काठमाडौं । प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै सम्पन्न चीन भ्रमण, चीनसँग भएको बिआरआई फ्रेमवर्क सम्झौता र मंसिर १६ गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाको लागि दलहरू आन्तरिक छलफलमा जुटेका हुन् । दुई ठुला सत्ता सत्तारूढ दल कांग्रेस र एमालेले हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका उपलब्धि र बिआरआई सम्झौताबारे समीक्षा गर्न बैठक बोलाएका छन् । त्यसका लागि नेपाली कांग्रेसले मंसिर २४ गते अर्थात् आज (सोमबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आज बिहान बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
बैठकमा उपनिर्वाचन परिणाम र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे रहेका अन्योलबारे छलफल हुने नेताहरूको भनाइ छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएको बिआरआई सहमतिमा कांग्रेसका केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । तर, पार्टी नेतृत्वले बिआरआई सहमतिप्रति प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको छ । यद्धपि, कांग्रेसले बिआरआई फ्रेमवर्क सम्झौताबारे हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बिआरआई सम्झौताबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।
यस्तै, सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले पनि पार्टी सचिवालय बैठक बोलाएको छ । मंसिर २५ गते अर्थात् मंगलबार दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाइएको हो । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बिआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ । दुई दलको बैठकमा उपचुनाव र बिआरआई सहमतिको समीक्षाबाहेक पार्टीका आन्तरिक मुद्दासहित सरकारका काम कारबाहीबारे पनि समीक्षा हुने एमालेले जनाएको छ । दुई ठुला दल मिलेर बनेको वर्तमान सरकारले जनअपेक्षाअनुरूप कामहरू गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । सरकारका काम कारबाही सम्बन्धमा प्रधानमन्त्री स्वयं पनि सन्तुष्ट हुन सकिरहनु भएको छैन । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू फेरबदल गरेर भए पनि सरकारका कामलाई प्रभावकारी बनाउने सोच बनाउनुभएको एमाले नेताहरूको भनाइ छ ।
कांग्रेस एमालेबाहेक प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि बैठक बोलाएका छन् । माओवादी केन्द्रले मंसिर २७ देखि २९ गतेसम्म बस्ने गरी स्थायी समिति बैठक बोलाएको छ । माओवादी बैठकको मुख्य एजेण्डा केन्द्रीय समिति बैठक र पार्टी एकता रहे पनि अन्य समसायिक विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच भएको बिआरआई सम्झौताबारे पनि धारणा तय गर्ने नेताहरूको भनाइ छ । त्यस्तै, विपक्षी दल नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पनि स्थायी कमिटी बैठक बोलाएको छ । नेकपा एसले मंसिर २६ र २७ गते बस्नेगरी बैठक बोलाएको हो । बैठकले उपचुनावको समीक्षा, नेताहरूको कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।
झापामा रास्वपाले देखायो प्रधानमन्त्रीलाई कालो झण्डा
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहजिल्ला झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन् । आइतबार झापाको मेचीनगर इँटाभट्टा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर्, प्रहरी दमन मूर्दावाद लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले रास्वपाका झापा क्षेत्र नं.४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो । यस्तै, नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली गृहजिल्ला आएको बेला कालो झण्डा देखाएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । आइतबार प्रधानमन्त्री ओली भ्यु टावरलगायत विभिन्न स्थानमा उद्घाटन गर्न झापा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कालो झण्डा देखाएको हो । त्यसक्रममा प्रहरीले केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तीर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवारलाई नियन्त्रणमा लिएको हो । प्रधानमन्त्रीविरुद्ध हुनसक्ने प्रदर्शनलाई मध्यनजर गरेर झापामा बाक्लो उपस्थितिमा प्रहरी परिचालन गरिएको छ । दमकको गणतन्त्र चोक अस्तव्यस्त भएको थियो । प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरहरूले विरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीद्वारा दमक कम्प्लेक्सको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा निर्माण भएको १८ तले दमक बिजनेस कम्प्लेक्सको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो गृह जिल्लामा टावर बनाएको भनेर आलोचना भइरहँदा नेपालकै अग्लो कम्प्लेक्सको उद्घाटन भएको हो । २०७६ सालमा शिलान्यास गर्दै राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको झापाको दमक-३ मा निर्माण भएको ‘दमक बिजनेस कम्प्लेक्स’ले सो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्रीले बताउँदै आउनुभएको छ । आइतबार उद्घाटन भएको कम्प्लेक्स पूर्वपश्चिम मुख्य सडकको ताराबारी खण्डभन्दा केहीमाथि निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने सो कम्प्लेक्स प्रधानमन्त्री ओलीकै पहलमा गौरवको आयोजनाका परेको थियो । एक अर्ब ३८ करोड १८ लाख चार हजार ५६९ रुपैयाँमा लागत सम्झौता भएको परियोजनाको लागत ५ दशमलव ४ प्रतिशत बढेको छ । शहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका अनुसार सो कम्प्लेक्स एक अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको छ । सो कम्प्लेक्सको चिनियाँ कम्पनी जेडसिजी आइआइसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले निर्माणको जिम्मा पाएको थियो । शहरी विकास मन्त्रालयले कम्प्लेक्स सञ्चालनका लागि विभिन्न कम्पनीहरूलाई आहृवान गर्ने तथा केही प्रवेश शुल्कसमेत राखेर त्यसको व्यवस्थापन गरिने जनाएको छ । सुरुमा ‘दमक भ्यु टावर’को नामबाट निर्माण सुरु भएको भए पनि पछि ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको थियो । कम्प्लेक्सको २०७६ असार २७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो । कम्प्लेक्स एक सय मिटर अग्लो छ । कम्प्लेक्समा १८ तला छन् । कम्प्लेक्सको ७२ मिटर कंक्रिट संरचनाले २८ मिटर भने मेटल फ्रेमको टावर छ ।
निराशाको खेती गर्नेहरूबाट समाजमा अराजकता बढ्यो : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा निराशाको खेती गर्नेहरूका कारण समाजमा अराजकता बढेको टिप्पणी गर्नुभएको छ । पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएको बताउँदै अब त्यसको लागि ठूला राजनीतिक दलबाटै स्थिरताको खोजी भएको जिकिर गर्नुभयो । दाङको लमहीमा आइतबार नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘हामी दुईटा राजनीतिक दल मिल्नुको कारण सरकार मात्रै होइन । राजनीतिक स्थायित्वको आधार तयार गर्न, संविधान र कानुनमा सुधार गर्नेगरी दुई ठूला दलको बीचमा समीकरण बनेको हो । राष्ट्रिय सभामा हाम्रो पक्षको दुईतिहाइ छैन । दुईतिहाइ नपुग्दासम्म संविधान संशोधनको एजेण्डा अघि बढ्न सक्दैन । संविधान संशोधनको विषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन । डेढ वर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ ।’ हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा रुकुम पूर्वमा भएको चुनावी तालमेल सही नभएको महासचिव पोखरेलको टिप्पणी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच