काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ कवि श्रवण मुकारुङका कविता सुन्न पाइने भएको छ । कवि मुकारुङले चलचित्र ‘दुखी आत्मा’का लागि विभिन्न शीर्षकका १० वटा कविता लेख्नुभएको छ । दीपेन्द्र लामा लिखित तथा निर्देशित ‘दुखी आत्मा’को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता चलचित्रभित्र सिच्युसन अनुसार राखिएको बताइएको छ ।
‘माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो रे..’ जस्ता गीतका रचनाकार मुकारुङले आफू ‘दुखी आत्मा’ मा फुलटाइमर कविका रूपमा आवद्ध हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘चलचित्रका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’ उहाँले भन्नुभयो, ‘म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु ।’
चलचित्रको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरूको स्वभावबीच एकरूपता पाइएकाले उहाँलाई कविता रच्न लगाइएको निर्देशक लामाले प्रष्ट्याउनुभयो । ‘कवि मुकारुङका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो,’ निर्देशक लामाले भन्नुभयो । उहाँले मुकारुङका कविताहरूले आफ्नो फिल्मको पात्र र परिबेशलाई न्याय मिलेको दाबी गर्नुभयो । मुकारुङका अधिकांश कविता ‘दुखी आत्मा’ का प्रमुख अभिनेता दयाहाङ राईमाथि फिचरिङ गरिएको बताइएको छ ।
क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदीप ढकाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ । आलोक शुक्लाले खिचेको यो चलचित्र भ्यालेन्टाइन्स डेको अवसरमा-२ फागुनबाट प्रदर्शन हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच