चितवन । प्रजातान्त्रिक आन्दोलनका सशक्त व्यक्तित्व तथा वरिष्ठ समाजसेवी टेकबहादुर लोहनीको निधनप्रति दुःख प्रकट गर्दै नेपाली कांग्रेसका नेताहरूले शिवनगर निवासमा नै पुगेर र सन्देशमार्फत शोक प्रकट गर्नुभएको छ । यही मंसिर २२ गते नेपाली कांग्रेस शिवनगरद्वारा आयोजित शोक सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले अनेक लोकतान्त्रिक योद्धाहरूको जीवन संघर्षमय रहेको र उनीहरूले दिएको योगदान अविस्मरणीय रहेको विचार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्ता योगदान गर्ने पूर्वजहरूलाई बिर्सनु इतिहासप्रति नै बेइमान हुनेछ ।’ सभामा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, पूर्वसभापति तथा स्व.लोहनीका समकालीन नेता कृष्णलाल साप्कोटा, सांसद उमा रेग्मीसहित अनेक वक्ताहरूले टेकबहादुर लोहनीको योगदानमाथि चर्चा गर्नुभएको थियो ।
लोहनीको निधनमा नेपाली कांग्रेसका नेता तथा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका मानार्थ अध्यक्ष प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधिले शोक प्रकट गर्दै राजनीतिक र सामाजिक परिवर्तनमा यसरी स्थानीय तहमा रहेर योगदान गर्नेहरूको अभिलेखीकरण हुनुपर्ने विचार प्रकट गर्नुभएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा.शशांक कोइराला, पूर्वमन्त्री शेषनाथ अधिकारी, पूर्वसांसद टेकप्रसाद गुरुङ, पूर्वसांसद रामकृष्ण घिमिरे, युवा नेता प्रकाश अधिकारी, नेपाल बार एसोसिएसनका केन्द्रीय सभापति गोपालकृष्ण घिमिरे, नेपाली कांग्रेसका नेता मिलनबाबु श्रेष्ठ, प्रतिनिधि सभा सदस्य अञ्जनी श्रेष्ठ, चितवन नेपाली कांग्रेसका पूर्वसभापति जीतनारायण श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाजका पूर्वसभापति तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, शान्ति समाजका वर्तमान सभापतिसहित पदाधिकारीहरूले समेत लोहनीको निधनप्रति शोक प्रकट गर्नुभएको छ । लमजुङको उदीपुरस्थित ठूलो घिमिरेमा विसं १९९१ मा जन्मनु भएका लोहनी चितवनमा सात दशक पहिले नै बसाइ सर्नासाथ राप्ती दुन विकासमा लाग्नुभएको थियो । उहाँका पिता जम्दार पदमदत्त लोहनी त्यस क्षेत्रमा समाजसेवीका रूपमा स्थापित हुनुहुन्थ्यो ।
टेकबहादुर लोहनी तत्कालीन शिवनगर गाविसमा पाँच पटक वडाध्यक्ष भएर स्थानीय विकासमा लगनकासाथ योगदान गर्नु भएको, नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयको स्थापना र आधारभूत निम्न माध्यमिक विद्यालयको संस्थापक अध्यक्ष भएर शिक्षा क्षेत्रमासमेत प्रशंसनीय कार्य गर्नुभएको थियो । स्मरणीय छ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणी विद्या मन्दिरमा नै अध्ययन गरी केही समय शिक्षक हुनुभएको थियो भने राष्ट्रिय सभाका वर्तमान अध्यक्ष नारायण दाहाल आधारभूत निमाविमा शिक्षक भएर सेवा गर्नुभएको थियो ।
दिवंगत लोहनीका तीन छोरा रामेश्वर र उद्धव अहिले लोकतान्त्रिक आन्दोलन, मानव अधिकार अभियान र समाज सेवामा सक्रिय हुनुहुन्छ भने कान्छा छोरा अर्जुन दिवंगत भइसक्नु भएको छ । उद्धव नेपाली कांग्रेसको जिल्ला समितमा रहेर संगठनमा सक्रिय हुनुकासाथै कानुन व्यवसायीसमेत हुनुहुन्छ । स्व.लोहनीकी धर्मपत्नी सत्यदेवी, छोरीहरू हीरादेवी र निर्मला तथा तीन बुहारीसहित नातिनातिनाहरू रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच