काठमाडौं । इस्लामिक विद्रोही समूह हयात तहरिर अल-शामले राजधानी दमास्कसमा प्रवेश गरी सिरियालाई स्वतन्त्र घोषणा गरेको छ । कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् । सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामीले दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे । दमास्कसबाट एएफ्पी टिभीले खिचेको तस्बिरमा विद्रोहीहरूले सूर्योदयको समयमा हवाई फायर गरेका, केहीले विजयको चिहृन चम्काइरहेको र ‘अल्लाहु अकबर’ वा ईश्वर महान् हुनुहुन्छ भनी चिच्याइरहेको देख्न सकिन्छ ।
इस्लामिक हयात तहरिर अल-शाम (एचटिएस) समूहले असद परिवारको पाँच दशकभन्दा लामो शासनलाई चुनौती दिँदै आफ्नो अभियान सुरु गरेको दुई हप्ता नबित्दै राष्ट्रपतिको बहिर्गमन भएको बताइएको छ । ‘बाथ शासनमा ५० वर्षको उत्पीडन, १३ वर्षको अपराध र अत्याचार र (जबरजस्ती) विस्थापनपछि हामी आज यो कालो समयको अन्त्य र सिरियाका लागि नयाँ युगको सुरुवातको घोषणा गर्दछौँ’, विद्रोही समूहले टेलिग्राममा भनेका छन् । सिरियाली प्रधानमन्त्री मोहम्मद अल जलालीले सिरियाली जनताले रोजेको कुनै पनि नेतृत्वसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभएको छ । बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का प्रमुख रामी अब्देल रहमानले एएफ्पीसँग भन्नुभएको छ, ‘राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नु भएको छ ।’
आधा शताब्दीको पारिवारिक राज अन्त्य
दमास्कसमा नियन्त्रण गुमाएसँगै असद परिवार र सिरियन बाथ पार्टीको झण्डै आधा शताब्दी लामो शासन अन्त्य भएको छ । असदको ५० वर्षे शासनको अन्त्य भएको हो । बसर अल असद सन् २००० मा राष्ट्रपति बन्नुभएको थियो । त्यसअघि उहाँका बुवा हाफेज अल असद सन् १९७१ देखि सन् २००० सम्म देशको राष्ट्रपति हुनुहुन्थ्यो । असद सुरुमा सुधारवादी नेताका रूपमा हुनुहुन्थ्यो । तर, अरब स्प्रिङका बेला सन् २०११ मा प्रदर्शनकारीविरुद्ध निर्मम रूपमा उत्रिएपछि उहाँको त्यस्तो छवि मेटिएको थियो ।
राष्ट्रपति असद दमास्कस छाड्न बाध्य
सिरियाका राष्ट्रपति बसर अल असद राजधानी दमास्कस छाड्न बाध्य हुनुभएको छ । विद्रोहीहरू प्रमुख शहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले राजधानी छाड्न बाध्य हुनुभएको हो । रोयटर्सले सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै राष्ट्रपति बसर अल असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि, उहाँ राजधानी छाडेर कहाँ जानुभयो भन्ने उल्लेख छैन । सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले राजधानी दमास्कसबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ ।
‘दमास्कस सुरक्षित छ’
सिरियाका विपक्षी नेता हादी अल बहराले दमास्कस सुरक्षित रहेको बताउनुभएको छ । बहराले अरबी समाचार च्यानल अल-अरेबियालाई भन्नुभएको छ, ‘असदको सरकार पतन भएको छ र सिरियाको इतिहासको कालो युग बितिसकेको छ ।’ उहाँले अगाडि भन्नुभएको छ, ‘हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू, जबसम्म तपाईं अरू कुनै नागरिकको विरुद्धमा हतियार उठाउनुहुन्न, जबसम्म तपाईं आफ्नो घरमा बस्नुहुन्छ, तबसम्म तपाईं सुरक्षित हुनुहुन्छ,’ उहाँले भन्नुभएको छ, ‘न बदला लिने कुनै कारबाही गरिनेछ न मानव अधिकार हनन हुनेछ । जनताको मर्यादाको सम्मान र रक्षा गरिनेछ ।’
दमास्कसमा उत्सव
सिरियाको राजधानी दमास्कसमा आइतबार विद्रोही लडाकुहरू प्रवेश गरेको खबर आएपछि धेरै मानिसले खुसी मनाइरहेका छन् । गत हप्ता, सिरियामा विद्रोही समूह हयात तहरिर अल-शामको नेतृत्वमा विद्रोहीहरूले बसर अल-असद सरकारको विरोध गर्न थालेका थिए । तिनीहरूले एकपछि अर्को धेरै शहरहरू कब्जा गर्न थालेका थिए । विद्रोही आइतबार दमास्कस पुगेपछि धेरै ठाउँमा मानिसहरूले उत्सव मनाइरहेको देखिएको थियो । तस्वीरमा कोही उत्सव मनाउन सेनाका बख्तरबन्द गाडीमाथि चढेका कोही असदका पिता हाफेजको ढलेको शालिकमा सुतेर तस्वीर लिइरहेको देखिएको छ ।
राजनीतिक बन्दी मुक्त
सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोमा सन्देश जारी गरेका छन् । ‘हामीले राष्ट्रपति बसर अल-असदको शासन अन्त्य गरिसकेका छौँ’, उनीहरूले भनेका छन् । विद्रोही समूहले जेलबाट राजनीतिक बन्दी मुक्त गर्ने कुरा पनि गरेका छन् । शनिबार सिरियाको तेस्रो ठूलो शहर होम्स कब्जा गरेपछि विद्रोहीले आइतबार सिरियाको राजधानी दमास्कस कब्जा गरेको र असद सरकारलाई हटाएको दाबी गरेका छन् ।
सिरिया द्वन्द्वबारे छलफल
इराकी विदेशमन्त्री फुआद हुसेनले बग्दादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गर्नुभएको छ । भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा तीन मन्त्रीले सिरियाको गम्भीर अवस्थाले आफ्ना जनता र सम्पूर्ण क्षेत्रको सुरक्षामा खतरा रहेको उल्लेख गर्दै तीन देशमा सिरियाको गम्भीर अवस्थाको प्रभावबारे चासो साझा गरेको बताएको छ । विज्ञप्तिमा सबै प्रकारका आतंकवादका साथै सिरिया, गाजा र लेबनानमा जारी इजरायली आक्रमणको निन्दा गरिएको छ । यसले सिरियाको सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताको सम्मानमा पनि जोड दिएको छ । बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा हुसेनले सिरियाको सुरक्षा क्षेत्रको सुरक्षासँग जोडिएको बताउँदै मन्त्रीस्तरमा अरब लिगको तत्काल बैठक बोलाउने र त्यसमा पुग्न सबै कूटनीतिक माध्यम प्रयोग गर्ने बताउनुभयो ।
विदेशी शक्तिहरूको छद्म युद्धको मैदान
सिरियामा जरी यो संघर्षलाई रुस र इरानविरुद्ध अमेरिका र अन्य पश्चिमा देशहरूको द्वन्द्वका रूपमा समेत हेरिएको छ । त्यहाँको सरकारलाई रुस र इरानले समर्थन गर्दा विद्रोहीलाई अमेरिकाले हतियार र गोलीगठ्ठा उपलब्ध गराउँदै आएको छ । सिरियाको पछिल्लो घटनामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति ओबामाको नीतिहरू जिम्मेवार रहेको र त्यसमा रुस पनि भागिदार भएको बताउनुभयो । ट्रम्पले यो आफ्नो लडाइँ नभएको बताउनुभएको छ । उहाँले अमेरिका यो संघर्षमा सहभागी हुनुनपर्ने बताउनुभएको छ । पछिल्लोपटक सिरियामा २७ नोभेम्बरमा सिरियाली विद्रोही हयात तहरिर अल शाम र सरकारबीच संघर्ष सुरु भएको थियो । त्यसपछि विद्रोहीले १ डिसेम्बरमा उत्तरी शहर अलेप्पो कब्जा गरेका थिए । साथै उनीहरूले चार दिनपछि हमा कब्जा गरे । त्यसपछि ७ डिसेम्बरमा दक्षिणी सहर दारा कब्जा गरेर अघि बढेका थिए । अमेरिकासहित पश्चिमा मुलुकहरू, टर्की, रुस, इरानजस्ता विदेशी शक्तिहरूको छद्मयुद्धको मैदान बनेको सिरियामा लाखाँै मानिस मारिए पनि असद आफ्ना विरोधीहरूलाई दबाउन सफल थिए । तर, यसपटक उहाँको शासन बिना कुनै प्रतिरोध तासको घरझैँ गल्र्यामगुर्लुम ढल्न पुगेको छ । टर्कीको सहयोगबिना विद्रोहीहरूले यो सफलता नपाउने धेरैको विश्लेषण छ । किनकि सिरियाको शासन परिवर्तनबाट टर्कीलाई ठूलो फाइदा छ ।
टर्कीमा करिब ३० लाख सिरियाली शरणार्थी
हाल टर्कीमा करिब ३० लाख सिरियाली शरणार्थी छन् । जसलाई फर्काउने कोसिसमा हुनुहुन्छ टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान । असदले तिनलाई फिर्ता लिन मानेका थिएनन् । तर, असदको यो पतनबाट खासगरी रुस र इरानलाई ठूलो झट्का लाग्ने विश्लेषण गरिएको छ । सन् २०११ मा सिरियामा चर्केको विद्रोह दबाउन यी दुई मुलुकले ठूलो भूमिका खेलेका थिए । रुसले पनि सिरियाकै भरमा मध्यपूर्वमा आफ्नो प्रभाव विस्तार गरेको थियो । असदले रुसलाई तारतौसमा रुसी नौसैनिक अखडा र लताकियामा हवाइ अखडा राख्न दिनुभएको थियो । इरानले पनि हेलबुल्लाहमार्फत असदलाई सघाएको थियो । इरानको समर्थन सिया समूहहरूलाई छ । जबकि अहिले सिरिया कब्जा गर्ने समूह हायात तहरिर अल साम सुन्नी समूह हो । सो समूहको सैन्य क्षमता कति छ, स्पष्ट छैन । तर, असदको सत्तामाथि हमला गर्ने साइत भने उसले उत्तम रोज्न पुग्यो । यतिबेला रुस, इरान र हेजबुल्लाह सबै आआफ्नै युद्धमा केन्द्रित छन् । जसकारण असदले आफ्ना कुनै पनि सहयोगीबाट सहयोग पाउन सकेनन् । अमेरिकाले सिरियामा भएको घटना क्रमलाई लिएर प्रतिक्रिया दिएको छ । हृवाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा भइरहेका ‘अनपेक्षित घटनाहरू’को निगरानी गरिरहेको बताएको छ । एजेन्सीहरूको सहयोगमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच