले पनि आन्दोलनको आवश्यकता र मेलमिलापको विषयमा केही कुरा राख्नुभयो । नेताहरूले यस्तै विचार प्रकट गरेपछि भोजन गरेर हामी बाटो लाग्यौं । एक प्रकारले लोकतान्त्रिक राजनीतिक विचारको यो प्रशिक्षण जस्तै थियो हाम्रा लागि ।
(ख) राष्ट्रियताको तरंग :
यसबीचमा भारतमा सिक्किमको विलयको कथाले हामी सबैमा राष्ट्रियताप्रति सचेत गराएको र थप प्रतिबद्ध हुने बाटो खोलेको थियो । भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकाल र त्यसविरुद्ध जयप्रकाश नारायणको समग्र क्रान्तिको प्रभाव नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि पर्दै थियो । तिब्बतलाई चीनले आफ्नो प्रत्यक्ष शासनमा राखेपछि, नेपालमा सन् १९६० देखि नै आएका तिब्बती शरणार्थी र खम्पाहरूको विद्रोह अनि त्यसमा चीनको तत्परताप्रति पनि लोकतन्त्रवादीहरू सचेत थिए । तिब्बती शरणार्थीहरूसँग जोडिएर नेपालको संवेदनशील भूअवस्थितिमा युरोप र अमेरिकी चासो पनि विचारणीय पक्ष थियो तर हामीलाई यी विषयको अर्थ खुलिसकेको थिएन ।
संस्कृत छात्रावासमा हामी खुला बहस गथ्र्यौं । निर्दलीय पञ्चायतभित्र पनि सूर्यबहादुर थापा, प्रकाशचन्द्र लोहनीहरू निकै आक्रामक देखिएका थिए । थापा समूहले आयोजन गरेको इटुम्बहालको सभा निकै चर्चित भएको थियो । हामी पनि छात्रावासबाट भाषण सुन्न पुगेका थियौं । त्यसवेला डा.प्रकाशचन्द्र लोहनीले भनेको ः लथालिंग देशको भताभुंग चाला जजसले सक्ला उसउसले खाला, आज पनि मेरो स्मृतिमा ताजै छ । बहुचर्चित स्नातक निर्वाचन क्षेत्रको चुनावमा रामराजाप्रसाद सिंह, ऋषिकेश शाह, शंकर घिमिरेहरूको खुब चर्चा थियो । जानी नजानी रामराजाप्रसादका पर्चा छर्न हामी पनि सक्रिय भएका थियौं तर पछि यो प्रसंग शिथिल भयो ।
त्रिभुवन विश्वविद्यालय सभाका लागि स्नातकहरूबाट निर्वाचन हुँदै थियो । मनमोहन भट्टराई र संस्कृत छात्रावासमा नै रहनुभएका व्रतराज आचार्य प्रजातन्त्रवादीहरूका तर्फबाट उम्मेदवार उठ्ने चर्चा थियो । सिके प्रसाईंकी साली रोशन कार्की पनि प्रजातान्त्रिक समूहमा जोडिएर उम्मेदवार हुने छलफल चल्दै थियो तर कांग्रेसीहरूले जित्ने देखेपछि चुनाव नै भएन । सायद यसअघि राष्ट्रिय पञ्चायतको चुनावमा स्नातकहरूले देखाएको पञ्चायतविरोधी कदमबाट त्रिविसभाको चुनाव पनि प्रभावित भएको हुनुपर्छ । अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सन्छ भने जस्तो भएको थियो । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच